भर्खरै :

राजनीतिमा लाग्नु गलत होइन

सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था हो । यो व्यवस्थाको नेतृत्व पुँजीपति वर्गले गरिरहेको छ । जुन वर्गको दलले सरकारको नेतृत्व गरिरहेको छ; त्यही वर्गका जनताको सेवा गर्छ । पुँजीपतिवर्गको सरकारले श्रमजीवीवर्गको प्रतिनिधित्व गर्दैन; श्रमजीवी वर्गको सेवा गर्दैन । नेकाका एक युवा नेताले नेकाले गरिबहरूको सेवा गर्दैन भनेका थिए । श्रमजीवीवर्गको जनताको मत लिएर श्रमजीवी वर्गमाथि शोषण र शासन गर्ने दल या त सामन्तवर्गको हुन्थ्यो या त पुँजीपतिवर्गको हुन्थ्यो । विगतमा संयुक्त जनआन्दोलनले सामन्तवादी व्यवस्था फाले पनि त्यसको छाप या अवशेष अन्त्य भएको छैन । अन्त्य गर्नेतर्फ सरकारले पहल गरेको देखिँदैन ।
राजनीति गर्नु र राजनीतिमा लाग्नु गलत होइन । तर, राजनीति सही ढङ्गले गर्नुपर्छ । राजनीतिलाई दुरूपयोग गरेको हुँदा दलप्रति जनताको विश्वास गुम्दै गएको हो । राजनीतिप्रति वितृष्णा उत्पन्न भएको हो । राजनीतिले देश र समाजलाई दिशानिर्देश गर्ने हो । सरकारले दिशानिर्देश गर्न नसक्दा देशमा अन्योल छाएको हो; सरकार अस्थिर भएको हो; विकासको गति चिप्लेकीराको गतिमा सीमित भएको हो । राजनीति राणा र राजाको शासन कालमा पनि भएको थियो । त्यसबेलाको राजनीति निरङ्कुश थियो, हुकुमी शासन थियो । सर्वसाधारण जनताले राजनीति गर्न पाउँदैनथे । राजनीति गरेमा पक्राउ पथ्र्यो, शारीरिक यातना र मानसिक यातना खेप्नुपथ्र्यो; मुद्दा खेप्नुपथ्र्यो, जेल जानुपथ्र्यो र ज्यान सजायसमेत हुन्थ्यो । अहिले हरेक दलले राजनीति गर्ने अवसर पाए । तर, शासक दलहरूको राजनीति सही भएन; सही ढङ्गले राजनीति भए । राजनीतिलाई कमाउ खाने धन्दा बनाइयो । राजनीतिलाई दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाइयो । शासकहरूले राजनीतिक संस्कार भुले । यसको कारण सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू अनेक काण्डमा फसे; भ्रष्टाचार, अनियमितता र आपराधिक क्रियाकलापमा फसे । अनि मानिसले भन्न थाले, ‘जति जोगी आए पनि कानै चिरेको ।’ शासकहरू गलत बाटोमा लागे या सिद्धान्त र विचार छोडेर सत्तामुखी राजनीतिमा भुले । यसले समाजमा अराजनीतिक र अवाञ्छित गतिविधि हुन्छ; बेथिति बढ्छ; विकृति र विसङ्गतिले ठाउँ पाउँछ ।
देशको आवश्यकता शोषणरहित समाज स्थापना गर्नु हो; यो जनताको चाहना हो । शोषणरहित समाज सङ्घीय लोकतान्त्रिक गणतन्त्रले स्थापना गर्दैन । बरु शोषण गर्ने नीति बनाउँछ; बहुमत जनताको हितमा होइन अल्पमतवर्गको हितमा ऐन कानुन बनाउँछ । विगतमा शेरबहादुर देउवाको पालामा मोही कायम नगर्दै द्वैधस्वामित्वको अन्त्य गरियो । यो किसानहरूको अहितमा गरिएको निर्णय हो । शासकहरूमा देखिएको दास मनोवृत्तिले पनि देशको विकास नभएको हो; माग्ने प्रवृत्तिले गर्दा देश विकास कसरी गर्ने भन्नेतर्फ तर्क वितर्क नभएको हो; चिन्तनमनन नभएको हो । यस्ता प्रवृत्ति शोषक, सामन्त, जमिनदार, पुँजीपति र जालीफटाहाहरूमा मात्र देखिएको होइन कम्युनिस्ट भनिने शासक दलका नेताहरूमा पनि देखियो । यसले कम्युनिस्ट पार्टीको बदनाम भयो; कम्युनिस्ट आन्दोलनमा धक्का पु¥यायो । त्यसको अर्थ सबै कम्युनिस्ट पार्टीहरू बिग्रिएका होइनन्; बिग्रिएका छैनन् । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार राजनीति गर्ने, नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने दलहरू पनि छन् । कम्युनिस्ट पार्टीमा देखिएका खोटो विचारको खण्डन गर्दै सच्चा कम्युनिस्ट बनाउनेतर्फ खबरदारी गरिरहेको हामीले भुल्नुहुँदैन ।
इमानदारीपूर्वक काम गरिरहेको पार्टीमा जनता लाग्नुपर्छ । त्यस्तो पार्टीले जनतालाई धोका दिँदैन; विश्वासघात गर्दैन; जनतामाझ गरिएको प्रतिबद्धताअनुसार काम गर्छ; झूटको खेती गर्दैन । पैसा बाँडेर, लोभलालच देखाएर राजनीति गर्दैन । राजनीति देश र जनताको सेवा गर्न हो; सेवा गर्न उत्प्रेरित गर्ने हो । यसको लागि कम्युनिस्ट नेता तथा कार्यकर्ताले जनतालाई तयार गर्ने हो; सचेत पार्ने हो, सङ्गठित गर्ने हो; सिद्धान्तनिष्ठ बनाउने हो । सङ्कीर्ण, साम्प्रदायिक र जातिगत राजनीतिमा लाग्नु हुँदैन । देश विखण्डन गर्ने, विखण्डन हुने खालको काममा फस्नु र फसाउनु हुँदैन । यस्ता देशविरोधी र जनविरोधी कार्यको सचेत र देशभक्त जनताले सधैँ निन्दा गर्नुपर्छ; जनतामाझ छ्यास्नुपर्छ । यो प्रत्येक सच्चा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूको दायित्व हो† त्यो दायित्व सबैले बहन गर्नुपर्छ । राजनीतिप्रति वितृष्णा जगाउने, राजनीतिको बदनाम गर्ने दलका नेता तथा कार्यकर्ताहरू चिन्नुपर्छ; चिनेर जनतामाझ उदाङ्ग्याउनुपर्छ ताकि उनीहरूले जनतालाई झूटको खेती गरेर, भ्रममा पारेर झुक्याउने काम नगरून् । यतातर्फ सबै दलहरूको ध्यान पुग्नुपर्छ; विगतको कमी कमजोरी सच्याएर अघि बढ्नुपर्छ । यसैमा देश र जनताको भलो रहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *