बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
नेपाली काङ्ग्रेस र एमाले मिलेर आफूलाई प्रधानमन्त्रीबाट गलहत्याएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्ति छटपटी र आक्रोशपूर्ण देखिन्छ । सत्ताबाट बाहिरिएको चार महिना नाघिसक्दा पनि उनी सत्ताबाट विमुख हुनुपर्दाको कुण्ठा यत्रतत्र पोखिरहेका छन् । अध्यक्ष दाहालले केपी ओली नेतृत्वको नेका–एमाले गठबन्धन सरकार १०० दिन पनि नटिक्ने दाबी गर्दै आएका थिए तर उनको दाबी झूटो साबित भयो । त्यसपछि पनि उनले चाँडै सरकार वा प्रधानमन्त्रीको पद किस्टीमा सजाएर माओवादीको अगाडि राख्न ल्याइने स्थिति चाँडै आउने दाबी पटकपटक गर्दै आएका थिए । तर, त्यस्तो स्थिति देखिएन । अहिले उनले ‘राजनीतिक स्थायित्व र सुशासनका लागि आन्दोलनको विकल्प नरहेको बताउँदै शासकीय स्वरूप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाउने भनिरहेका छन् ।
सत्ताविमुख हुनुपर्दाको कुण्ठाबाट ग्रसित माओवादी केन्द्रका अध्यक्ष दाहालले भारतीय पत्रिका ‘द हिन्दू’सँगको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण ‘चाइना कार्ड’ प्रयोग गर्नेमा केन्द्रित देखिएको गम्भीर आरोप लगाए । अन्तर्वार्तामा प्रचण्डले दिएको सोही अभिव्यक्ति अहिले ठुलो विवादमा तानिएको छ । तीन पटकसम्म प्रधानमन्त्री भइसकेका तथा प्रमुख प्रतिपक्षी दलका नेताले कूटनीतिक मर्यदाविपरीत अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको कूटनीतिज्ञहरूले बताएका छन् । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले प्रचण्डको अभिव्यक्ति दुर्भाग्यपूर्ण भएको बताए । पूर्वप्रधानमन्त्रीले आन्तरिक असन्तुष्टिलाई देखाएर छिमेकीसँगको सम्बन्ध बिगार्न नहुने उनको भनाइ रहेको छ ।
चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा जिम्मेवार दलका अध्यक्षले तल्लो स्तरमा गिरेर अभिव्यक्ति दिन्छन् भन्नेमा आफूलाई विश्वास नलागेको उनले बताए । “प्रचण्ड जस्तो व्यक्तिले त्यो तहमा गिरेर बोल्छन् जस्तो मलाई लागेको थिएन,’ उनले भने । ‘द हिन्दू’ लाई प्रचण्डले दिएको अभिव्यक्ति निकै गम्भीर र तल्लो स्तरको रहेको उनको बुझाइ छ । ‘यो उहाँको भारतसँगको अनुपम सम्बन्धको विचार प्रणालीको सङ्गति हो जस्तो मलाई लाग्छ”, उनले भने । “आन्तरिक रूपमा असहमति जेसुकै भए पनि त्यसरी बाहिर गएर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिनु शोभनीय भएन”, उनले भने ।
नेपाल वा कुनै देशको प्रधानमन्त्रीले पहिले कुन देशको औपचारिक भ्रमण गर्ने भन्ने मुद्दा देशको आवश्यकता वा कूटनीतिक परिस्थितिले पनि निर्धारण गर्ने हो । आफू प्रधानमन्त्री बन्दा दाहाल स्वयम्ले पहिलो भ्रमण चीनको गरी ‘अग्रगामी’ बनेको दाबी गरेको एकसातापछि नै नयाँ दिल्लीको कडा आपत्तिपछि आफ्नो पहिलो औपचारिक भ्रमण भारतबाटै हुने भनी सच्याएका थिए । वास्तवमा उनले आफ्ना भारतीय ‘प्रभु’ हरूको अगाडि पुनः लम्पसार परेका थिए । दाहालले पहिलो चीन भ्रमण गरी ‘चाइना कार्ड’ खेल्न खोजेका थिए र त्यसमा उनी असफल भए । त्यसैले वर्तमान प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई उनले त्यसरी नै अथ्र्याएको हुनुपर्छ । अङ्ग्रेजी भाषाको भारतीय पत्रिकामा त्यस्तो अभिव्यक्ति दिएर दाहालले आफू अझै एमाले र काङ्ग्रेस नेताहरूभन्दा बढी चीनबाट टाढा र भारतसित नजिक वा भारतपरस्त देखाउन खोजेको हुनुपर्छ । त्यसो गर्नुको एक मात्र लक्ष्य विदेशी शक्तिको चलखेलकै आधारमा भए पनि पुनः सरकारमा पुग्ने रहर हो । सरकारमा पुग्नका लागि देशको सार्वभौमसत्ता र देशको हितलाई कुठाराघात गर्ने नेता र दलहरूबाट नेपाली जनता सचेत र सजग हुनैपर्छ ।
Leave a Reply