भर्खरै :

जनता सचेत नभएसम्म समाजवादी क्रान्ति सफल नहुने

जनता सचेत नभएसम्म समाजवादी क्रान्ति सफल नहुने

काठमाडौँ, २ मङ्सिर । नेपाल मजदुर किसान पार्टी सातौँ काठमाडौँ जिल्ला सम्मेलन तयारी समितिको बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार कीर्तिपुरमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले जनता सचेत नभएसम्म समाजवादी क्रान्ति सफल नहुने बताउनुभयो ।
नेमकिपाले जनतालाई सचेत र सङ्गठित गर्न निर्वाचनलाई उपयोग गरिरहेको उल्लेख गर्दै उहाँले पुँजीवादी व्यवस्थाको विकृति, विसङ्गति र खराबीलाई उदाङ्ग्याउँदै समाजवादी प्रचार अभियानलाई जनतासमक्ष पु¥याउने अवसरको रूपमा निर्वाचनलाई उपयोग गरिरहेको विचार व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “क्रान्तिकारी सङ्गठनले मात्र क्रान्ति सफल हुने शिक्षा अक्टोबर समाजवादी क्रान्तिले दिएको छ । पुँजीवादी निर्वाचनले जनताको साँचो प्रतिनिधि चयन गर्ने छैन ।”
सत्ताको अगाडि नझुक्नु नै साँचो प्रतिपक्ष हुने धारणा राख्दै उहाँले भन्नुभयो, “नेमकिपाले प्रतिपक्ष भूमिका खेल्दै कामदार जनताको नजिक गएर काम गरिरहेको छ ।”
उहाँले भन्नुभयो, “नेमकिपा सङ्कीर्ण विचारबाट माथि उठेर अन्तर्राष्ट्रवादी भावनाअनुरूप पाँच क्युवालीको रिहाइको लागि ऐक्यबद्धता जनाएका कारण तीमध्येका एक फर्नान्डो गोन्जालेजले नेमकिपाप्रति आभार प्रकट गरेका छन् । अहिले पनि इजरायली फासीवादीविरूद्ध प्यालेस्टिनी जनताको पक्षमा नेमकिपाले विरोध जुलुस गर्दै आइरहेको छ ।”
कार्यक्रमका अध्यक्ष एवं सातौँ जिल्ला सम्मेलन समितिका संयोजक नारायण महर्जनले आसन्न उपनिर्वाचन मङ्सिर १६ मा नेमकिपाको तर्फबाट उम्मेदवारी दिने र उक्त निर्वाचनलाई भ्रष्टाचारी र पुँजीवादी सरकारको भण्डाफोर गर्ने अवसरको रूपमा उपयोग गर्ने बताउनुभयो ।
सचेत जनताले नेमकिपालाई मत दिने विश्वास लिँदै उहाँले नेमकिपालाई निर्वाचित गरेमा इमानदारीपूर्वक कार्य गर्ने बताउनुभयो ।
बैठकमा सम्मेलनको तयारी र उपनिर्वाचनको प्रचारप्रसारबारे छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *