भर्खरै :

शिक्षकहरूले ठोस परिणाम आउने गरी भूमिका निर्वाह गर्नुपर्ने

शिक्षकहरूले ठोस परिणाम आउने गरी भूमिका निर्वाह गर्नुपर्ने

भक्तपुर, ५ कार्तिक । बासु मा.वि.मा कार्यरत शिक्षक गणेशबहादुर थिङको अनिवार्य अवकाश भएको छ ।
शिक्षक थिङको सम्मानमा सोमबार भएको बधाई कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शिक्षकहरूले ठोस परिणाम आउने गरी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालीहरूको सरदर आयु ७३ वर्ष रहेको अवस्थामा अनिवार्य अवकाश ६० वर्ष भइरहेको विषयमा थप छलफल आवश्यक भएको धारणा राख्दै उहाँले अवकाश उमेरको हदभन्दा कार्यक्षमताको आधारमा गर्नुपर्ने बताउनुभयो ।
शासक पार्टीहरूले गरेका कर्तुतहरू जनताबिच छताछुल्ल भइरहेको चर्चा गर्दै उहाँले देश र जनहितविरूद्ध लाग्ने नेताहरूलाई एकदिन जनताले उदाङ्ग्याउने छन् भन्नुभयो ।
“शिक्षकहरूको सम्पत्ति भनेको आत्मसम्मान हो । जीवनमा अनुशासन र खानपिनमा ध्यान दिन सके स्वस्थ र दीर्घायु हुनेछ”, सांसद गोसाईले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा २ नं. वडाका वडाध्यक्ष हरिप्रसाद बासुकलाले अवकाश प्राप्त शिक्षक थिङले विद्यालयमा २७ वर्ष सेवा गरेको उल्लेख गर्दै कमीकमजोरीलाई सच्याई अगाडि बढ्न सक्ने व्यक्ति÷संस्थाले प्रगति गर्न सकिने बताउनुभयो ।
सेवानिवृत्त शिक्षक गणेशबहादुर थिङले बासु माविमा शिक्षक भएर काम गर्न पाएकोमा गर्व लागेको बताउनुभयो ।
विद्यालयका प्रअ रविलाल प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्रअ राजकुमार ह्यौंमिखा, शिक्षकहरू प्रेमकुमार मगर, सुनिता घटुवा र विष्णुप्रसाद दुमरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *