सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भक्तपुर, १९ कार्तिक । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २८ औँ स्थापना दिवसको अवसरमा ‘वर्तमान समयमा सहकारीको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रम सोमबार एक विशेष समारोहबिच सम्पन्न भयो ।
उक्त कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्था समाजवादउन्मुख संरचनाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वार्थी, अपराधी, ठग, जालीफटाहाहरू सहकारीमा छिरेर सहकारी सदस्यहरूको सङ्कलित करोडौँ÷अर्बौँ ठगेर भागेको कारण समुदायमा आधारित सहकारीहरूमा पनि असर परेको चर्चा गर्दै उहाँले ऋणीको सङ्ख्या बढेको ठीक भए पनि भाखा नाघेका ऋणीहरूको सङ्ख्या बढ्नु उचित होइन भन्नुभयो ।
व्यवहारमा नआएको एक सहकारी एक सदस्य खारेज गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई भ्रष्टाचार बढी भएको सूचीमा राख्नु र अवैध सम्पत्ति वैध बनाउने सरकारको कार्य शैलीले नेपाल र नेपालीको मनमनमा चिसो पसेको बताउनुभयो ।
संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार रत्नप्रसाद प्रजापतिले हरेक नेतृत्व पक्षले व्यक्ति होइन संस्था हेर्नुपर्ने विचार व्यक्त गर्दै ऋण समिति चनाखो भएन भने संस्था डुब्न सक्नेतर्फ सचेत बनाउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिले संस्था स्थापना गर्दाको अनुभवबारे उल्लेख गर्दै नीति नियममा नबस्दा संस्था डुबेको विचार व्यक्त गर्नुभयो ।
हरेकको समस्यासँगै उपाय पनि हुने विचार व्यक्त गर्दै उहाँले संस्थाले घरेलु तथा स–साना उद्योग सञ्चालनमा सहयोग पुगेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले सर्वसाधारण जनतालाई बढी ब्याजको लोभ देखाएर रकम सङ्कलन गरी भाग्ने सञ्चालक र प्रबन्धकहरूको निन्दा गर्दै सहकारी संस्था डुबाउने, बिगार्ने, भाग्ने अपराधीहरू वाग्मती प्रदेशमै बढी रहेको बताउनुभयो ।
संस्थाका सचिव जगन्नाथ प्रजापतिले वर्तमान समयमा सहकारीका समस्याबारे संस्थाको कार्यपत्र प्रस्तुत गर्दै रूस, चीनजस्ता समाजवादी मुलुकको विकासको आधार नै सहकारी व्यवस्था थियो भन्नुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति निर्मल प्रजापतिले आर्थिक कारोबारसँगै समाजका सांस्कृतिक स्तर उत्थान गर्ने उद्देश्यले संस्था स्थापना भएको उल्लेख गर्दै भक्तपुर सरसफाइ, ज्ञान विज्ञान, सम्पदा संरक्षणको नगर भएजस्तै सहकारी संस्थालाई पनि भक्तपुरको अध्ययन र अनुसन्धान गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा सहभागीहरूले राखेका विभिन्न जिज्ञासाको जवाफ दिइएको थियो ।
Leave a Reply