मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, १० कार्तिक । “अभिभावकहरूले आफ्ना सन्तानलाई समाजसँगै अगाडि बढ्न सिकाउनु पर्दछ ।” उक्त विचार संगम बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वाग्मती प्रदेशसभाका सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको हो ।
उहाँले अगाडि भन्नुभयो “सहकारी संस्थाहरू नाफाभन्दा पनि सामाजिक सेवालाई प्राथमिकता दिनु पर्दछ । नाफाको मात्र पछाडि लागेमा त्यसले नागरिकलाई सही बाटोमा लाँदैन ।” पाठ्यपुस्तक तथा किताबको मात्र अध्ययनले सबै ज्ञान नहुने हुँदा शिक्षासँगै संस्कार र व्यवहारको सिकाइले मात्र असल मार्गमा लाने कुरा उहाँले राख्नुभयो ।
उहाँले सहकारी संस्थाले समाजमा सकारात्मक योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्नुपर्ने कुरा राख्नुभयो । उहाँले भन्नुभयो, “समाजको लागि उपयोगी पुस्तक तथा लेख रचना प्रकाशन गरी सदस्यहरूलाई अध्ययन संस्कृतिको विकास गराउनुपर्दछ । समाजमा नकारात्मक विचारले समाज र देशलाई गलत बाटोमा लानेतर्फ सचेत गराउँदै सामूहिक कार्य गर्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सबै अग्रसर हुनुपर्छ ।”
कुनै बेला हेयको दृष्टिकोणले हेरिने भक्तपुर आज हरेक क्षेत्रमा उदाहरणको रुपमा प्रस्तुत हुनुमा यहाँका राजनैतिक कार्यकर्ता र जनतामा रहेको इमानदारीता तथा कार्यप्रतिको प्रतिबद्धता नै मुख्य कारण रहेको विचार व्यक्त गर्दै उहाँले आज देश भित्र र बाहिर भक्तपुरको बारेमा चर्चा हुने गरेको विचार राख्नुभयो ।
भक्तपुर नगरपालिकाको आर्थिक तथा सहकारी शाखाका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले नगरबासीको सेवामा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत युवा स्वरोजगारका क्षेत्रमा पनि नयाँ कार्यको थालनी गरेको विचार राख्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले अस्वाभाविक योजना र लोभको पछाडि लाग्नाले सदस्यहरू समस्यामा परेको चर्चा गर्दै स्थानीय तथा सामूहिकरुपमा सञ्चालित सहकारीहरू नै वास्तविक सहकारी संस्था भएको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का प्रतिनिधि कान्छाभक्त घजुले सहकारी संस्थाहरूले नियमनकारी निकायका सबै निर्देशन पालन गर्नुपर्ने कुरा राख्नुभयो ।
संस्थाका सल्लाहकार न्हुछेराम भेले र राजाराम चवालले शुभकामना सन्देश दिनुभएको उक्त कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कृष्णगोपाल छुस्याकीले पनि मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष बलराम सिबन्जारको अध्यक्षतामा भएको उक्त सभामा २७ जना ज्येष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, ऋणी सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो । लेखा समितिका संयोजक पुण्यराम भेले, सचिव विजय लोहला र कोषाध्यक्ष बलाराम नागाले प्रस्तुत गर्नुभएको प्रतिवेदन तथा नीति र कार्यक्रम पारित गरिएको थियो । संस्थाका उपाध्यक्ष शिवराम किजूले स्वागत गर्नुभएको उक्त कार्यक्रममा संस्थाका सहसचिव सरजु फसिकवले पनि बोल्नुभएको थियो ।
Leave a Reply