भर्खरै :

इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा भीषण आक्रमण

इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा भीषण आक्रमण

बेरुत, ३० असोज (एएफपी) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ ।
इजरायली सैन्य आदेशको केही समयपछि लेवनानको राजधानीको हारेट ¥हीक क्षेत्रका भवनहरूको बिचबाट कालो धुवाँ उडिरहेको देखिएको थियो ।
बेरुतमा पछिल्लो समयमा भएको विष्फोटको आलोचना गर्दै र प्यालेस्टिनी क्षेत्रमा थप सहयोग पु¥याउन माग गर्दै लेबनान र गाजामा इजरायलको आचरणमाथि अमेरिकाले दबाब बढाएको समयमा नेतान्याहुको हेजबुल्लाहसँग लडाइँ जारी राख्ने प्रतिबद्धता सार्वजनिक भएको हो ।
फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँसँगको कुराकानीमा नेतान्याहूले म्याक्रोँसँग एकपक्षीय युद्धविरामको अर्थ नहुने बताएका छन् । लेबनानको सुरक्षा स्थिति परिवर्तन नगरी पहिलेकै अवस्थामा फिर्ता हुन सम्भव नहुने उहाँको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
नेतान्याहु र इजरायली सेनाले लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर जोन) हुनुपर्ने विषयमा जोड दिएका छन् ।
“प्रधानमन्त्री नेतान्याहूले हिजबुल्लाहलाई पुनः हतियार बोक्न र सङ्गठन गर्नबाट नरोक्ने कुनै पनि व्यवस्थापनमा इजरायल सहमत नहुने र लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर जोन) निर्माण गर्नुपर्ने अडान म्याक्रोँसँग राख्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।
एक टेलिभिजन सम्बोधनमा हिजबुल्लाहका उपनेता नईम कासिमले इजरायलमा आफ्नो क्षेप्यास्त्र आक्रमणको दायरा विस्तार गर्ने धम्की दिँदै युद्धविराम एकमात्र समाधान भएको बताउनुभएको थियो ।
इजरायली शत्रुले सम्पूर्ण लेबनानलाई निशाना बनाएकाले रक्षात्मक स्थितिबाट इजरायलको कुनै पनि स्थानलाई लक्षित गर्ने अधिकार लेवनानको रहेको उहाँले बताउनुभएको छ ।
बुधबार बिहान इजरायली सेनाले देशको उत्तरमा लेबनानबाट करिब ५० वटा क्षेप्यास्त्र प्रहार गरिएको तर कुनै हताहत नभएको जनाएको छ ।
इरान समर्थित हेजबुल्लाहले सफेड सहरमा मिसाइलको प्रक्षेपण गरेको जनाएको छ ।
इजरायली सेनाले मङ्गलबार बेका उपत्यकालगायत दक्षिणी र पूर्वी लेबनानका धेरै क्षेत्रमा बम प्रहार गरेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । सेनाले दक्षिण लेबनानमा तिन हिजबुल्लाह लडाकुहरूलाई पक्राउ गरेको बताएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार भएको आक्रमणमा नौ जनाको मृत्यु भएको तथा पूर्वमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको जनाएको छ ।
भोकमरीले ग्रस्त गाजामा खाना, चिकित्सा आपूर्ति र आश्रयको आवश्यकताको बाबजुद, राष्ट्रसङ्घको बाल निकाय (युनिसेफ) का प्रवक्ताले गत वर्षको अक्टोबरमा इजरायलको आक्रमण सुरु भएदेखि सहायताले सबैभन्दा कडा प्रतिबन्धको सामना गरिरहेको बताउनुभएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायली अभियानले अधिकांश नागरिकसहित ४२ हजार ३४४ जनाको ज्यान लिएको छ ।
इजरायलले सेप्टेम्बर २३ देखि लेबनानमा हिजबुल्लाहविरुद्ध आफ्नो हवाई अभियान बढाएपछि लडाकु समूहलाई उत्तरी सीमाबाट पछाडि धकेल्ने उद्देश्यले एक हप्तापछि स्थल आक्रमण सुरु गरेको थियो ।
लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत महिना इजरायलले बम विस्फोट बढाएपछि लेबनानमा कम्तिमा एक हजार ३५६ जनाको मृत्यु भएको छ ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्याङ्अनुसार वर्षौँदेखि आर्थिक सङ्कट झेलिरहेको लेबनानमा युद्धले कम्तीमा छ लाख ९० हजार मानिसहरू विस्थापित भएका छन् ।
आगामी अक्टोबर १ मा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानलाई पनि जवाफ कसरी दिने भन्ने कुरामा पनि इजरायलले योजना बनाइरहेको छ ।
नेतान्याहुको कार्यालयले इरानविरूद्ध जवाफी कारबाही कसरी गर्ने जनाउँदै अमेरिकाको राय सुन्ने तर आफ्नो राष्ट्रिय हितको आधारमा अन्तिम निर्णय गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *