जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
ललितपुर, ३ मङ्सिर । नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समिति, ललितपुुरको आयोजनामा ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको अन्तरक्रिया कार्यक्रम सुनिता महर्जनको सभापतित्वमा शनिबार थसीमा भयो ।
कार्यक्रममा नेमकिपा ललितपुर जिल्ला समिति सदस्य महन्त महर्जनले गरिब देश नेपालमा देशका पुँजीवादी दल नेका, एमालेले नवउदारवादी नीति अँगालेर नेपालमा पँुजीवादी देशको इसारामा देशभित्रका उद्योग निजीकरण, शिक्षा र स्वास्थ्य सेवा निजी क्षेत्रलाई प्राथमिकता दिएर देशमा सस्तो ज्यामीको रूपमा वैदेशिक रोजगारको नाममा दास र दासी बन्न बाध्य पारेको बताउनुभयो ।
उहाँले राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूले वर्गीय शत्रु र मित्र चिन्नुपर्ने जरुरी भएको बताउँदै समाजवादमा शिक्षा र स्वास्थ्य निःशुल्क हुने, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला हुने, व्यक्तित्व विकासमा समान अवसर पाउने, शोषणको अन्त्य क्रमशः हुने, सबै जनतालाई रोजगारीको सुनिश्चितता हुने, जनताको समस्या पहिचान गरी विभिन्न सहकारी, स्कूल र कलेज स्थापना गरी समाज स्वस्थ, समृद्ध, शिक्षित, संस्कारी र कर्तव्यनिष्ट बनाइन्छ भन्नुभयो ।
नेमकिपा महालक्ष्मीका सदस्य चन्द्रराज महर्जनले समाजवाद स्थापना नभएसम्म कामदारवर्ग वा मजदुर, किसान र सिपाहीहरूको हित नहुने भएको हुँदा कामदार वर्गले पँुजीवादी सरकारको विरोधमा निरन्तर सङ्घर्ष गरी सन् १९१७ मा सोभियत रुसमा समाजवादी क्रान्ति गरेझँै क्रान्ति आवश्यक छ भन्नुुभयो ।
नेमकिपा महालक्ष्मीका सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुर जिल्ला समिति सदस्य रूपना महर्जनले हरेक कम्युनिस्ट नेता र कार्यकर्ताले समाजवादी विचार अँगाल्नुपर्ने, सैद्धान्तिक अडानमा रहेर व्यवहारिक व्यक्ति हुनुपर्ने, गलत नियत राखी काम गर्न नहुने, लोभलालचमा फस्न नहुने, नियमित अध्ययन अन्तरक्रियामा भाग लिने, पार्टीको गतिविधिहरूमा सहभागी बन्ने, गलत र आपराधिक कार्यमा आफू नलाग्ने र अरुलाई पनि लाग्न नदिन प्रेरित गर्नु जरुरी भएको बताउनुभयो ।
नेमकिपा महालक्ष्मीका सदस्य तथा नेपाल क्रान्तिकारी युवा सङ्घ महालक्ष्मीका अध्यक्ष के. एम. महर्जनले सोभियत रुसमा मजदुर, सिपाही र गरिब किसानहरूले कठिनपूर्वक सङ्घर्ष गरी पहिलो समाजवादी देश स्थापना गरी माक्र्सवाद एक व्यवहारिक सिद्धान्त हो भनी प्रमाणित गरेको उल्लेख गर्नुभयो ।
नेमकिपा महालक्ष्मीका सदस्य आशाराम महर्जनले मजदुर, किसान र सिपाहीहरूको सङ्घर्षबाट समाजवादी क्रान्ति गर्न सक्छ भन्ने उदाहरण स्वरुप देखाइएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिकी महर्जन, अनिष महर्जन र एस. श्रेष्ठले वर्तमान समाजवादी देश चीनले गरेको प्रगति, उन्नति, विकास तथा विश्वलाई दिइरहेको सहयोग र सहकार्यले समाजवादी व्यवस्था सर्वाेत्तम व्यवस्था भएको थप प्रमाणित गरेको उल्लेख गर्नुभयो ।
Leave a Reply