भर्खरै :

तःमुंज्या साहित्य उत्सव

तःमुंज्या साहित्य उत्सव

प्राचीनता सुरक्षित रहेको एक जैविक सहर हो भक्तपुर । खासमा भक्तपुर नगरलाई मौलिकताको सङ्ग्रहालयभन्दा फरक पर्दैन । यहाँका दरबार क्षेत्र र मन्दिरमा प्रवेश गर्ने हो भने आज पनि झन्डै तीन सय वर्षअघिको मल्लकालसँग साक्षात्कार गर्न सकिन्छ । दुई÷दुई वटा महाभूकम्प थेगेर पनि यहाँको प्रसिद्ध ङतापोल्ह (पाँचतले मन्दिर) कसरी सुरक्षित रह्यो ? वास्तुकलाको औपचारिक शिक्षा नै सुरु नभएको युगमा निर्मित ङतापोल्हको वास्तुकला आधुनिक वास्तुकलाभन्दा किन उत्कृष्ट थियो ? यी गम्भीर खोज र अनुसन्धानका विषय हुन् । नगरपालिकाले सम्पदा संरक्षण तथा सस्तो, सुलभ र स्तरीय कलेज तथा अस्पताल स्थापना गरी स्थानीय तहस्तरमै भए पनि समाजवादको मौलिक अभ्यास गरिरहेको छ । यहाँ केवल एउटा आफ्नै विश्वविद्यालयको अभाव छ । त्यसका लागि उसले ख्वप विश्वविद्यालयको परिकल्पना नगरेको पनि होइन । देशमा एउटा आधारभूत चिकित्सक उत्पादन गर्न सोझो हिसाबले ६० लाख र सबै जोड्दा झन्डै करोड रुपियाँ खर्च हुन्छ । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गरी अनुदान दिएर पनि १० देखि १५ लाख रुपियाँले चिकित्सक उत्पादन गर्ने खाका कोरेको छ तर ख्वप विश्वविद्यालयको विधेयक लामो समयदेखि संसद्मा अड्केर बसेको छ ।
सम्पदा र मौलिक संस्कृतिमा त यो अत्यन्त धनी सहर हुँदै हो । इँटा वा समथर ढुङ्गा बिछ्याइएका यहाँका सडक, दाःछी इँटाले बनेका कलात्मक झ्यालयुक्त घर, तेली इँटा बिछ्याइएका मन्दिर र घर परिसर अनि माटोका कलात्मक भाँडाले अहिले पनि हामीलाई मल्लकालीन प्राचीनतासँग साक्षात्कार गराउँछन् । प्राचीनता जोगाउने मौलिक शैलीका घर बनाउन अनुदान दिएरै नगरपालिकाले प्रोत्साहित गरिरहेको छ । सिद्धपोखरी, कमलपोखरी, रानीपोखरी, नः पुखु र सहरका टोल टोलमा रहेका सानाठुला पोखरी अनि सफा पारिएका सडक, चोक र गल्ली, हरेक बिहान टोल टोलमा गुन्जने दाफा भजन, सालैभरि चलिरहने मौलिक चाडपर्व र जात्रा यसका मौलिक पहिचान हुन् । यही सुन्दर नगरीमा विगत ४४ वर्षदेखि ‘जनता म्वासा भाषा म्वाई’ (जनता रहे भाषा बाँच्छ) नारासहित नेपालभाषा साहित्य तः मुंज्या हुँदै आएको छ । नगरका उत्साहित जनतालाई सांस्कृतिक रूपले प्रशिक्षित गर्न र मजदुर, किसानवर्गको जुझारु आवाजलाई साहित्यमार्फत वाणी दिन तःमुंज्याले गरेको प्रयास मननीय छ ।

बृहत् साहित्य उत्सव
नेपालभाषामा ‘तः मुंज्या’ को अर्थ हुन्छ– बृहत् सम्मेलन । नाम जस्तै यो उत्सव कुनै राजनीतिक सभाजस्तै विशाल हुन्छ । नेपाल र भारतमा हुने अधिकांश साहित्य उत्सवमा सहभागी भएको अनुभवले मलाई के लाग्छ भने यो उत्सव प्रस्तुति र उद्देश्य दुवै दृष्टिले अरूभन्दा पृथक छ । भारतको अति महङ्खवाकाङ्क्षी जयपुर लिटेरेचर फेस्टिबलदेखि नेपालमा हुने अधिकांश ठुला साहित्य उत्सव ‘कला बजारका लागि’ भन्ने उद्देश्यबाट प्रेरित देखिन्छन् । कुनै कुनै त धार्मिक अतिवादबाट प्रेरितसमेत छन् । डेढ वर्षअघि विराटनगरमा भएको नेपाल–भारत साहित्य उत्सवमा अधिकांश कवि यस्ता थिए, जो कविताको नाममा भजन सुनाउँथे, अन्तरापिच्छे ‘हरहर महादेव’ भन्थे र सबैभन्दा बढी ताली पाउँथे । झापा रिडर्सले काँकडभिट्टामा गर्ने कला साहित्य उत्सव र राजस्थान प्रगतिशील लेखक सङ्घले भारतको जयपुरमा गर्ने समानान्तर साहित्य उत्सव यीभन्दा किञ्चित भिन्न, ‘कला समाजका लागि’ भन्ने उद्देश्यले प्रेरित थिए । ती दुवै अहिले स्थगित छन् । यता तः मुंज्याको कुरा भने प्रस्ट छ । उसले हाकाहाकी भनेको छ, यो सम्मेलन साहित्य र सांस्कृतिक कार्यक्रममार्फत कामदारवर्गबिच जागरण ल्याउने अभियान हो । उद्घाटनको अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भन्नुभएको थियो, “तः मुंज्या कामदार वर्ग र लेखकको साझा मञ्च हो ।”
नेपाल संवत् ११०० (विसं २०३७) देखि प्राचीन नगर भक्तपुरका विभिन्न भेगमा प्रत्येक वर्ष नेपाल संवत्को कौलाथ्व द्वादशी र त्रयोदशी (विजयदशमीपछिको दोस्रो र तेस्रो तिथि) मा यो सम्मेलन हुँदै आएको छ । नेपालभाषा, साहित्य, कला र संस्कृतिको संवद्र्धन एवं विकासका लागि भइरहेको प्रयासमा टेवा दिनु र त्यसमार्फत मजदुर, किसानलगायत कामदारवर्गलाई जागृत गर्नु यसको ध्येय हो । साहित्यले जनमुखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिलाई सम्बोधन गर्नुपर्छ भन्ने यसको मान्यता छ । यसपालि असोज २८ र २९ गते भक्तपुरको कमलविनायकस्थित ल्हाँमुग टोलमा भएको ४४ औँ सम्मेलनमा उसले हरेक वर्षझैँ समाजमा व्याप्त असमानता, व्यवस्थाका विकृति र सङ्कट, अन्याय, अत्याचार, खतरामा पर्दै गएको देशको सार्वभौमसत्ता, सीमा अतिक्रमण, प्यालेस्टिनमाथि इजरायलको आक्रमण आदिको प्रतिरोधमा केन्द्रित गरेको थियो ।

मोहनी नखः र साहित्य उत्सव
हरेक पल्ट खेतीपातीको काम सुरु हुन लाग्दा शरीरमा ऊर्जा भर्ने र सकिँदा उत्सव मनाउने चलन नै नेवारको चाडका रूपमा विकसित भएका हुन् । दसैँकै बेला पर्ने उनीहरूको मोहनी नखः धान बाली भिœयाउनलाई शरीरमा ऊर्जा भर्ने चाड हो । यही चाडको रमझमबिच भक्तपुरका जागृत किसान र बुद्धिजीवी भने तः मुंज्यामा अभिरुचिपूर्वक सहभागी हुन्छन् । मिडियामा विस्तृत प्रचार पाएका साहित्य महोत्सवमा एकसाथ चल्ने चार, पाँच वटा सेसनमा स्रोताको सङ्ख्या सारै कम हुन्छ । तः मुंज्यामा भने एउटा समयमा एउटै मात्र सेसन हुन्छ जहाँ स्रोता सङ्ख्या सधैँ धेरै हुन्छ । माथि मञ्चमा कविले कविता सुनाउँदा होस् वा विशेषज्ञले विचार व्यक्त गर्दा हरेक क्षण एक हजार पाँच सयभन्दा बढी स्रोताले दर्शकदीर्घाबाट सुनिरहेका हुन्छन् । स्थानीय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्नेको समेत हिसाब गर्ने हो भने स्रोताको सङ्ख्या अगणित हुन्छ ।
यो भव्य कार्यक्रम सम्पन्न गर्न स्थानीय आयोजक समितिले गर्ने मेहनत र तयारी सानो हुँदैन । यसपालि कृष्णभक्त लवजुको अध्यक्षतामा बनेको आयोजक समितिको अथक मेहनत सम्मेलनको भव्यताले नै प्रस्ट देखाउँथ्यो । तः मुंज्या मूल गुथि भने नेपालभाषाका कवि आसकुमार चिंकबन्जारको नेतृत्वमा छ । जनसहभागिता बढाउने उद्देश्यले आयोजक समितिले सम्मेलनको पूर्वसन्ध्यामा सहरका टोल टोल परिक्रमा गर्दै सुकुन्दा ¥याली गर्छ भने यसका हरेकजसो सम्मेलन र प्रस्तुतिमा नेवाः सभ्यता र भक्तपुरको स्थानीय पहिचान झल्किन्छ । कहाँसम्म भने अतिथिलाई भादगाउँले टोपी र बेताली पहिराई यःमरी, चःतामरी, मुस्या पालु (कालो भटमास र अदुवा) र जुजुधौ जस्ता नेवाः सभ्यताका खाद्यले सत्कार गरिन्छ । अन्त्यमा तिनलाई त्यस्ता पुस्तक उपहार दिइन्छ, जुन समाजवादी विचारले ओतप्रोत हुन्छन् ।

नेताले सुन्ने उत्सव
यहाँ मूलतः दुई प्रकारका वक्ता हुन्छन्, आमन्त्रित विशिष्ट पाहुना र स्थानीय प्रतियोगी लेखक । आमन्त्रित वक्ताले आफूलाई थाहा भएको कुरा जनताले बुझ्ने गरी सरल भाषामा बताउँछन् र स्रष्टाले आफ्ना सिर्जना सुनाउँछन् । प्रतियोगी लेखकले भने स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय समस्या, गुनासा, आलोचना, प्रतिरोध, हस्तक्षेपकारी विचार आफ्ना सिर्जनामार्फत प्रस्तुत गर्छन् । यहाँ नेताहरूले बोल्दै नबोल्ने होइन । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मामलामा जनताले लिनुपर्ने अडानबारे केही नेताले आफ्ना कुरा अवश्य राख्छन् तर दुई दिनको अधिकांश समय ती तल दर्शकदीर्घामा बसेर लेखक र विशेषज्ञका कुरा सुन्छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’, सङ्घीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, पूर्वसांसद नवराज कोइरालालगायतका नेता अधिकांश समय दर्शकदीर्घामा रहेर निरन्तर सुनिरहनुभएको थियो भने प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई तथा सिर्जना सैँजू साधारण कार्यकर्ता सरह वक्ता व्यवस्थापन तथा सहजीकरणमा खटिइरहनुभएको देखिन्थ्यो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले भ्रष्टाचार, अनियमितता र विसङ्गतिबारे फेहरिस्त प्रस्तुत गर्नुभयो । जलस्रोतविद् रतन भण्डारीले नीति निर्माणमा गल्ती हुँदा र प्रकृतिको स्वरूपलाई नचिन्दा यसपालि बाढीपहिरोमा धेरै जनाले ज्यान गुमाउनु परेकोमा दुःख प्रकट गर्नुभयो । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले मुटुलाई स्वस्थ राख्ने व्यावहारिक उपायबारे चर्चा गर्नुभयो । यता बाँझोपन विशेषज्ञ डा. सानुमैया श्रेष्ठले नेपालमा पनि अब बाँझोपनको सजिलै उपचार हुने जानकारी दिनुभयो । संस्कृतिविद्, वास्तुविद्, चिकित्सकले आफ्ना क्षेत्रको जानकारी दिनुभयो । देवीचन्द्र श्रेष्ठ, सरोज धिताल, चन्द्रबहादुर उलक, दामोदर सुवाल, सुलोचना मानन्धर, जटाधर झा, मोहन दुवाल, हरिहर तिमिल्सिना, सूर्यप्रसाद लाकजु, रामविन्दु श्रेष्ठ, अनिल पौडेललगायत अतिथि र स्थानीय साहित्यकारले सिर्जना वाचन गर्नुभयो । साँझ ७ बजेपछि राति अबेरसम्म दुवै दिन प्रहसन, एकाङ्की, नाटक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो ।
लुकेका कोहिनुर
हल्लाको संसारमा असलीभन्दा नक्कली नै बढी चिनिन्छन् । तः मुंज्या आफैँमा त्यस प्रवृत्तिविरुद्धको प्रतिरोध हो । यसपालि यसले नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठ र सम्पदा संरक्षणका अभियन्ता भागवत नरसिंह प्रधानलाई अभिनन्दन ग¥यो । त्यसै गरी यसले शिक्षाकर्मी मोहनप्रसाद प्रजापति, बुद्धिजीवी रत्नसुन्दर शाक्य, सांस्कृतिक गुरु रत्नभक्त नेम्हाफुकी, समाजसेवी जगतलाल मानन्धर, सफाइकर्मी गणेशराम दुवाल तथा किसान अगुवा ललितबहादुर अवाललाई तः मुंज्याको भव्य समारोहमा नगद पुरस्कारसहित अभिनन्दन ग¥यो । कवि दुर्गालाल श्रेष्ठबाहेक रैथाने जैविक बुद्धिजीवीलाई कसैले चिन्छ ? देशले चिन्दैन । हामी पनि चिन्दैनौँ । मिडियाले चिन्दैन । उहाँहरूलाई चिन्नु जरुरी छ । उहाँहरूका कामलाई प्रोत्साहन दिनु अनिवार्य छ । तःमुंज्याले यही आग्रह गरेको छ । हरेकजसो उत्सवमा उसले यस्तै रैथाने जैविक व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । सम्मेलन आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजूले भन्नुभएको थियो, “समाज, देश र जनताका लागि महङ्खवपूर्ण योगदान गर्ने व्यक्ति सदैव अभिनन्दनका लायक हुन्छन् ।”

अन्त्यमा
तः मुंज्या मूलतः नेपालभाषामा केन्द्रित साहित्यिक तथा सांस्कृतिक महोत्सव हो तर यसमा खस नेपाली र अन्य मातृभाषालाई प्रतिबन्ध छैन । राष्ट्रियस्तरमा नचिनिए पनि अल्पमत भाषामा स्तरीय साहित्य लेखिँदैनन् भन्ने मान्यता गलत हो । कवितामा नेपालभाषाको उपलब्धि नेपाली भाषा जत्तिकै छ । खोजी गर्दा मैथिली, भोजपुरी, थारू र अन्य भाषामा पनि यस्ता उदाहरण भेटिन सक्छन् । नेपाली साहित्य र कलाको वास्तविक रूप हेर्ने हो भने खस नेपाली भाषाबाहिर पनि पुग्नु अनिवार्य छ, जसरी विश्वको साहित्य, कलाको वास्तविक रूप हेर्न अङ्ग्रेजी भाषाबाहिर छिर्नु जरुरी छ । तः मुंज्याले अन्य सीमान्तकृत भाषाका साहित्यलाई पनि समेटेर दिन खोजेको सन्देश सायद यही हो ।

साभार : गोरखापत्र दैनिक, ०८१ कार्तिक १०

Leave a Reply

Your email address will not be published. Required fields are marked *