ताथलीमा भिन्तुना ¥याली : समाजवादी क्रान्तिको आधार तयार गर्न जोड
- कार्तिक ७, २०८२
विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पदबाट राजीनामा दिएका लिलाबल्लभ अधिकारीमाथि मानव तस्करीको आरोप लागेको छ । आफू जापान जाँदा तीन जना असम्बन्धित व्यक्तिलाई पनि सँगै लैजान भूमिका खेलेको आरोप उनीमाथि लागेको हो ।
सोही विवादमा मुछिएपछि बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्दै अधिकारीले अनुसन्धानलाई सहयोग गर्न आफूले राजीनामा गरेको दाबी गरे ।
“मप्रति भएका नकारात्मक टीकाटिप्पणीलाई अध्ययन अनुसन्धान र छानबिन गर्न पनि सहजता होस् र यस्ता जिम्मेवार पक्षमा रहने जिम्मेवार पार्टीका जिम्मेवार जनप्रतिनिधिहरूले जनताकै बिचमा पनि जाँदा आफूलाई लागेको आक्षेपमा नैतिकरूपले बसिरहन उचित हुँदैन भन्ने ठानिकन मैले राजीनामा दिएको छु”, पत्रकार सम्मेलनमा अधिकारीले भने ।
अधिकारीले आफू जापान जाने क्रममा भेटिएका तीन जना नेपालीले नक्कली डकुमेन्ट बनाएर उतै बस्ने योजना बनाएको थाहा पाएको दाबी गरे । “यहाँबाट म जापानको टोकियो महानगरपालिकामा आयोजित कार्यक्रमका लागि सिङ्गल गएको हुँ । त्यो कार्यक्रम भयो तर, म गइँन । म नगएको कारण भनेको हङकङमा ३ जना मान्छे भेटिए । ती मान्छेलाई हेर्दा उनीहरू उतै बस्ने र लुक्ने योजनामा गएको थाहा पाएँ । अब यो पाप गर्नुहुँदैन । बरु राजीनामा दिउँला । देशप्रति राष्ट्रप्रति गद्दारी गर्नु हुँदैन भनेर आयोजकसँग मैले मलाई फिर्ता गरिदिनुहोस् भनेँ । ट्रान्जिटबाट फिर्ता हुन मिल्दैन रहेछ । उनीहरू मेरै कार्यक्रममा गएका रहेछन्, मिलाएर दुईवटा खोटाङको र एउटा रसुवाको रहेछ । त्यसपछि तिनीहरूसहित म फर्किएँ । उनीहरू अहिले हनुमान ढोका प्रहरीको नियन्त्रणमा छन्”, पत्रकार सम्मेलनमा अधिकारीले भने ।
ती तीन जनामा जनक राई, दावा शेर्पा, देवकोटा थरका एक जना रहेको मन्त्री अधिकारीले नै बताए । उनीहरूले आफ्नो साथमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको नक्कली कार्डसमेत बोकेको बताए पनि आफ्नो संलग्नता भने नभएको दाबी गरिरहे । तर स्रोतहरूका अनुसार मानव तस्करी भएको आशङ्कापछि उनलाई जापानले विमानस्थलबाटै डिपोर्ट गरेको हो ।
यसैबिच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाचार सार्वजनिक भएसँगै मङ्गलबार मन्त्री अधिकारीलाई बोलाएर जवाफ माग गरेका थिए । सो क्रममा अप्ठ्यारो पर्नसक्ने भन्दै मुख्यमन्त्रीले राजीनामा गर्न सुझाव दिएको स्रोतको दाबी छ । यद्यपि आफैँले गल्ती गरेको फिल गरेर नैतिकताको हिसाबले राजीनामा गरेको मन्त्री अधिकारीले दाबी गरेका छन् । “निजी जापान भ्रमणको विषयलाई लिएर केही टीकाटिप्पणीहरू बाहिर आए । यो आइसकेपछि आज हाम्रो देशमा एकखाले राजनीतिक नैतिक खडेरीको चर्चा, परिचर्चा भएको समाजमा नकारात्मक चर्चा बढ्दै गएको बेला यस्तो टिप्पणी सुनी सुनी पदमा बसिरहन मलाई उचित लागेन”, अधिकारीले भने ।
अधिकारीले त मुख्यमन्त्रीले आफूलाई राजीनामा नगर्न सुझाव दिएको पनि दाबी गरे । “समाचार आउने बित्तिकै म आफैँ मुख्यमन्त्रीकहाँ गएर म राजीनामा दिन्छु भनेको हुँ । मुख्यमन्त्रीले सोच्नुहोस् भन्नुभएको थियो । उहाँले त यस्तो विवाद अन्त पनि भएको छ नि किन हतार गर्नुहुन्छ भन्नु भएको थियो”, उनले पत्रकार सम्मेलनमा भने ।
उनले आफ्नो भिसा अलिक अगाडि आएको भए पनि टिकट आकस्मिक आएको बताए । “भिसा अलिक अगाडि आएको हो । टिकट अक्टोबर २५ तारिखमा आयो, थाहा पाएको अक्टोबर २६ तारिखमा र उडेको अक्टोबर २७ तारिखमा हो । यति चाँडो भयो । मैले औपचारिकरूपमा कसैलाई जानकारी दिनै पाइनँ । मैले मुख्यमन्त्रीलाई केही दिन बिदामा बस्छु है भनेको थिएँ”, अधिकारीले भने । उनका अनुसार २९ तारिखदेखि नोभेम्बर ३ तारिखसम्म टोकियो महानगरपालिकाको कार्यक्रम थियो । सोही कार्यक्रममा उनी गएका हुन् । जापानको टोकियो महानगरपालिकाले औपचारिक निमन्त्रणा गरेको पनि उनले दाबी गरे । यद्यपि स्रोतले दिएको जानकारीअनुसार कुनै सरकारी निकायले औपचारिक निमन्त्रणा गरेकै थिएन ।
मन्त्री अधिकारी मोरङको क्षेत्र नम्बर २ (२)बाट निर्वाचित एमालेका सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि उनी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । तर, उक्त कार्यकालमा पनि सांसद रहँदारहँदै सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न प्रहरी अधिकारीको पक्षमा अदालतमा वकालत गरेको विषय विवादमा आएको थियो । त्यस विषयमा पनि अधिकारीलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको थियो । उक्त प्रकरणमा माफी मागेर उन्मुक्ति पाएका अधिकारीले गरेको यो दोस्रो गल्ती हो । यही गल्तीको कारण अहिले उनले मन्त्री पदबाट राजीनामा दिनुपरेको छ ।
अधिकारी २०८१ साल जेठ ४ गते मन्त्री पदमा नियुक्त भएका थिए ।
– रातोपाटीबाट
Leave a Reply