शोषित पीडित जनता राजनैतिकरूपले सचेत र सङ्गठित भए क्रान्तिको यात्रा छिटो हुने
- कार्तिक २५, २०८१
सुर्खेत, २ कार्तिक । नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा बिहीबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र नै राजनीति भएको स्पष्ट पार्दै भन्नुभयो, “मानिस सामाजिकसँगै राजनीतिक प्राणी पनि हो । राजनीति दर्शन र वर्ग आधारमा गरिन्छ । केही व्यक्तिको हातमा साधन र स्रोत कब्जा हुने व्यवस्था पुँजीवादी हो । पुँजीपति र शोषकवर्गको पार्टीले पुँजीवादी राजनीति गर्छन् ।”
उत्पादनका मुख्य मुख्य साधन र स्रोत सबै जनताको हुने समाजवादी व्यवस्था स्थापना गर्न र कामदार वर्गलाई शासक बनाउनु नै नेमकिपाको राजनीतिक उद्देश्य भएको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद, एमाले, माओवादी, एसजस्ता पार्टीहरूले पार्टीको नाममा कम्युनिस्ट जोडेर समाजवाद भने तापनि ती पार्टीहरू पुँजीवादकै सेवा गर्ने नक्कली समाजवादीहरू हुन् ।”
उहाँले भन्नुभयो, “सरकारमा गएर विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गर्ने, विश्वविद्यालय शिक्षा निःशुल्क गर्ने, उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण गर्ने, नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्ने, युवालाई देशभित्र रोजगारी दिने र ठुला भ्रष्टाचारी एवं मानव अधिकारको जघन्य उल्लङ्घन गर्नेमाथि मृत्युदण्डको सजाय दिने कानुनको व्यवस्था नगर्ने पार्टीहरू समाजवादी होइनन् ।”
सचिव सुवालले थप्नुभयो, “सच्चा समाजवादीहरू विदेशी ऋण र पुँजीमा निर्भर रहँदैन । बहुदल पुनःस्थापनाको ३५ वर्षयता बनेका सडक तथा पुल, विद्यालय र अस्पतालको लागि २६ खर्ब रुपैयाँ सार्वजनिक ऋण बढेको छ । नेपाली जनतालाई ऋण बोकाएर विकास निर्माण भएको दाबी गर्नेहरू जनताको सरकार र पार्टी हुनसक्दैनन् ।”
“नेमकिपाका नेता र कार्यकर्ताविरुद्ध भारत प्रवास गोरखपुरमा र देशभित्र पनि हत्या प्रयास, झूटा ज्यान मुद्दा आदि षड्यन्त्र भएका थिए† भविष्यमा पनि हुनसक्छ । पार्टीभित्र प्रतिक्रियावादीहरू घुसपैठ हुनेबारे सबै कार्यकर्ताहरू सचेत हुनु आवश्यक छ ।
पार्टी प्रकाशनबारे अध्ययन र अन्तरक्रिया चालु राखी सर्वसाधारण जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित बनाउन जरूरी छ”, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “२००७ सालदेखिको परिवर्तनमा साम्राज्यवादी र विस्तारवादीहरूको हात रहेको एकपछि अर्को घटनाबाट पुष्टि भइरहेको छ । यसैकारण नेपालको कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, पश्चिम सेती, अरूण तेस्रोलगायत जलविद्युत् भारतीय एकाधिकार पुँजीको कब्जामा पठाइएको हो ।”
“नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४९ को गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि, नेपालले अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गराउन नेपाली जनता एक भएर उठ्नु जरुरी छ”, उहाँले भन्नुभयो ।
अमेरिकी साम्राज्यवादले युक्रेनलाई हतियार सहयोग गरेर रूसविरुद्ध युद्ध गराएको र इजरायली फासीवादलाई हतियार दिएर प्यालेस्टिनी जनताको नरसंहार र भूमि कब्जा गराएको घटना पनि एकपछि अर्को गर्दै पुष्टि भइरहेको चर्चा गर्दै सचिव सुवालले संसारका न्यायप्रेमी जनतासँगै नेपाली जनताले पनि युद्धको विरोध गर्नु आवश्यक छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले क्रान्तिकारी भूमिसुधार गरेर जग्गा जोत्ने किसानलाई जग्गा वितरण नगरेसम्म किसान समस्या समाधान नहुने भनाइ राख्नुभयो । उहाँले कर्णाली प्रदेशमा हजारौँ विघा जमिन बाँझो रहेको उल्लेख गर्दै सिँचाइको सुविधा नभएको कारणले खाद्यान्न आयात गर्नुपर्ने स्थिति भएको भनाइ राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले युवाहरूलाई जाँडरक्सी, खैनीसुर्तीलगायतको कुलतमा लगाएर सङ्घर्षबाट विमुख गराउन खोजिएको भन्दै कर्णाली प्रदेशको विकासको निम्ति शिक्षा एउटा मुख्य आधार हुनसक्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सदस्य सृजना सैँजूले नेमकिपाका केन्द्रीय अध्यक्ष रोहितले लेख्नुभएको आत्मनिर्भरताको प्रश्न र नेपालको आर्थिक विकास नामको पुस्तकको चर्चा गर्दै कृषिमा आत्मनिर्भर बनाउन नसकेसम्म देश परनिर्भर भइरहने विचार राख्नुभयो । उहाँले नेपालको आर्थिक विकासको निम्ति घरेलु तथा कुटीर उद्योगको विकास गर्नुपर्ने भनाइ राख्नुभयो ।
नेमकिपा, सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरूङ, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङ, नेमकिपा सुर्खेत सचिव लालबहादुर थापा र सदस्य अक्कल रानाले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सपना शाहीले प्यालेस्टिनी जनताको आन्दोलनको समर्थनमा गीत प्रस्तुत गर्नुभएको थियो ।
प्रशिक्षणमा सहभागीको जिज्ञासामा पार्टी सचिव सुवालले जवाफ दिनुभएको थियो ।
Leave a Reply