जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
कैलाली, ५ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्कीचुहा नपा वडा नं ४ अमरपुर एकाइ समितिको आयोजनामा भेटघाट तथा प्रशिक्षण कार्यक्रम भयोे ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले हाम्रो बसाइँ वा सिकाइ देश चलाउने तालिम हो भन्नुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीले समयमा नसिक्दा बुढो उमेरमा सिक्न सक्दैनन् । यो पनि पढाइ नै हो । किताबसँगै पत्रिका पढ्ने बानीको विकास गर्नुपर्छ ।”
उहाँले अहिले देश चलाउने पार्टीले जनताको हितमा नियम कानुन बनाउन नसकेकोले देशवासीले दुःख पाएको हो भन्नुभयो ।
उहाँले पढेलेखेका महिलाहरू हरेक ठाउँमा अगाडि हुने भएकाले विद्यार्थीले देश चलाउन हरेक विषयवस्तुको अध्ययन गर्नुपर्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ निःशुल्क शिक्षा तथा उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षा लागु गर्न सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले देशले उत्पादन गरेका विद्यार्थीले देशमै रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले योग्य जनशक्तिको अभावमा देशको उत्पादन घटेको हो भन्नुभयो ।
उहाँले विदेशमा सिकेको सीप आफ्नो देशमा लागु गर्नुपर्ने, देशभक्तिको भावना हुनुपर्ने र विद्यार्थीले पाठ्यपुस्तकसँगै देशको राजनीतिबारे जानकार हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पसका स्ववियु सदस्य विवेक रावलले विद्यार्थीले पास हुन वा राम्रो अङ्क ल्याउन धेरै मेहनत गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा हरि पोखरेल, जीवन उपाध्याय, दिनेश शाही र अनिष शाहीले पनि बोल्नुभएको थियो ।
Leave a Reply