भर्खरै :

कोभिडदेखि सी चिनफिङ विचारधारा : द गभर्नेन्स अफ चाइना

कोभिडदेखि सी चिनफिङ विचारधारा : द गभर्नेन्स अफ चाइना

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्टपति सी चिनफिङ सन् २०१२ मा चीनको सर्वोच्च जिम्मेवारीको निम्ति चुनिए । जनवादी गणतन्त्र चीन स्थापना पछि चीनको नेतृत्व गर्ने उनी पाँचौँ पुस्ताका नेता मानिन्छन् । पार्टी र सरकारको जिम्मेवारीवहन गरेसँगै उनले पार्टीभित्र र सरकारमा जड बन्दै गरेका समस्याको निदानको निम्ति प्रभावकारी नीति कार्यान्वयनमा ल्याए । पार्टीभित्र र सरकारी निकायमा हुने गरेका अनेक रङ्गका भ्रष्टाचार (बाघ र झिङ्गा) विरुद्ध उनले जटिल कदम चाले । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाका मूल भावनालाई आत्मसात गर्दै उनले सन् १९७८ बाट आरम्भ भएको सुधार र खुलापनको नीतिलाई नयाँ परिस्थितिमा बिस्तार गरे । अनि सन् २०४९ सम्ममा चीनलाई विकसित समाजवादी आधुनिक देश बनाउन सङ्कल्पसहित एकपछि अर्को कार्यक्रम घोषणा गरे । युगौँदेखि चिनियाँपुनर्जागरणको निम्ति ठुलो अवरोध बनेको गरिबी नियन्त्रण गर्ने लक्ष्य प्राप्त गर्न उनी सफल भए । सीकै शब्दमा यसबिच संसारले शताब्दीमै नभोगेका अनेकन चुनौती भोग्नुपर्यो । कोभिड महामारी मानिसले कहिल्यै नबिर्सने प्रकोप बन्यो । महामारीले लाखौँमानिसको ज्यानमात्र लिएन, बरु संसारको आर्थिक एवम् सामाजिक जीवनमा ठुलो उथलपुथल निम्त्यायो ।
पार्टी र सरकारको नेतृत्वमा आएपछि सी चिनफिङले अघि सारेका विचार र कार्यक्रमलाई व्यवस्थित अभिलेखीकरण गर्ने काम उनी नेतृत्वमा आएसँगै प्रारम्भ भयो । उनले विभिन्न सन्दर्भमा बोलेका र लेखेका विचारलाई सङ्ग्रहित गरियो । फलतः सन् २०१४ मा उनका आलेखहरूको पहिलो सङ्ग्रह द गभर्नेन्स अफ चाइना प्रकाशन भयो । पुस्तक प्रकाशन भएको यो वर्ष एक दसक पुगेको छ ।
सीका लेखहरूको सङ्ग्रह प्रकाशनलाई लिएर अन्तर्राष्ट्रियरूपमा अनेकन प्रचारबाजी पनि भए । केही आलोचकहरूले उक्त कार्यलाई माओ त्सेतुङको तहमा पुग्ने सीको राजनीतिक महत्वाकाङ्क्षाको रूपमा व्याख्या गरे । अझ कतिले त्यही पुस्तककै आधारमा चीन फेरि पनि पुरानो समयमा फर्किन लागेको भन्ने अडकलबाजी पनि गरे । तर, खासमा द गभर्नेन्स अफ चाइनाको प्रकाशनपश्चात चीनलाई बुझ्न संसारलाई अझ सहज भएको छ । चिनियाँनेतृत्वका विचार, कार्यशैली, लक्ष्य र कार्यक्रम बुझ्न संसारका विश्लेषक र विद्वानहरूलाई आधिकारिक स्रोत प्राप्त भएको छ ।
सन् २०२१ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ केन्द्रीय समितिको छैटौँ बिस्तारित बैठकले नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारालाई पार्टीको एउटा प्रमुख सिद्धान्तको रूपमा पारित गर्दा केही शक्ति केन्द्रले संसारमा एउटा अर्को रहस्य थपिएझैँ प्रचारबाजी गरेका थिए । के हो सी विचारधारा हो ? यसअघि चीनले अँगालेका विचारधाराभन्दा यो कुन अर्थमा भिन्न र मौलिक छ ? सी विचारधाराले अब चीनलाई कता लाँदैछ ? आफैमा उदयमान शक्ति बनिसकेको चीनमा नयाँ सिद्धान्तको प्रतिपादनले विश्व राजनीतिमा कस्तो असर गर्ने हो ? संसारभर चर्चा भएका यस्ता प्रश्नको जवाफ नदिई चिनियाँ नेतृत्वलाई सुख पनि थिएन । यी र यस्ता चीनसँग जोडिएका अनेकानेक प्रश्नहरूको आधिकारिक जवाफ दिन चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय प्रचार विभाग, राज्य परिषद् सूचना कार्यालय, चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय पार्टी इतिहास तथा साहित्य अध्ययन प्रतिष्ठान र चिनियाँ अन्तर्राष्ट्रिय प्रकाशन समूहले सीका लेख रचना र मन्तव्यहरूको सङ्ग्रह द गर्भनेन्स अफ चाइना अर्थात् चीनको शासन व्यवस्था प्रकाशन गर्दै आएको छ ।
सन् २०२२ मा यसको सबभन्दा पछिल्लो खण्ड भाग ४ प्रकाशित भयो । पछिल्लो खण्ड सन् २०२० फेब्रुअरीदेखि सन् २०२२ को मे महिनासम्मको अवधिमा सीका मन्तव्य तथा लेखहरूको सङ्ग्रह हो । यसमा सीका १०९ वटा आलेख २१ वटा खण्डमा विभाजित गरी सङ्ग्रहित छन् ।
चौँथौ सङ्ग्रहको मुल विशेषता भन्नु यसमा चीनले सन् २०२० देखि २०२२ सम्म पार गरेका ज्यादै महत्वपूर्ण समयमा चिनियाँ नेतृत्वले गरेका कार्य र विचार सङ्ग्रहित छ । प्रथमतः चीनले सन् २०२१ को जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी भव्यरूपमा मनायो । सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्षको यात्रा चिनियाँ जनता र विश्वभरका क्रान्तिकारी जनताको निम्ति गौरवको विषय त हो नै, साथै गम्भीर समीक्षाको अवसर पनि हो । सीले चीनको कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा दिएको लामो मन्तव्य विशेषतः सन् १८४० को अफिम युद्धदेखि कम्युनिस्ट पार्टीको स्थापना हुँदै चिनियाँ जनवादी क्रान्ति, सुधार र खुलापन अनि आजको परिस्थितिको लामो यात्राको समीक्षात्मक आलेख हो । उनले इतिहासको समीक्षा गर्दै अहिले प्राप्त उपलब्धिको व्याख्या गरेका छन् र भविष्यको लागि बाटो देखाएका छन् । एक सय वर्षको समीक्षापछि सी निष्कर्षमा पुग्छन्, समाजवादले मात्र चीनलाई बचाउन सक्यो, र समाजवादकै कारण मात्र चीनको विकास सम्भव भयो ।
उनी भन्छन्, चिनियाँ कम्युनिस्ट पार्टीबिना न नयाँ चीन बनाउन सम्भव छन्, राष्टिय पुनःजागरण नै सम्भव हुन्थ्यो । (चिनियाँ) इतिहास र जनताले (चिनियाँ कम्युनिस्ट) पार्टीलाई त्यसको निम्ति छानेको हो । चिनियाँ विशेषता सहितको समाजवादबारे सीले गरेका थप व्याख्याले चिनियाँ जनता र विश्वभरका जनतालाई चिनियाँ राजनीतिक प्रणालीबारे बुझाउन सजिलो भयो । चिनियाँ कम्युनिस्ट पार्टीले एक सय वर्षको समयावधिमा अनेकानेक आरोह–अवरोह पार गरे पनि स्थापनाकालको मूल सिद्धान्त र भावनाबाट पार्टी कति पनि विचलित भएन । माक्र्सवादी सिद्धान्तको जगमा हुर्केको चिनियाँ कम्युनिस्ट पार्टीले एक शताब्दीसम्म माक्र्सवादलाई पछ्याएको मात्र होइन, बरु सीकै शब्दमा माक्र्सवादले काम गर्छ भन्ने यर्थाथसमेत उजागर ग¥यो । चिनियाँ कम्युनिस्ट पार्टीको क्षमता र चिनियाँ विशेषतासहितको समाजवादको सामथ्र्यले माक्र्सवादले काम गर्छ भन्ने कुरा देखायो र माक्र्सवादविरुद्ध गरिएका अनेक बद्ख्वाईँहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीका उपलब्धि र सफलताले झूटो सावित गरी देखायो ।
शतवार्षिकीको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो इतिहासको विस्तृत समीक्षा ग¥यो । इतिहासको समीक्षा केही प्राज्ञ लेखक र इतिहासकारहरूले कोठामा बसेर गरेका थिएनन् । बरु समग्र पार्टी संरचनाबिच गहन छलफल, तर्कवितर्क र विमर्शबाट वस्तुगत समीक्षा गरिएको हो । सीले सन् २०२१ को नोभेम्बर ८ मा भएको छैटौँ बिस्तारित बैठकमा त्यो प्रजातान्त्रिक प्रक्रियाबारे विस्तृतरूपमा चर्चा गरे ।
यसबिचको अर्को महत्वपूर्ण घटना भनेको चीनले निर्धारण गरेका दुई शताब्दी लक्ष्यमध्ये पहिलो लक्ष्यमा पाएको सफलता हो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुगेको वर्ष सन् २०२१ सम्ममा चीनलाई सबै क्षेत्रमा मध्यम स्तरको समृद्ध समाज बनाउने लक्ष्य तय गरिएको थियो । सन् २०२१ मा चीनले निरपेक्ष गरिबीलाई पूर्ण निर्मूलन गरेर चिनियाँ समाजवादलाई मध्यम स्तरको समृद्ध समाज बनाउने बाटोमा अघि बढायो । चीनले यो लक्ष्यमा प्राप्त गरेको सफलता चीनको मात्र सफलता भएन बरु संसारकै लागि खुसीको विषय बन्यो । संयुक्त राष्ट सङ्घले निर्धारण गरेको दिगो विकास लक्ष्य हासिल गर्न चीनले गरिबीविरुद्ध गरेको सङ्घर्षले ठुलो मद्दत पु¥यायो । गरिबीविरुद्धको लडाइँमा प्राप्त सफलतासँगै चीनले पुनःजागरणको बाटोमा अवरोध बनेको गरिबीको ठुलो खड्को पार ग¥यो ।
तर, चीन र चिनियाँ नेतृत्व यतिमै रोकिने पक्षमा छैनन् । बरु चीनमा जनवादी व्यवस्था स्थापना भएको एक सय वर्ष पुगेको अवसर पारेर चीनलाई सबै हिसाबले आधुनिक समाजवादी देश बनाउने लक्ष्यमा दत्तचित्त भएर चिनियाँ जनता लाग्दै छन् । भौगोलिक सहजता, राजनीतिक इतिहास, सामाजिक विकास आदिको अन्तरका कारणले विशाल देश चीनभित्र पनि क्षेत्रीय असमानता एउटा सत्य हो । पूर्वी चीनको समृद्धि र विकास पश्चिम चीनसँग कतिपय क्षेत्रमा तुलनायोग्य समेत छैन । सिजाङ, सिन्च्याङ, कान्सुजस्ता प्रान्तमा अझै पनि विकटता र असहज जीवन आफ्नै वास्तविकता हो । तर, यस्ता असमानता चिर्न चिनियाँ नेतृत्व व्यवस्थित योजनासहित लाग्दै छन् । यस्ता तीव्र गतिको परिवर्तनकै कारण सीकै शब्दमा भन्दा अब चिनियाँ राष्ट्रिय पुनःजागरणको बाटोमा चीनलाई कसैले पनि रोक्न सक्ने अवस्था छैन ।
तेस्रो महत्वपूर्ण घटना हो, कोभिड महामारी । सन् २०२१ मा चीनलाई मध्यम समृद्ध देश बनाउने दौडमा तीव्र गतिमा दौडिरहेको चीनसामु सन् २०१९ मा अचानक कोभिड महामारीको अवरोध तेर्सियो । अप्रत्याशित भए पनि त्यो सत्य थियो । जनतालाई नै सदैव केन्द्रमा राख्ने चिनियाँ सरकार र कम्युनिस्ट पार्टीको नीतिअनुसार कोभिड प्रकोपबाट जोगाउन चीनले गरेका चमत्कारले संसार जिल्ल परेको थियो ।
सीका लेखहरूको यो सङ्ग्रहले त्यस्ता चमत्कार पछाडिको खास राजनीतिक शक्ति के थियो भन्ने कुरा प्रस्ट पा¥यो ।
चिनियाँ कम्युनिस्ट पार्टीको विशाल संरचनाको प्रभावकारी परिचालन नै कोभिडमाथि नियन्त्रणको मूल रहस्य थियो । स्थानीय स्तरसम्म चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूको रातदिनको मेहनत, आफ्नो परिवार र बालबच्चाबाट अलग बसेर अहोरात्र विरामीजनको सेवामा लाग्ने बलिदानी भावना, दसकौँको कठिन सङ्घर्षबाट प्राप्त उपलब्धि कुनै पनि मूल्यमा नगुमाउने नेतृत्वको सङ्कल्पका कारण कोभिडसँगको लडाइँमा चीन सफल भयो । सीले निकै छोटो समयमा वुहानमा बनेका आपत्कालीन अस्पताल बनाउन दिएको उत्प्रेरणा जनताको स्वास्थ्यप्रतिको उत्तरदायी नेतृत्वको परिचय थियो ।
चीनमा स्थानीय स्तरसम्म कार्यान्वयनमा रहेको ग्रिडमा आधारित सामुदायको कारण संसारकै विशाल जनसङ्ख्या भएको विशाल देशमा पनि प्रभावकारी कोभिड नियन्त्रण सम्भव भयो । नेतृत्वप्रतिको विश्वासकै कारण जनताले नेतृत्वका आग्रह पालना गरिरहे र अन्ततः कोभिडलाई तह लगाउन सफल भए । कोभिडको प्रभावकारी नियन्त्रणमा चीनको अनुभव संसारको निम्ति प्रेरणा नै हो । साथै संसारभरका राजनीतिक नेतृत्वलाई जनताको कसरी सेवा गर्ने हो भन्ने प्रश्नको उत्तर पनि भयो ।
६५० पृष्ठको पुस्तकमा सीले लेखेका धेरै विषयका लेखहरू समावेश छन् । आधुनिक समाजवादी देशतर्फको चीनको यात्रा, नयाँ विकासका चरण, दर्शन र आयाम, उच्च स्तरको विकास, थप सुधार र खुलापन, प्रकृति र मानिस, पूर्ण प्रक्रियाको लोकतन्त्र, समाजवादी कानुनी शासन, समाजवादी संस्कृति, सामाजिक प्रगति र सार्वजनिक हित, बहुपक्षवाद, एक देश दुई प्रणाली, साझा भविष्यको विश्व समुदाय, बलियो सुरक्षा व्यवस्था आदि इत्यादि ।
