भर्खरै :

भ्रष्टाचार र पक्षपातको विरोध गर्नुपर्ने

भ्रष्टाचार र पक्षपातको विरोध गर्नुपर्ने

ललितपुर, १९ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या ललितपुरको आयोजनामा नेपाल संवत् ११४५ नयाँ वर्ष (न्हुदँ) को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम त्यागलमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले नयाँ वर्ष मनाउनु भनेको संस्कृतिलाई पश्चिमा विकृतिबाट समाजलाई आघात पु¥याउनु होइन† सुसंस्कृत समाज बनाउन देशको राजनैतिक अवस्था अध्ययन गर्नु, भ्रष्टाचार र पक्षपातको विरोध गर्नु, वर्गीय शोषणलाई अन्त्य गर्न जनतालाई प्रशिक्षित गर्नु हो भन्नुभयो । केन्द्रीय सदस्य डंगोलले चाडपर्वमा जाँडरक्सी र जुवा तासजस्ता विकृतिलाई निरुत्साहित गर्न खेलकुदलगायतका विभिन्न रचनात्मक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भाषा र संस्कृतिले इतिहासलाई जोगाउने भएकोले त्यसको सम्मान गर्नुपर्ने बताउनुभयो । जनता सभ्य र सुसंस्कृत भएसम्म भाषाको जगेर्ना गर्न सहज हुने बताउँदै उहाँले सरकारमा गएका राजनैतिक पार्टीहरूको अकर्मण्यताले गर्दा नेपाली जनताले दुःख भोग्नुपरेको उल्लेख गर्नुभयो । उहाँले समाजवादी व्यवस्थामा मात्र काम गरी खाने जनताको हित हुने भएकोले समाजवादी आन्दोलनका बाधकहरू कम्युनिस्ट नामको नक्कली कम्युनिस्ट पार्टी र पुँजीवादी संसदीय व्यवस्थामा रमाएका दलाल पुँजीपतिविरुद्ध नेपाल मजदुर किसान पार्टी निरन्तर सङ्घर्षरत रहेको बताउनुभयो ।
कर्मचारी समाजका जी. पी. लासिवाले विश्वमा अशान्ति फैलाउने अमेरिकी साम्राज्यवाद र नेपालको सीमा अतिक्रमण र एकाधिकार पुँजी लाद्ने भारतीय विस्तारवादविरुद्ध जनता सचेत हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल अमेरिकी सेना भित्याउने एमसीसीलगायत एसपीपी खारेज गर्नुपर्ने, अमेरिकी सहयोगमा प्यालेस्टिनमा नरसंहार गर्ने नेतन्याहुलाई युद्ध अपराधीको कारबाही गर्नुपर्ने र अमेरिकी उक्साहतमा रुससँग युक्रेनको युद्ध बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या ललितपुरका अध्यक्ष कवीन्द्र डंगोलको सभापतित्वमा सम्पन्न शुभकामना कार्यक्रममा नेपाल मजदुर किसान पार्टी ललितपुरका उपाध्यक्ष अशोक महर्जन, सचिव नरेश महर्जनलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *