भर्खरै :

युद्धपिपासुले भरिँदै छ ट्रम्प सरकार

युद्धपिपासुले भरिँदै छ ट्रम्प सरकार

डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीका सांसद माइक वाल्जलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउँदै छन् । अघिल्लो कार्यकालमा ट्रम्पले चरम युद्धपिपासु जोन बोल्टनलाई सो पदमा राखेका थिए ।
बोल्टनजस्तै वाल्ज पनि सन्काहा युद्धपिपासु नै हुन् । वाल्जको नियुक्तिको घोषणापछि उनको बौलाहा युद्ध उन्मादको उदाहरण दिँदै पत्रकार माइकल ट्रेसीले धेरै ट्वीट गरिसकेका छन् । रुसी भूभागको भित्रैसम्म हमला गर्नका लागि युक्रेनलाई अमेरिकी हतियार प्रयोग गर्न दिनुपर्ने पक्षमा वाल्जले बोलेका थिए । युक्रेनमा युद्धलाई आक्रामक नबनाएकोमा वाल्जले राष्ट्रपति बाइडेनको खेदो खनेका थिए । उनले इरानमाथि बमबारी गर्नुपर्ने आवाज उठाएका थिए । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लगेकोमा उनले विरोध जनाएका थिए । इरान, उत्तर कोरिया, चीन, रुस र भेनेजुयलालाई उनले विश्वव्यापी द्वन्द्व भड्काउनका लागि अमेरिकाविरुद्ध ‘निहुँ झिक्ने दिशामा लम्किरहेको’ आरोप लगाएका थिए । अमेरिकाका मूलधारे मिडियाले वाल्जलाई ‘चरम चीनविरोधी’ भनिरहेका छन् । वास्तविकता भने अलि फरक छ । उनको विगत केलाउँदा उनी अमेरिकाका सम्पूर्ण ‘आधिकारिक’ शत्रुहरूविरुद्ध युद्ध गरिरहनुपर्ने विचारका मतियार देखिन्छन् ।
ट्रम्पले रिपब्लिकन पार्टीका सांसद एलिजे स्टेफानिकलाई संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत नियुक्त गर्ने बताएका छन् । ट्रम्पको अघिल्लो कार्यकालमा युद्धपिपासु निक्की हेली सो पदमा थिइन् । फेरि पनि पुरानो युद्धपिपासुको ठाउँमा नयाँ युद्धपिपासुलाई ल्याउनेबाहेक कुनै हेरफेर आएन ।
स्टेफानिक अमेरिकी क्याम्पसहरूमा वाक् स्वतन्त्रताको घाँटी अँठ्याउने काममा संसद्मा अत्यन्त सक्रिय रहँदै आएकी छिन् । जब कि ट्रम्पको बोलीमा लोली मिलाउँदै उनले अमेरिकी कानुन प्रथम संशोधनले प्रदान गरेका हकअधिकारको पक्ष पनि लिने गरेकी छिन् । युद्धविरोधी अभियन्ता डेभ डिक्याम्पका अनुसार स्टेफानिक युद्धउन्मादी राक्षस हुन् । वासिङटनको सबैभन्दा चरम अनुदार विज्ञ समूहबाट उनको राजनीतिले उचाइ लिएको थियो । इजरायललाई सैन्य सहयोग दिने काममा अमेरिकाले कुनै किसिमको सीमा राख्न नहुने उनले बताउँदै आएकी छिन् । यो वर्षको आरम्भमा स्टेफानिक इजरायल भ्रमण गएकी थिइन् । इजरायली संसद् क्नेसेटमा मन्तव्य राख्दै उनले अमेरिकी विश्वविद्यालयहरूमा इजरायलको जातिसंहारक अत्याचारविरुद्ध आवाज उठाइरहेका ‘यहुदीविरोधी’ प्रदर्शनकारीहरूलाई रोक्ने वचन दिएकी थिइन् ।
आमसञ्चारभरि अर्का युद्धपिपासु मार्को रुबियोलाई ट्रम्पका नयाँ विदेशमन्त्री बनाइने समाचार आइरहेको छ । अमेरिकाको सर्वोच्च कूटनीतिज्ञको भूमिकामा एक युद्धउन्मादी छाडा व्यक्तिलाई राखिने कुरा कल्पनातीत छ । आफ्नो राजनीतिक जीवनभरि रुबियोले एकपछि अर्को युद्ध, नाकाबन्दी र हत्याकाण्डको पक्षमा वकालत गर्दै आएका छन् ।
यति चर्चा गरेपछि आफूले निर्वाचित गरेको ‘मान्छे’ ले युद्ध टुङ्ग्याउनेछ र आफ्नो जीवनस्तर उकास्नेछ भनी आशा लिएका ट्रम्पका समर्थकको शिर निहुरेको होला । ट्रम्पले यसपालि इरानविरुद्ध युद्धको हुँकार गर्ने ब्रायन हुकलाई आफ्नो विदेश मन्त्रालयको सहयोगी टोलीमा नियुक्त गरेका छन् । त्यस्तै उनले युद्धपिपासु माइक रोजर्सलाई रक्षामन्त्री नियुक्त गर्न सक्ने चर्चा छ । त्यस्तै, चरम चीनविरोधी मानिने एल्ब्रिज कोल्बेलाई पनि ट्रम्प सरकारमा राखिने विश्लेषक टुकर कार्लसनको दाबी छ । यी सबै राम्रा लक्षण होइनन् ।
ट्रम्पले माइक पोम्पेओ र निक्की हेलीलाई आफ्नो पछिल्लो राष्ट्रपतीय कार्यकालमा कुनै भूमिका नदिने अनपेक्षित घोषणा गरेका छन् । यस निर्णयलाई उनका युद्धविरोधी समर्थकहरूले स्वागत गरेका छन् । यो घोषणामाथि ट्वीट गर्दै कलाकार तथा पोडकास्टर डेभ स्मीथले पोम्पेओलाई रोक्नु नै पुगीसरि नहुने बताए । उनले लेखे, “सबैखाले युद्धपिपासु र नवरुढीवादीहरूलाई ट्रम्प सरकारबाहिर राख्नका लागि अधिकतम दबाबको खाँचो छ ।” स्मीथको पोस्टमा टिप्पणी गर्दै डोनाल्ड ट्रम्पले ट्वीट गरे, “सहमत छु !!! म त्यही दिशामा काम गर्दै छु ।”
यो टिप्पणी पढेपछि मैले लेखेँ, “यिनका शब्दहरूमा ध्यान नदिऔँ बरु यिनको काम हेरौँ । वर्षौँदेखि यही भन्दै आएकी छु र पछि पनि यही भनिरहनेछु । यिनको बोली होइन, व्यवहार हेरौँ । यिनको बोली निकै हलुका हुन्छ ।”
अमेरिकी नेताहरूको बोलीले भन्दा कामले यतिबेला धेरै कुरा भनिरहेको छ ।

– ‘एमआर अनलाइन’ बाट
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *