भर्खरै :

अमेरिका र चीनका राष्ट्रपतिबिच हुने भेटवार्ता र यसको महत्व

अमेरिका र चीनका राष्ट्रपतिबिच हुने भेटवार्ता र यसको महत्व

काठमाडौँ, १५ नोभेम्बर (रासस) । एसिया–प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलन शुक्रबारदेखि लिमामा सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङले अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको चुनावी विजयका कारण उत्पन्न कूटनीतिक अनिश्चितताबिच लिमामा शनिबार प्रत्यक्ष भेतवार्ता गर्नुहुनेछ ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहको दुई दिने राष्ट्रप्रमुखस्तरीय बैठकका लागि सी र बाइडेन विश्वका अन्य नेताका साथ बिहीबार लिमा आइपुगेका हुन् ।
संयुक्तरूपमा विश्वको कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत र विश्वव्यापी वाणिज्यको ४० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने र क्षेत्रीय व्यापार उदारीकरणको लक्ष्यका साथ सन् १९८९ मा स्थापना भएको एपेकले २१ वटा अर्थतन्त्रलाई गोलबन्द गरेको छ ।
समर्थकहरूले समावेशी विकासको संज्ञा दिएका शिखर सम्मेलनको कार्यक्रम व्यापार र लगानीमा केन्द्रित हुनेछ ।
पेरुले लिमामा शान्ति कायम गर्न सशस्त्र बलका १३ हजारभन्दा बढी सदस्यहरू तैनाथ गरेको छ किनकि यही समय पारी यातायात मजदुर र व्यवसायीहरूले अपराध र कथित सरकारी उपेक्षाको विरोधमा तीन दिनको विरोध प्रदर्शन सुरु गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेन र उहाँका चिनियाँ समकक्षी सीबिचको शनिबार हुन लागेको वार्ता जनवरीमा ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुअघि विश्वका सबैभन्दा ठुला अर्थतन्त्रका शीर्ष नेताहरूबिच हुने सम्भवतः अन्तिम भेट हुने अमेरिकी अधिकारीले बताएका छन् ।
रिपब्लिकन पार्टीका नवनिर्वाचित राष्ट्रपतिले आफ्नो दोस्रो कार्यकालका लागि पेइचिङसँग टकरावको दृष्टिकोण अपनाउने सङ्केत गरेकाले द्विपक्षीय बैठकलाई विशेष महत्वका साथ नियालिएको छ ।
अजरबैजानमा जारी कोप–२९ जलवायु वार्ता र अर्को साता रियो दि जेनेरियोमा हुने जी–२० शिखर सम्मेलनका लागि जस्तै ट्रम्पको आगामी कदमबारे देखिएको अनिश्चितताले एजेन्डालाई ओझेलमा पारेको छ ।
बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत एपेकका मन्त्रीहरूले लिमामा बन्द कोठामा बैठक गरेका थिए ।
ट्रम्पले यसै साता ब्लिन्केनको स्थानमा सिनेटर मार्को रुबियोलाई नियुक्त गर्ने घोषणा गरिसकेका छन् । उनी चीनप्रति कडा धारणा राख्ने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पका विश्वासपात्र भएका छन् । सम्मेलनमा जापान, दक्षिण कोरिया, क्यानडा, अस्ट्रेलिया, इन्डोनेसियालगायतको सहभागिता रहने छ ।
एपेक सदस्य राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भने सम्मेलनमा उपस्थित हुनुहुने छैन ।
अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको ‘अमेरिका पहिले’ भन्ने एजेन्डा संरक्षणवादी व्यापार नीतिहरू, घरेलु जीवाश्म ईन्धन निकासीमा वृद्धि, र विदेशी सङ्घर्षबाट बच्नमा आधारित छ ।
यसले युक्रेन र मध्यपूर्वमा भएको युद्धदेखि जलवायु परिवर्तन र व्यापारसम्मका विषयमा बाइडेनले बनाएको गठबन्धनलाई खतरामा पारेको छ ।
नवनिर्वाचित रिपब्लिकन राष्ट्रपति ट्रम्पले द्विपक्षीय व्यापारमा असन्तुलनलाई कम गर्न चिनियाँ सामानको आयातमा ६० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन् ।
चीन लामो समयदेखिको घरजग्गा कारोबार सङ्कट र सुस्त उपभोगसँग जुधिरहेको छ । यसलाई वासिङ्टनसँगको नयाँ व्यापार युद्धले अझ खराब बनाउन सक्छ ।
अर्थशास्त्रीहरूले दण्डात्मक करले अमेरिकी अर्थतन्त्रलाई पनि हानि पु¥याउने बताएका छन् ।
चीन रुस र उत्तर कोरियाको सहयोगी हो र ताइवानमाथि दबाब बढाउँदै आफ्नो सैन्य क्षमता बढाइरहेको छ ।
यसले आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत पूर्वाधार र अन्य परियोजनाहरूमार्फत ल्याटिन अमेरिकामा आफ्नो पहुँच विस्तार गरिरहेको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार लिमाको उत्तरमा पर्ने चान्केमा दक्षिण अमेरिकाको पहिलो चिनियाँ लगानीमा सञ्चालित बन्दरगाहको उद्घाटन गर्नुभएको छ भने यसै सन्दर्भमा अमेरिकी अधिकारीले ल्याटिन अमेरिकी देशहरूलाई चिनियाँ लगानीको मामिलामा सतर्क रहन चेतावनी दिएका छन् ।
ट्रम्पको आर्थिक वृद्धि गर्ने नीतिको तारो बन्ने चीन एक्लो देश भने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *