ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, १९ कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा अक्टोबर क्रान्तिको अवसरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा रचित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तकबारे अध्ययन गोष्ठी सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैँजूले उक्त पुस्तक नेमकिपाको आर्थिक दृष्टिकोण र अर्थशास्त्रको रूपमा रहेको धारणा राख्दै विगत ४० वर्षमा गठन भएका हरेक सरकारले उक्त विचारलाई एकएक गरेर पन्छाउँदै जाँदा आज देश युवाविहीनतासँगै आत्मनिर्भरताको लागि युवा जनशक्तिको अभाव भएको बताउनुभयो ।
उहाँले कर्णाली र सुदूर पश्चिममा रहेको उन्नत जातको फलफूल र विभिन्न अन्न विगतमा विश्वका विभिन्न देशमा निर्यात हुन्थ्यो तर अहिले सरकार विदेशी रेमिट्यान्सको भरमा देश र परिवार चलाउने परिपाटीले विदेशी उत्पादनको अत्यधिक प्रयोग हुनु देशभक्तिको भावनाको दृष्टिले गलत भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले आफ्नो स्वाभिमान दाउमा राखेर विदेशी सहयोग स्वीकार्दा भविष्यमा दुःख पाउने उल्लेख गर्दै क्रान्तिको निम्ति मानसिक रूपमा तयार हुन उक्त अध्ययन गोष्ठीले सहयोग पुग्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले भक्तपुर काण्डमा नेमकिपालाई समुल नष्ट गर्ने दुष्प्रयास भइरहेको समयमा पहिलोपटक प्रकाशित भएको उक्त पुस्तकको माध्यमबाट सरकारले आफ्नो गल्ती महसुस गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा शिवराम बोहजूले नेपालको आर्थिक विकासको विषयमा बोल्नुभएको थियो ।
कार्यक्रममा रोशनराज तुईतुई, बिन्द्रा दुवाल र रत्नप्रसाद फैजूले पनि उक्त पुस्तकबारे बोल्नुभएको थियो ।
Leave a Reply