सङ्ग्रहित लेख र मन्तव्यहरूले आजको चीन के र कसरी सोच्दै छ भन्ने कुरा त बुझाउँछ नै, साथै ती सबै लेख रचना संसारका विकसित र विकासशील देशहरूको निम्ति सिक्न सकिने सामग्री समेत बन्न सक्छ, उदाहरणको लागि, आज संसारले प्रजातन्त्रको अर्थ पश्चिमा सभ्यताले आफ्नो अनुभवमा प्रयोग गर्दै आएको प्रजातन्त्रलाई बुझाउँछ । पश्चिमा शैलीको त्यो प्रजातन्त्रले इतिहासको कुनै कालखण्डमा प्रगतिशील भूमिका खेले तापनि त्यसका कमी कमजोरीले आजका मानिसका समस्या समाधान गर्न सकेको छैन भन्ने कुरा प्रस्ट भइसकेको छ । स्वयम् पश्चिमा राजनीतिक विश्लेषकहरू समेत यो निष्कर्षमा पुगेका छन् ।
सबै देशको प्रजातन्त्र एउटै रङ्गको नहुन सक्छ । सबैलाई एकनासले ठिक हुने लुगा होइन, प्रजातन्त्र । सबै देशले आफ्ना अनुभव र उपयोगिताको आधारमा प्रजातन्त्रको प्रयोग गर्ने हो । तर, पश्चिमा केही शक्तिहरू भने आफ्नो रङ्ग र आकारको प्रजातन्त्रलाई मात्र प्रजातन्त्र मान्ने र बाँकी अरुलाई पराई ठान्ने, अझ दुश्मन ठान्ने गल्ती गर्दै छन् । आफ्नो शैलीको प्रजातन्त्र नमान्ने देशलाई अधिनायकवादी, तानाशाही जस्ता नकारात्मक उपमा दिने गर्दै छन् ।
चीनले प्रयोग गर्दै आएको पूर्ण प्रक्रियाको प्रजातन्त्र पश्चिमा देशहरूका यस्तै जिद्दीको उत्तर हो । निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने तर, हारेका दलहरूको कुल मत भने विजयीले पाएको मतभन्दा बढी हुने अन्यायोचित शासन प्रणालीलाई संसारको उत्तम व्यवस्था मान्ने तर्कसँग चीन सहमत छैन र उनीहरूले तल्लो तहदेखि नै जनताको अभिमतअनुसार शासन चलाउने पूर्ण प्रक्रियाको प्रजातन्त्र लागु गर्दै आएको छ । त्यस्तो शैलीको प्रजातन्त्र पनि चिनियाँ विशेषता सहितको समाजवादकै अंश हो ।
द गभर्नेन्स अफ चाइनाको चौथौ खण्ड कोभिडकालको चीन बुझ्न पठनीय छ । उत्तर कोभिडकालका लेखहरू पक्कै पनि प्रकाशनमा आउने नै छन् । आजको चीन के सोच्छ र कता जाँदैछ भन्ने प्रश्नको जवाफ दिन सी चिनफिङका यी कृतिहरू संसारका धेरै भाषामा अनुवाद र प्रकाशन भइसकेको छ । चौँथौ भाग चीनकै विभिन्न अल्पसङ्ख्यक भाषामा समेत प्रकाशन भइसकेको छ । नेपालीभाषामा भने खण्ड एक र दुई प्रकाशनमा आइसकेको छ ।
सारमा, द गभर्नेन्स अफ चाइनाको चौथौ खण्डको अध्ययनले चीन चिनाउन र चीनको भविष्यतर्फको तीव्र गतिको यात्रा बुझ्न मद्दत गर्छ अनि यस्तो प्रगति पछाडिको मुल जरा चिनियाँ नेतृत्वका विचारको गहिराई नाप्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *