भर्खरै :

केएमसीका इन्टर्न चिकित्सकहरू आन्दोलित, ओपीडी सेवा ठप्प

केएमसीका इन्टर्न चिकित्सकहरू आन्दोलित, ओपीडी सेवा ठप्प

काठमाडौँ, ६ कार्तिक । एमबीबीएस अध्ययनमा लिएको अतिरिक्त शुल्क फिर्ताको मागसहित काठमाडौँ मेडिकल कलेजका इन्टर्न चिकित्सकहरू आन्दोलित भएका छन् । अतिरिक्त शुल्क फिर्ताको मागसहित उनीहरू विगत ५ दिनदेखि आन्दोलित भएका हुन् ।
काठमाडौँ विश्वविद्यालयअन्तर्गत ०७५/७६ मा एमबीबीएस अध्ययन गरेका इन्टर्न चिकित्सकहरू कलेजले लिएको अतिरिक्त शुल्क शिक्षा मन्त्रालयको निर्देशनपछि फिर्ता नभएपछि आन्दोलित भएका हुन् ।
अतिरिक्त इन्टर्नसिप शुल्क दुई लाख, एनएमसी रजिष्टेशन शुल्क ५ हजार, कम्युनिटी भिजिट ९० हजार तथा अन्य विभिन्न शीर्षकमा गरी ४ लाख ९० हजार बराबरको अतिरिक्त रकम कलेजले लिएको उनीहरूको दाबी छ ।
उनीहरूका अनुसार केएमसीले ५० जना नेपाली विद्यार्थी र ४० जना विदेशी विद्यार्थीबाट तीन करोड ७१ लाख ७८ हजार चार सय अतिरिक्त शुल्क लिएको छ । चिकित्सा शिक्षा आयोगको नियमविपरीत तथा जारी गरेको प्रतिवेदनविपरीत कलेजले शुल्क लिएको तथा फिर्ता नभएको उनीहरू बताउँछन् ।
चिकित्सा शिक्षा आयोगको उक्त प्रतिवेदनको ऐन २०७५ दफा २ को ६ बमोजिम शिक्षण सङ्घ संस्थाहरूले शिक्षण अवधिभर लिने भर्ना, ल्याब, पुस्तकालय, समुदाय तालिमजस्ता विषयहरू शिक्षण शुल्क भएकोले विद्यार्थीहरूले अतिरिक्त शुल्क तिर्न नपर्ने उल्लेख भए पनि केमएमसीले उक्त नियम पालना नगरेको देखिन्छ ।
यो कानुनीरूपमा नै वैधानिक नहुने विषय भएकोले आफूहरू आन्दोलित भएको एक चिकित्सकले बताए ।
शिक्षा मन्त्रालयले दिएको निर्देशनसमेत पालना नगरेको आरोप
शिक्षा मन्त्रालयले एक बैठक राख्दै एमबीबीएस तथा बीडीएस कार्यक्रम सञ्चालित निजी संस्थाहरूलाई उक्त अतिरिक्त रकम फिर्ता गर्नका लागि निर्देशन दिए पनि केएमसीले उक्त निर्देशन पालना नगरेको आन्दोलित चिकित्सकहरूको दाबी छ । निर्देशनको पालना नभएपछि आफूहरू आन्दोलनका लागि बाध्य भएको आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ ।
‘कार्तिक १ गतेदेखि शान्तिपुर्ण रूपमा आन्दोलन गरिरहेका छौँ, ‘आज छैटौँ दिन ओपीडी सेवा नै ठप्प पार्न बाध्य भएका छौँ’, एक चिकित्सकले भने ।
आन्दोलन दबाउन ओपीडीको नक्कली कागजका साथ कलेज प्रशासनले आफूहरूमाथि गुन्डा लगाएर ज्यादती गरेको उनको आरोप छ ।
‘कलेज प्रशासनले गरेको ज्यादतीमा हाम्रा एक जना साथीमाथि हातपात समेत भएको छ’, उनले भने ।
समस्या समाधानका लागि त्रिवि, केयू, शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायहरूसँग पटकपटक आग्रह गरिएको उनले बताए । कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गरिने सहमति नहुँदासम्म आन्दोलन जारी हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *