भर्खरै :

संशोधनवाद नेपाल कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती

भक्तपुर, १० माघ । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवस(माघ १०) बुधबार जिल्ला–जिल्लामा विविध गतिविधि आयोजना गरी मनाइयो । कार्यक्रमका वक्ताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका संशोधनवाद र अवसरवादलाई पराजीत गर्न र समाजवादी आन्दोलन अघि बढाउन नेमकिपालाई अझ व्यापक श्रमिक जनतासम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भएको प्रवचन कार्यक्रममा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले पूँजीवादी बन्दोबस्तबारे गहिरो अध्ययन नगरी समाजवादको महत्व प्रष्ट नहुने बताउनुभयो ।
पूँजीवादी व्यवस्थालाई नाफाको लागि जे पनि गर्न तयार हुने राजनीतिक बन्दोबस्तको रुपमा चर्चा गर्दै उहाँले पूँजीवादी व्यवस्थाबारे अध्ययन नगरे पूँजीवादी बन्दोबस्तले जन्माएका समस्या समाधान गर्न असमर्थ हुने धारणा राख्नुभयो ।
‘समाजवाद आफै आउने धारणा गलत हो । बाटो नभई गाडी आउने गर्दैन । त्यसैले समाजवादलाई जनताको सङ्घर्षमार्फत् ल्याउनुपर्छ ।’, समाजवादी आन्दोलनबारे चर्चा गर्दै अध्यक्ष रोहितले भन्नुभयो ।

‘एउटा यस्तो मौसम पनि आउँछ, जुन मौसममा रुखका सबै पात झर्ने गर्दछ । तर वसन्त ऋतुसँगै रुखमा पालुवाहरु पलाउने गर्दछ । त्यसैले क्रान्तिकारी परिस्थितिमा नेमकिपा जनताबीच सशक्त रुपमा अझ अघि बढ्नेछ ।’

उहाँले नहुनेलाई केही भौतिक सामान वा सुविधा दिंदैमा त्यो मान्छे कम्युनिष्ट वा समाजवादी आन्दोलनप्रति प्रतिबद्ध हुने कुरा गलत भएको प्रष्ट पार्दै भौतिकवादी विचारबारे जनतालाई सचेत बनाउनु कम्युनिष्टहरुको कर्तव्य भएको बताउनुभयो ।
‘एउटा यस्तो मौसम पनि आउँछ, जुन मौसममा रुखका सबै पात झर्ने गर्दछ । तर वसन्त ऋतुसँगै रुखमा पालुवाहरु पलाउने गर्दछ । त्यसैले क्रान्तिकारी परिस्थितिमा नेमकिपा जनताबीच सशक्त रुपमा अझ अघि बढ्नेछ ।’, पूँजीवादी चुनावको नतिजाको आधारमा पार्टीलाई मूल्याङ्कन गर्नु सही नभएको भन्दै उहाँले भन्नुभयो ।
नेपाली बजारबाट नाफा कमाउन उद्देश्यका साथ विदेशी कम्पनीहरुले नेपालका शासक दलहरुमा लगानी गर्ने गरेको प्रसङ्ग चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले विदेशी पूँजीको भरमा चुनाव जितेका दलहरुले विदेशी पूँजी र कम्पनीहरुकै सेवा गर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संशोधनवादी र अवसरवादीहरुले ‘कम्युनिष्ट’ शब्द र हँसिया–हथौडा अङ्कित झण्डा व्यापारिक चिन्ह(ट्रेडमार्क) को रुप प्रयोग गरी जनतालाई क्रान्तिकारी सङ्घर्षबारे दिग्भ्रमित बनाउने काम गरिरहेको बताउनुभयो ।
उहाँले एमाले र माओवादी केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका संशोधनवादी विचारका पार्टी भएको प्रष्ट पार्नुभयो ।
सचिव सुवालले कम्युनिष्ट नाम गरेका संशोधनवादी पार्टीहरुले पूँजीवादी संसदमा वामपन्थी भूमिका समेत इमान्दारीका साथ निभाउन नसकेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले एमाले र माओवादी केन्द्र एक भएर संशोधनवादी लाइनलाई बलियो बनाउन खोजिरहेको अवस्थामा आगामी दिनमा नेपालको कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिक सङ्घर्ष अझै पेचिलो बन्ने विचार व्यक्त गर्नुभयो । उहाँले चिलीमा एलेण्डे सरकारको असफलताको चर्चा गर्दै पूँजीवादी बनिबनाउ संरचनाबाट समाजवादी बन्दोबस्त आउन नसक्ने बताउनुभयो ।

उहाँले पूँजीवादी संसद आफै पनि समाजवादीहरुका लागि सङ्घर्षको थलो भएको प्रष्ट पार्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले कर्णाली अञ्चलको विकट भूगोल र जटिल सामाजिक अवस्थाबीच पञ्चायतकालबाट नै नेमकिपाको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढेको प्रसङ्ग चर्चा गर्नुभयो ।
उहाँले जस्तोसुकै प्रतिकूल परिस्थितिबीच पनि नेमकिपाले समाजवादी आन्दोलन अघि बढाइरहेको र नेमकिपालाई धोखा दिनेहरुको जनताबीच कुनै इज्जत नभएको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले मदन भण्डारीको विचारबाटै समाजवाद आउने भए र एमालेसँग एकीकरण नै गर्नुपर्ने भए माओवादीहरुले कथित जनयुद्ध गरी जनताको हत्या गर्नु र धनजनको क्षति गर्नु जनताप्रतिको धोखा भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजीरसिं विकले नेमकिपाले जनतालाई राजनीतिक रुपमा सचेत बनाउने अभियानसँगै छुवाछुत र मदिराविरोधी आन्दोलनजस्ता सामाजिक सङ्घर्ष पनि गरेको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक सदस्य एवं प्रदेश सभा सदस्यहरु सुरेन्द्रराज गोसाईले साम्राज्यवादविरोधी आन्दोलनमा नेमकिपा र सृजना साय्जूले काल्पनिक समाजवादी र अराजकतावादीहरुबो बोल्नुभएको थियो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा भएको कार्यक्रममा मीनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *