भर्खरै :

आदर्श आजाद माविको आयोजनामा दौड प्रतियोगिता

आदर्श आजाद माविको आयोजनामा दौड प्रतियोगिता

भक्तपुर, २३ कार्तिक । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्यतालिकाअन्तर्गत शुक्रबार आदर्श आजाद माविको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भयो ।
छात्र १५०० मि.को दौड प्रतियोगितामा ज्योति माविका रोशन श्रेष्ठ प्रथम, समाज सुधार माविका प्रवेश प्रजा दोस्रो र जोरपाटी माविका राजकुमार विक तेस्रो हुन सफल भएका थिए ।
छात्रातर्फ १००० मि.को दौडमा गणेश मावि सिपाडोलकी सुस्मा खड्का प्रथम, वागीश्वरी माविकी दिया लाखाजु दोस्रो र तारा माविकी पृतिका श्रेष्ठ तृतीय भएकी थिइन् ।
सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिअन्तर्गत रहेका १७ वटा विद्यालयको शैक्षिक उन्नयनका लागि वार्षिक कार्यक्रमहरू तर्जुमा गरी विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यसैक्रममा आज भएको दौड प्रतियोगिताका विजयी खेलाडीहरूलाई शुक्रबारै आदर्श आजाद माविको सभाहलमा पुरस्कार वितरण भयो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले विजयी तथा सहभागी विद्यालय र खेलाडीहरूलाई प्रमाणपत्र एवं मेडल वितरण गर्दै विद्यालयभित्र हुने खेल गतिविधिलाई बाहिर ल्याएर आदर्श आजाद माविले २०७५ सालपछि पहिलोपटक दौड प्रतियोगिता आयोजना गरी १७ वटा सार्वजनिक माविको एकतालाई प्रस्तुत गरेकोमा विद्यालयलाई धन्यवादज्ञापन गर्नुभयो । उहाँले विद्यार्थीहरूको चौतर्फी विकासको लागि विद्यार्थीहरूलाई दुव्र्यसनिबाट जोगाउन पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक विद्यालयका प्रधानाध्यापक एवं कार्यक्रमका सभापति श्रीकृष्ण किसीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थल बनाउन शिक्षक, अभिभावक र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिकमात्र नभई बौद्धिक, स्वास्थ्य, अनुशासनसँगै विद्यार्थीहरूमा रहेको प्रतिभा र सीपको विकास एवं शैक्षिक उन्नयन पनि हुने बताउनुभयो । खेलकुदमा लागेपछि विद्यार्थीको पढाइ बिग्रिन्छ भन्ने मानसिकतालाई हटाएर खेल क्षेत्रमा लागेका विद्यार्थीहरू थप अनुशासित र जिम्मेवार एवं शैक्षिक क्षेत्रमा पनि उत्कृष्ट हुने भएकाले विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा पनि सक्रिय बनाउनुपर्नेमा प्रधानाध्यापक किसीले जोड दिनुभयो ।
गणेश मावि छालिङका प्रधानाध्यापक इन्द्रबहादुर फोजूले संयुक्त परीक्षा समितिले नियमित गतिविधिहरू आयोजना गर्दै आउने क्रममा मङ्सिरमा गणेश मावि छालिङले गणित र विज्ञानसम्बन्धी शैक्षिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको उल्लेख गर्दै खेलकुदले विद्यार्थीहरूलाई सामाजिकीकरण गर्न तथा अनुशासित बनाउने बताउनुभयो ।
ज्योति माविका प्रअ मिलन कायष्ठले प्रतियोगिता प्रतिस्पर्धा गर्नका लागि मात्र नभई आफ्नो क्षमता र सीप विकास एवं प्रदर्शनीको लागि पनि भएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आदर्श आजाद माविका सहायक प्रधानाध्यापक चक्रबहादुर चाकतुले खेलकुद आत्मरक्षा र देश सुरक्षाको लागि पनि आवश्यक भएकोले विद्यालयस्तरमा खेलकुद गतविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्लस टु इन्चार्ज शिक्षक राकेश सुकुपायोले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा शिक्षक विमल प्रधानले पनि बोल्नुभयो । विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण किसीले रिवन काटेर उद्घाटन गर्नुभएको सो प्रतियोगितामा संयुक्त परीक्षा समितिअन्तर्गत रहेका १७ वटा विद्यालयका ३४ जना विद्यार्थीहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *