भर्खरै :

कम्युनिस्ट पार्टीको सरकारले मानिसको जन्मदेखि चिहानसम्मको जिम्मेवारी लिन्छ

कम्युनिस्ट पार्टीको सरकारले मानिसको जन्मदेखि चिहानसम्मको जिम्मेवारी लिन्छ

भक्तपुर, २४ कार्तिक । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा ख्वप अस्पतालको प्राविधिक सहयोगमा हाडजोर्नी तथा नाक, कान, घाँटीसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त स्वास्थ्य शिविरमा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले कम्युनिस्ट पार्टीको सरकारले मानिसको जन्मदेखि चिहानसम्मको जिम्मेवारी लिन्छ; नेपालमा कम्युनिस्ट दाबी गरेका पार्टीहरूको सरकारमा स्वास्थ्य उपचार गर्न वर्षको लाखौँ नेपालीले घरजग्गा बेच्नुपर्ने अवस्था छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “स्वास्थ्य नै धन हो । बिरामी भएपछि जतिसुकै धनसम्पत्ति भए पनि सुख हुँदैन । मानिसलाई आठ घण्टा काम, आठ घण्टा आराम र सुत्ने तथा आठ घण्टा व्यायाम, सामाजिक सेवासहितको व्यवस्था सरकारले गर्नु आवश्यक छ । पुँजीवादी व्यवस्थामा यस्तो सम्भव छैन । पुँजीवादी सरकारले अमेरिकामा पनि गरिब जनताको स्वास्थ्य उपचार गरेको छैन ।”
चिकित्सा विज्ञानले सुरुमा पत्ता लागेका सबै प्रकारको रोगको उपचार सम्भव बनाएको उल्लेख गर्दै उहाँले स्वास्थ्य शिविरमा सहभागी भई आफूसँग रोग भए नभएको परीक्षण गराउनु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “ नयाँ पुस्तालाई बोलीचाली, बानी व्यहोरा, भेषभूषा सुसंस्कृत बनाउन ख्वप कलेजहरू सञ्चालन गरिरहेको हो । नयाँ पुस्तालाई जाँडरक्सी, जुवातास, लागूपदार्थबाट मुक्त सुसंस्कृत नागरिक बनाउन अभिभावकहरूको महत्वपूर्ण भूमिका हुनेछ । नयाँ पुस्तालाई सुसंस्कृत बनाउन सरकारहरू चुकेका छन्, अभिभावकहरू चुक्नु हुँदैन ।”
निर्वाचनमा सामान र पैसा बाँड्ने, भोज खुवाउने र सरकारमा गएर जनताको सेवा नगरेका सांसद, पार्टीहरूलाई मत दिन नहुने उल्लेख गर्दै उहाँले अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेट पार्टी ह्यारिसका मानिसलाई तानेर चुनाव जितेको सार्वजनिक भयो† ट्रम्पलाई अमेरिकी खर्बपति इलन मस्कले आर्थिक सहयोग गरेको पनि सार्वजनिक भयो; मानिस सामाजिक र राजनीतिक प्राणी भएको हुँदा निर्वाचनमा पैसा वा व्यक्तिगत स्वार्थको लागि कुनै पार्टी वा व्यक्तिलाई मत दिनुहँदैन भन्नुभयो ।
नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले अन्याय अत्याचार, भ्रष्टाचारको विरोध गर्दै देश र जनताप्रति समर्पित भई नेपाल मजदुर किसान पार्टी अघि बढिरहेको बताउनुभयो ।
सत्तासीन दलहरू भ्रष्ट भएकै कारण देश दुर्गतितर्फ धकेलिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले ख्वप विश्वविद्यालय स्वीकृति नदिएर शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिबका सन्ततिहरू सर्वसुलभरूपमा अध्ययन गर्नबाट वञ्चित भइरहेको बताउनुभयो ।
भनपाका कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले धामीझाँक्रीहरूकै भरमा स्वास्थ्य समाधानतर्फ दुर्गम जिल्लाका महिलाहरू लागेको चर्चा गर्दै स्वास्थ्य क्षेत्रमा उपचारबाट वञ्चित हुँदा अकालमा मृत्यु भइरहेको बताउनुभयो ।
भनपा ६ का वडाध्यक्ष एवम् स्वास्थ्य शिविर कार्यक्रमका सभापति हरिराम सुवालले हाडजोर्नी तथा नाक, कान र घाँटीसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रमले थोरै भए पनि स्वास्थ्य लाभ मिल्ने विश्वास व्यक्त गर्दै वडावासीहरूको राय, सुझाव, सल्लाहअनुसार विकास निर्माण कार्यहरू अघि बढिरहेको छ भन्नुभयो ।
कार्यक्रममा समाजसेवी गोपीकृष्ण चाँगुभारी, स्वयम्सेवीहरू रमिला दिस्ती र सानुमैयाँ बजिकोँले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।
शिविरमा ख्वप अस्पताल भक्तपुरका निमित्त कार्यकारी निर्देशक डा. मजेशप्रताप मल्ललगायत विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *