भर्खरै :

भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्नु आवश्यक

जीवित सङ्ग्रहालयको रूपमा परिचित भक्तपुर नगरमा भक्तपुर महोत्सव हुने भएको छ । यो महोत्सव आगामी मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर नगरपालिकाको आयोजनामा हुनेछ । देश विदेशसम्म भक्तपुरलाई चिनाउने यो महोत्सव भक्तपुरवासीहरूको उत्सव हुनेछ । यहाँका सर्वसाधारणदेखि विभिन्न उद्योग, व्यवसायमा कार्यरत जिल्लावासीहरू यस महोत्सवमा सक्रिय हुनेछन् या परिचालित हुनेछन् । यहाँका मौलिक उत्पादन, परम्परागत नाचगान, सम्पदा, भेषभूषासमेत प्रदर्शन हुने भक्तपुर महोत्सव आन्तरिक र बाह्य पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्ने छ । यसले महोत्सव अवधिमा मात्र होइन पछि पनि यात्रुहरू आइरहने वातावरण बन्ने छ ।
भक्तपुर नगरपालिकाले यो महोत्सवमा नगरका सबै वडालाई परिचालन गर्ने ध्येयले कार्यक्रम तय गरेको छ । हरेक वडामा हुने कार्यक्रम या गतिविधिबाट स्थानीय जनता, उद्योग व्यवसायीमात्र होइन बाह्य र आन्तरिक पर्यटकहरूको पनि ध्यान खिच्ने विश्वास गरिएको छ । महोत्सव अवलोकनबाट सिकेर, ऊर्जा लिएर आ–आफ्नो गाउँ, नगर र जिल्लामा पनि आफ्नो ठाउँ अनुकूलको महोत्सव गर्न अवसर मिल्नेछ । यस हिसाबले भक्तपुर महोत्सव अरूको निम्ति सिक्ने या महोत्सव गर्न ऊर्जा मिल्ने आकलन गर्न सकिन्छ । आ–आफ्नो कला, सीप र उत्पादनको प्रदर्शन हुने यो महोत्सव सबैको ध्यान खिच्ने, सबैको हित हुने साझा महोत्सव हुने विश्वास भनपाको रहेको छ ।
महोत्सव सफल पार्न यहाँका किसान, मजदुर, युवा, विद्यार्थी, शिक्षक, महिला, व्यापारी, व्यवसायी, उद्योगी, बुद्धिजीवी, लेखक, कलाकार, साहित्यकार, सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, राजनीतिक कार्यकर्ताले आ–आफ्नो स्थानबाट, आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ, साथ दिनुपर्छ र महोत्सव सफल पार्नुपर्छ । विश्व सम्पदामा सूचिकृत भक्तपुर दरबार क्षेत्र, टौमढीलगायत यहाँका सम्पदा र संस्कृतिलाई जीवन्तता कायम गर्न महोत्सवले सहयोग पु¥याउनेछ । यहाँका संरक्षित मौलिक सम्पदा, कला, संस्कृति, मठ, मन्दिर, सत्तल, पाटी, पोखरी, इनार, ढुङ्गेधारा, द्वार, मौलिक शैलीको घर आदिको आधारमा सरकार र पुरातात्विक विभागले सांस्कृतिक नगर घोषणा गर्नुपर्ने हो । तर, अहिलेसम्म भएको छैन ।
मौलिक कला कृतिले भरिएको सम्पदास्थल भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्न भनपा र नेमकिपाले पनि उहिल्यै सरकारको ध्यानाकर्षण गरेका थिए । तर, यसतर्फ सरकारको ध्यान गएन । सम्पदालाई जीवन्तता कायम गर्न सरकार आफैले विवेक पु¥याएर भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्नुपर्ने हो; सम्पदा जोगाउन संस्कृति मन्त्रालय र पुरातात्विक विभागले आवश्यक स्रोत र साधन या काठ, आर्थिक सहयोग गर्नुपर्ने हो । सम्पदा जोगाउनु संस्कृति मन्त्रालय र पुरातात्विक विभागको जिम्मेवारी हो । सरकार आफू पनि सोचेर काम गर्दैन; अरूले घच्घच्याउँदा पनि वास्ता गर्दैन । हरेक क्षेत्रमा नेपाल पछि पर्नुको कारण शासकहरू दूरदर्शी नहुनु हो; देशलाई अगाडि बढाउने दृष्टिकोण नहुनु हो ।
सम्पदा, कला, संस्कृतिकै कारण यहाँ बाह्य र आन्तरिक पर्यटकहरू आइरहेका हुन् । भक्तपुर पर्यटकहरूको आगमनको केन्द्र बन्दै छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले भक्तपुरको आर्थिक अनुशासन र पारदर्शिताको मूल्याड्ढन गरेर भक्तपुर नगरपालिकालाई ‘सदाचारको टापु’ ले विभूषित गरेको थियो । लेखक ई.ए. पावेलले भक्तपुर नगरको तुलना आधा विश्वसँग गरेका थिए । युनेस्कोले सन् १९७९ मा भक्तपुरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो । भक्तपुर नपाले सम्पदालाई जीवन्तता दिन संरक्षण, जीर्णोद्धार, मर्मत तथा पुनःनिर्माण गरिरहेको छ । मौलिक शैलीमा निर्माण गर्ने घरधनीलाई आर्थिक सहयोग गरिरहेको छ । यसरी ऐतिहासिक र सांस्कृतिक केन्द्रको रूपमा परिचित भक्तपुर नगरलाई यथाशक्य चाँडो ‘सांस्कृतिक नगर’ घोषणा गर्न सरकारले पहल गर्नुपर्छ ।
हरेक दृष्टिकोणले भक्तपुर अगाडि छ । शिक्षा, स्वास्थ्यको सेवामा भनपा अगाडि छ । यहाँका जनता विकास कार्यमा जनश्रमदान गर्छन्; आर्थिक सहयोग गर्छन् । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारालाई व्यवहारमा उपयोग गर्न नपा लागिपरेको छ । यसरी मौलिक सम्पदा सुरक्षित भएको सहरलाई सांस्कृतिक नगर घोषणा हुने जनताको विश्वास हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *