भर्खरै :

नगर प्रमुख प्रजापतिसँग गोरखाको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जाराको भेट

नगर प्रमुख प्रजापतिसँग गोरखाको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जाराको भेट

भक्तपुर, २१ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग गोरखाको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले बुधबार भेट गर्नुभयो ।
भेटमा उहाँहरूबिच दुई स्थानीय तहबिचको सिकाइ अनुभव आदानप्रदान, भौगोलिक अवस्था र देशको समसामयिक तथा राजनीतिक विषयमा कुराकानी भयो ।
प्रमुख प्रजापतिले गाउँपालिका अध्यक्ष बन्जारालाई भक्तपुर नपामा खादा र भादगाउँले टोपीले स्वागत गर्दै भक्तपुरको शैक्षिक विशेषताबारे प्रस्ट पार्नुभयो । भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरूमा देशभरिबाट ७ हजारभन्दा बढी विद्यार्थीहरूले अध्ययन गरिरहेको र स्वास्थ्य सेवामा पनि सहज व्यवस्था गरिरहेको बताउँदै उहाँले ती कलेजहरूले विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक ऋणसमेत प्रदान गरी उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको बताउनुभयो ।
शासक दलहरूप्रति जनताको विश्वास घट्दै गइरहेको सन्दर्भ जोड्दै उहाँले माओवादी सरकारको नेतृत्व रहेको बेला जनताको हितमा माओ विचारधाराअनुसार काम गरेको भए पार्टी र देशकै निम्ति फाइदा हुने थियो भन्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिमा हेलचेक्र्याइँ गर्नु भनेको हिमालमा चिप्लेटी खेल्नुजस्तै खतरनाक हुन्छ ।”
भक्तपुरले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतका कामहरू जनसहभागितामा गरिरहेको असल अभ्यासबारे अवगत गराउँदै उहाँले हरेक ठाउँको विकासमा स्थानीय जनसहभागिता महत्वपूर्ण विषय भएको बताउनुभयो ।
भीमसेन थापा गा.पा. अध्यक्ष लोकप्रसाद बन्जाराले ८ वटा वडामा विभाजित गण्डकी प्रदेशअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिकाको ५० प्रतिशत भूगोल जङ्गलले घेरिएको बताउँदै भौगोलिक विविधता र प्राकृतिक सम्पदाले भरिएको यस गाउँपालिकाको क्षेत्रफल १०१.३५ वर्ग कि.मि. रहेको बताउनुभयो । उहाँले एक वडा एक उत्पादन, एक सङ्कलन केन्द्र र एक पोषण केन्द्र बनाउने घोषणा गरे पनि सफल नभएको बताउनुभयो ।
भक्तपुरले गरेका उदाहरणीय कामबाट आफूहरूले पनि सिक्न चाहेको बताउँदै उहाँले नागरिकहरूमा स्वयम्सेवी भावना हराउँदै जाँदा आफ्नो क्षेत्रको विकासमा बाधा पुगेको स्मरण गर्नुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले गा.पा. अध्यक्ष बन्जारालाई नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *