भर्खरै :

पार्टी प्रकाशनहरूको अध्ययन गोष्ठी, छलफल र अन्तरक्रियामा जोड दिनुपर्ने

भक्तपुर, २५ कार्तिक । नेमकिपा ४ वडा समितिको आयोजनामा नेमकिपाका अध्यक्ष रोहितद्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राजनीतिक र सांस्कृतिकरूपमा सचेत र सङ्गठित हुन पार्टी प्रकाशनहरूको अध्ययन गोष्ठी, छलफल र अन्तरक्रियामा जोड दिँदै आत्मनिर्भरता कुनै नारा नभई व्यवहार भएको पुष्टि गर्नुभयो ।
पार्टी प्रकाशनको अध्ययनले पार्टीको विचार, पार्टीले लिएको लाइन स्पष्ट बुझ्न सकिने बताउँदै उहाँले नयाँ पुस्तालाई वैचारिकरूपमा सक्षम तुल्याउने, व्यक्तिगत स्वार्थभन्दा सामाजिक परिवर्तन र चेतनास्तर अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । चार पाँच दशक लामो समय पार्टीको मुखपत्रको रूपमा ‘श्रमिक’ साप्ताहिक प्रकाशन हुँदै आउनु आफैमा गर्वको विषय भएको चर्चा गर्दै उहाँले पद र प्रतिष्ठाको निम्ति भन्दा समाजको आमूल परिवर्तनको लागि काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । निजीकरण र नवउदारवादले देशको अर्थतन्त्र टाँट पल्टिने स्थितिमा पुगेको र आत्मनिर्भरताको निम्ति चीन, प्रजग कोरिया, क्युवाजस्ता समाजवादी देशहरूले गरेको सङ्घर्षबाट शिक्षा लिई अगाडि बढ्नु आवश्यक रहेको भनाइ पनि उहाँले राख्नुभयो ।
भ.न.पा. ४ वडाका वडाध्यक्ष उपेन्द्र सुवालले हनुमन्ते खोलाको बालुवा झिक्न उपभोक्ता समिति गठन कार्य अगाडि बढाइएको जानकारी गराउँदै आउँदो मङ्सिर २८ देखि सुरु हुने भक्तपुर महोत्सवका लागि नगरका विभिन्न स्थानहरूमा व्यापारिक, सांस्कृतिक, शैक्षिक प्रदर्शनी स्थलहरू रहने बताउनुभयो । नेपाल विश्व व्यापार सङ्गठनमा सदस्य भएलगत्तै नेपाल सरकारको स्वामित्वमा रहेको २६ वटा उद्योग कारखानाहरू निजीकरण गरिएको कारण नेपालको अर्थत्रन्त्र परनिर्भर हुन पुगेको तथ्य प्रस्तुत गर्नुभयो ।
नेमकिपा ४ वडा समितिका अध्यक्ष पशुपति प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा इन्दिरा हाकुदुवाल, रञ्जना सुवाल, प्रभा प्रजापति, तुल्सीराम सुवाल, शम्भुराम प्रजापतिलगायतले ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तकमा समेटिएका विभिन्न विषयबारे आ–आफ्नो अध्ययनको सार प्रस्तुत गर्नुभयो । आयोजक समितिका सचिव विश्वराम त्वायनाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *