भर्खरै :

“कामदारवर्गको हितको निम्ति क्रान्ति जरुरी छ”

“कामदारवर्गको हितको निम्ति क्रान्ति जरुरी छ”

भक्तपुर, २७ कार्तिक । नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समिति भक्तपुरको आयोजनामा मङ्गलबार अक्टोबर क्रान्ति दिवसको अवसरमा महिला कार्यकर्ता भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले क्रान्तिको अर्थ खराब बन्दोबस्तलाई उल्टाउनु र असल बन्दोबस्त ल्याउनु हो; सोभियत सङ्घमा लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिले राजा महाराजा र सामन्तहरूको शासन फालेर कामदारवर्गको समाजवादी व्यवस्था स्थापना गरेको हो भन्नुभयो ।
क्रान्तिपछि सोभियत सङ्घले देशलाई १८ वर्षमा संसारको दोस्रो अर्थतन्त्रमा पु¥याएर सन् १९६१ मा भूउपग्रह अन्तरिक्षमा पठाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “क्रान्तिले छिटो परिवर्तन ल्याउँछ भने सुधार ढिलो हुन्छ । कामदारवर्गको हितको निम्ति क्रान्ति नै जरुरी छ । मानव समाजको विकास अध्ययन गर्दा विवाह परिवार, व्यक्तिगत सम्पत्तिसँगै वर्ग विभाजन भएको हो । अक्टोबर क्रान्तिले उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण ग¥यो ।”
क्रान्तिविरोधीहरूले क्रान्तिकारी नेताहरूको हत्यासमेत गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अक्टोबर क्रान्तिको नेतृत्व गर्ने नेता लेनिनको हत्या गरियो भने अर्का नेता स्तालिनलाई मन्द विष प्रयोग गरी हत्या गरियो ।”
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) विरुद्ध भारत प्रवासको बेला गोरखपुरमा पार्टीभित्र घुसेका प्रतिक्रियावादीहरूले गोली प्रहार गरी हत्या प्रयास गरेको स्पष्ट पार्दै उहाँले नेपालमा पनि पञ्चायती निर्दलीय सरकारले झूटा ज्यान मुद्दा लगाई फासीको माग गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू त्याग, तपस्या र बलिदानको भावनासहित अघि बढ्नु आवश्यक छ । अन्तर्राष्ट्रिय विषय अध्ययन गर्ने एउटा विश्वविद्यालयको रूपमा पार्टीलाई स्वीकार गरी कार्यकर्ताहरू अघि बढ्नु जरुरी छ । कार्यकर्ताहरूले पार्टी प्रकाशनको नियमित अध्ययन र अन्तरक्रिया गरी राजनीतिक र सांस्कृतिक स्तरलाई माथि उठाउनु जरुरी छ ।”
“पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यकामा आक्रमणयता राजनीतिक, सांस्कृतिक र भौतिक विकासमा नेपाल पछि प¥यो । जङ्गबहादुर कुवँरले सुरु गरेको राणा शासनको १०४ वर्षले नेपाल अन्धकार युगमा प¥यो । ३० वर्षको पञ्चायती निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेका नेका र एमाले २०४६ सालमा बहुदल पुनःस्थापनायता पालैपालो सरकारमा गएर भारतीय एकाधिकार पुँजीको सेवा गर्दै छन् ।”, उहाँले भन्नुभयो ।
“एमाले र माओवादी नक्कली कम्युनिस्ट भए । नेकाले एमाले र माओवादीको गलत कामबाट फाइदा लिएर जनतामाथि शासन गर्दै छ । यो यथार्थबारे नेपाली जनतालाई शिक्षित र सचेत बनाउनु आजको आवश्यकता हो ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सृजना सैंजू, नेक्रामसङ्घ नगर समिति भक्तपुरका अध्यक्ष रामेश्वरी कोजु र मञ्जु लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *