भर्खरै :

त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण

त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण

मोरङ, २० कार्तिक । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रूपमा राष्ट्रको सेवा गर्नुभएका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई आज हस्तान्तरण गरिएको छ ।
विभागका प्रमुख कुन्दन अर्याललाई स्वर्गीय घिमिरेकी कान्छीबुहारी दुर्गा घिमिरेले उक्त यन्त्र हस्तान्तरण गर्नुभएको हो । पूर्वराज्यमन्त्री घिमिरेले २०१५ को आम निर्वाचनमा पर्चा, ‘पोस्टर’ छाप्न भारतको कोलकाताबाट खरिद गरी विराटनगरको रङ्गेली रोडमा पायोनियर प्रिन्टिङ प्रेस २०१४ सालमा स्थापना गर्नुभएको वरिष्ठ पत्रकार मोहन भण्डारीले बताउनुभयो ।
त्यस अवसरमा आमसञ्चार विभाग प्रमुख अर्यालले यन्त्रका माध्यमबाट छापाखानाको इतिहासबारे ज्ञान प्राप्त गर्न विद्यार्थी तथा शोधकर्तालाई सहयोग पुग्ने बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले उक्त यन्त्रले छापा पत्रकारिताको जीवन्त इतिहास झल्काएको बताउनुभयो ।
मावअधिकारीकर्मी सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, प्राध्यापक कृष्ण पोखरेल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामअवतार शरण, दिनेश श्रेष्ठलगायतले मुलुकको प्रमुख व्यापारिक केन्द्रमध्येको एक विराटनगरमा छापाखानाको विकासक्रमका साथै जटिल समयमा पर्चा, समाचारलगायत पाठ्यसामग्री छापेर छापा पत्रकारिताको विकासमा योगदान गरेको चर्चा गर्नुभयो ।
राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य एवं न्यु सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलको पहलमा उक्त मुद्रणयन्त्र विश्वविद्यालयले प्राप्त गरेको आमसञ्चार विभागका प्रमुख अर्यालले सोही अवसरमा जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *