अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपालमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनबारे चर्चा परिचर्चा हुनु सकारात्मक पक्ष हो; चर्चा परिचर्चा हुनु आवश्यक पनि छ । तर, कम्युनिस्ट पार्टी सरकार या सत्तामा गएका दलहरूको मात्र चर्चा गर्नु न्यायोचित हुँदैन । सरकारमा गएका कम्युनिस्ट भनिने पार्टीले गरेको गल्ती या कमजोरीको आधारमा सबै कम्युनिस्ट पार्टीलाई उही आँखाले हेर्नु पनि मनासिब देखिँदैन । उनीहरूले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याएनन्, गरिबी, असमानता हटाउनेतर्फ चासो राखेनन् भनेर देशमा कम्युनिस्ट पार्टीको भविष्य छैन भनेर खोक्नु, फलाक्नु या लेख लेखेर भ्रम फिजाउने काम गर्नुहुँदैन । फेरि कम्युनिस्टको सन्दर्भ कम्युनिस्ट पार्टीको स्थापनाको दिन या अरू त्यस्तै प्रसङ्गमा एक दुई वटा कार्यक्रम गरेर कम्युनिस्ट पार्टी बलियो हुँदैन न त कम्युनिस्ट आन्दोलन नै अघि बढ्छ ?
पुँजीवादी व्यवस्थाको सरकारमा कम्युनिस्ट पार्टीको प्रतिनिधि हुँदैमा त्यो कम्युनिस्ट पार्टीको सरकार हुँदैन । साँच्चै कम्युनिस्टको सरकारले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार काम गरेको छैन; नीति नियम बनाएको छैन भने त्यो कसरी कम्युनिस्ट पार्टीको सरकार हुन्छ ? कति लेखक र बुद्धिजीवीहरूले २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा ‘नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन’ भएको फुके । तर, उसबेला मनमोहन अधिकारीले कम्युनिस्ट पार्टी ट्रेडमार्क भएको बताए । माओवादीको ‘जनयुद्ध’ को बेला आन्तरिक र बाह्य परिस्थिति मिलेको थिएन । तैपनि माओवादीले ‘जनयुद्ध’ छेड्यो । अन्ततः त्यो असफल भयो; बलिदानमा टुङ्गियो या सरकारसामु घुँडा टेकियो । तिनै दलहरू पछि सरकारमा सरिक भए; सरकारी सेवा सुविधामा भुले । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई एक कुनामा थन्काइयो । उनीहरूको यही मूल्याङ्कन गरेर अरू कम्युनिस्ट पार्टीको खिसी उडाउने, भ्रम फैलाउने, अब कम्युनिस्ट पार्टीले केही परिवर्तन गर्दैन भनी भाग्ने, पन्छिने प्रवृत्ति राम्रो होइन । जबकि देशमा आफूलाई कम्युनिस्ट भनिने ठुला दलका नेता, मन्त्री र सांसदहरू कम्युनिस्टकै नाउँ भजेर कम्युनिस्टहरूकै मत लिएर सत्तामा पुगे तर अवसरवादी भएर निस्के । कम्युनिस्ट पार्टीकै बदनाम भयो ।
कम्युनिस्ट भनिने पार्टीले सरकारको नेतृत्व गरेर कम्युनिस्ट पार्टीको मूल्य र मान्यताअनुसार के काम ग¥यो ? कम्युनिस्ट पार्टी बलियो र ठुलो दल बनाउनुपर्छ भनेर कम्युनिस्ट पार्टी मिलेर ठुलो दल बनाएर सरकारमा गएपछि के काम गरेर कम्युनिस्ट पार्टी भनी चिनाएको छ ? कुनै दल कम्युनिस्ट पार्टी हो भनेर चिन्ने आधार सरकारमा जानु या सरकारको नेतृत्व गर्नु होइन । सरकारमा गएको आधारमा ती दललाई कम्युनिस्ट पार्टी भन्नु पनि सही होइन । कुन दल कम्युनिस्ट पार्टी हो या होइन भन्ने आधार पार्टीको सिद्धान्त र विचार हो; सिद्धान्त र विचार व्यवहारमा लागु गर्नु हो । पार्टीको नाउँ माक्र्सवाद–लेनिनवाद राखेर सिद्धान्त र विचार व्यवहारमा लागु गर्दैन भने त्यो दल कसरी कम्युनिस्ट पार्टी हुन्छ ?
हो, देशमा आमूल परिवर्तनको निम्ति समाजवादी क्रान्ति आवश्यक छ । गरिबी, असमानता अन्त्य गर्न, कामको सुनिश्चित गर्न, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउन समाजवादी गणतन्त्र आवश्यक छ । सत्तासीन दलमा सामेल कम्युनिस्ट भनिने दलका नेताहरूले कम्युनिस्ट सिद्धान्त र विचार छोडेर कम्युनिस्ट पार्टी अघि बढ्दैन । कम्युनिस्ट पार्टी अघि बढाउँदैन भन्ने निरासावादी विचार कुनै लेखक, बुद्धिजीवी र राजनीतिक विश्लेषकहरूलाई सुहाउँदैन । सत्तासीन कम्युनिस्टहरूमा क्रान्तिकारी भावनामा ठेस लागेको हो । उनीहरू संशोधनवादी र अवसरवादी भए । उनीहरूको पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद कागजमा मात्र सीमित भयो । २०६४ सालको निर्वाचनमा सबैभन्दा बढी सांसद जितेको दल माओवादी क्रान्तिकारी बाटो छोडेकै कारण पछि तेस्रो दल बन्यो । ठुलो दल बनेको माओवादी अर्को निर्वाचनमा कसरी तेस्रो दल बन्यो ? बेलाबखत कम्युनिस्ट भनिने दलमा पार्टी एकता भए पनि लामो समयसम्म टिकेन । एकता भएको दल पनि सत्ता र पदको हानथापको कारण फेरि टुक्रियो । तिनै कम्युनिस्ट पार्टीहरूले विस्तारवादी भारत र साम्राज्यवादी देश अमेरिकालाई खुसी पार्न एमसीसी सम्झौता पारित गरे; नागरिकता विधेयक पारित गरे । हो, यसले कम्युनिस्ट आन्दोलनमा धक्का पु¥यायो, देश र कम्युनिस्ट पार्टीकै बदनाम गरायो । यसको शिक्षा सबैले लिनुपर्छ । देशका सबै कम्युनिस्ट पार्टी सत्तामुखी राजनीतिमा लागेका छैनन्; सिद्धान्त र विचार छोडेका छैनन् । यहाँका श्रमजीवी जनता कम्युनिस्ट पार्टीप्रति प्रभावित छन् । अतः कम्युनिस्ट पार्टीको भविष्य अनिश्चित छ भन्नु दृष्टिदोषमात्र हो ।
Leave a Reply