भर्खरै :

घर आँगनको औषधि

घर आँगनको औषधि

दस वर्षपहिले म अमेरिका जाँदा एक परिचित अमेरिकन एक महिलाले भनिन्, “म त बाजिल हरेक दिन दुइटा क्याप्सुल खान्छु, बिहान र बेलुका । यसले मलाई रुघाखोकीबाट बचाएको छ । तिमी पनि खाऊ ।”
बाजिल भनेको तुलसी हो । यो क्याप्सुलभित्र पाउडर थियो । सायद एउटामा दुई– चार वटा तुलसीका पत्ता थिए ।
एक महिनाका लागि ६० वटा क्याप्सुलको ३० डलर अर्थात् त्यो बेला ३ हजार रुपैयाँ पर्दोरहेछ । त्यस हिसाबले ती महिलाले वर्षमा ३६ हजार रुपैयाँको तुलसी पत्ता खाँदिरहिछन् ।
मैले ती महिलालाई भने, “एक वर्षमा ३६० डलरको तुलसी खाँदिरहिछौ । नेपालमा त हामीलाई एक पैसा पनि तिर्नु पर्दैन । तर दुःखको कुरा, हामीहरू तुलसीलाई पूजा गर्छौँ । विवाह गरेर पठाइदिन्छौँ । उनका नाममा व्रत बस्छौँ । तर, स्वास्थ्यका लागि पनि यसको प्रयोग गर्न सकिनेबारे विचारै गर्दैनौँ । यदि अमेरिकाबाट यही क्याप्सुल नेपाल लगेर विज्ञापन गर्ने हो भने नेपालीहरू पैसा तिर्ने जमर्को गर्थे होलान् ।’
मेरो कुरा सुनेर ती महिला हाँसिन् र भनिन्, “बाजिल भनेको तुलसी हो भन्ने कुरा त मैले धेरै पछि थाहा पाएकी थिएँ । म काम गर्ने ठाउँमा एक महिलालाई धेरै रुघाखोकी लागिरहन्थ्यो । भारतीय मूलका डाक्टरले उनलाई यो क्याप्सुल खान सल्लाह दिए । यसले उनलाई फाइदा भयो । मैले खान थालेको ६ महिना भयो । अब नेपाल जाँदा त्यहीँबाट सुकेको तुलसी ल्याउनुपर्ला ।”
हामीकहाँ आफ्नै घर आँगनमा भएका कुरालाई बेवास्ता गरिन्छ । तर, जब अरूले त्यही वस्तुको व्यापार गर्छन्, अनि हामीलाई लाग्छ – ओहो ! यो त राम्रो रहेछ । अनि हामी त्यसका लागि पैसा खर्चन्छौँ । हामीमध्ये धेरैलाई थाहा छन, तुलसी पनि स्वस्थ्यकर हुन्छ भनेर । थाहा होस् पनि कसरी ? हाम्रा पण्डितजीहरूले तुलसीलाई पवित्र मानेर पूजा गर्न मात्र सिकाए । यसको पात चुँडेर खाउ स्वास्थ्य राम्रो हुन्छ कहिल्यै भनेनन् ।
जब विदेशीहरूले कुनै कुराको ‘महङ्खव छ’ भन्छन्, अनि मात्र हाम्रो घैँटोमा घाम लाग्छ । यदि कुनै कारखानासँग घामलाई क्याप्सुलमा राखेर बेच्ने क्षमता भएको भए नेपालीले त्यो पनि किनेर खान्थे । अहिले त्यस्तै भइरहेको छ । कतिपय नेपाली महिला औषधि पसलमा भिटामिन ‘डी’ किनेर खान्छन् । वास्तवमा भिटामिन डी त हामीहरूले किन्नै पर्दैन । ८० प्रतिशत भिटामिन डी हामीले घामबाट पाउँछौँ । त्यसका लागि घाम सिधै छालामा पर्नुपर्छ ।
भिटामिन डीको बारेमा ‘पोषण र स्वास्थ्य’ नामक किताबमा लेखिएको छ, “नेपालमा सबैतिर घाम प्रशस्त लाग्ने र सुत्केरीहरूलाई घाममा तेल लगाइदिने चलनले गर्दा भिटामिन ‘डी’ को कमीबाट हुने रोगहरू नेपालमा त्यति देखिँदैनन् । घाम नछिर्ने भक्तपुर र पाटनको सहरका महिलामा भने यस्तो समस्या बढी देखिएका छन् ।” यसबाट स्पष्ट हुन्छ– नेपालमा भिटामिन डी किन्नु पर्दैन । यो भिटामिन कमी भएमा बच्चाहरूको हड्डी राम्रोसँग बढ्दैन । यसले गर्दा महिलालाई गर्भावस्थामा समस्या पर्न सक्छ ।
सुत्केरी र शिशुलाई घाममा राखेर शुद्ध तोरीको तेल लगाइदिने चलन आजकल हराउँदै गएको छ । घाममा राखेर तेल लगाए कालो हुन्छ भनेर शरीरलाई हानि गर्ने पाउडर लगाएर सेतो पारिन्छ । तर, यसले पछि निम्त्याउने नकारात्मक प्रभावतिर कसैको ध्यान पुगेको पाइँदैन ।
नेपालमा पनि घामको कमीले हुने रोग लाग्नु भनेको कस्तुरी मृगको पीडाजस्तै हो । हामी आफूभित्र बासना छ, तर त्यसकै खोजीमा भौंतारिरहन्छौँ । सूर्यलाई पूजा गर्न समय निकाल्नेले घाममा बस्न समय किन ननिकाल्ने ? सायद, चिकित्सकहरूले भर्ना भएर घाम ताप्ने भनेर सिफारिस लेखिदिने हो भने अस्पतालका धेरै ओछ्यान भरिन्थेन होला, घाम ताप्ने बिरामीले ।
यस्तो वस्तु प्रयोग गर्नुको अर्थ आधुनिक स्वास्थ्य विज्ञान नकार्नु चाही होइन नि । आवश्यक परे त स्वास्थ्यकर्मीसँग सल्लाह लिएर आधुनिक औषधिको प्रयोग गर्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *