भर्खरै :

भ्रमै भ्रममा सल्केको ‘एक सर्को माया’

भ्रमै भ्रममा सल्केको ‘एक सर्को माया’

उपन्यासकार जीएस पौडेलले दस पृष्ठ लेखेर छोडेपछि पुनः लेखिएको उपन्यास रहेछ ‘एक सर्को माया’ । तीनपटक थन्क्याएर पुनः सकसपूर्वक पढिभ्याएको पुस्तक हो ‘एक सर्को माया’ । उपन्यासको मूल उद्देश्य पाठकको मगज घुमाउनु रहेछ । लेखक यस विषयमा पूर्णतया सफल भएका छन् । भूमिका लेखनमा अच्युत घिमिरेले लेखेजस्तै साँच्चै कुनै धैर्यवान पाठक मात्रले यो पढी भ्याउँछन् ।
एउटा पात्र जो वैदेशिक रोजगारीमा छ उसको जीवनका सीमित परिधिबिचको कालखण्डलाई केस्रा केस्रामा केलाउने काम यसमा भएको छ । उपन्यासका म पात्रसँगसँगै माल्दिभसतिर हिँडिरहँदा ससाना घटनाहरूको पनि साक्षी बस्न प¥यो जसको प्रमाण पछिल्ला घटनाहरूमा जोडिन पुगे । अञ्जान चालिसे पात्रको गम्भीर अनुहार कथावस्तुमा जोडिन आएसँगै पूर्व सङ्केतका पर्दाहरू धमाधम सिलसिलावार रूपमा खस्न थाल्नु कृतिको सबल पक्ष हो । सामान्य दृष्टिले हेर्दा आलोक माल्दिभस जानु, राम्रो कम्पनीमा आमन्त्रित कर्मचारिका रूपमा सम्मानपूर्वक कार्यरत हुनु, नेपाली सहकर्मी चालिसे दाइसँग आलोकको मित्रता गाँसिनु, माल्दिभसकै साथी अहमदसित सङ्गत गर्नु, नजानिँदो तरिकाले लागुपदार्थको लत बस्नु, माल्दिभकै एउटी सुन्दर युवतीसित प्रेममा पर्नु र अन्तमा लागुपदार्थ दुव्र्यसनीकै निहुँमा पुलिसले पक्रनु र माल्दिभसमा कहिल्यै फर्कन नपाउने गरी डिपोर्टको स्ट्याप लगाई नेपाल फर्काउनुजस्ता आलोकका नितान्त निजी कहनीमा कथा बगेको छ भने उपकथाका धेरै हाँगाहरू फैलिएका छन् । चालिसे र माज्दाको कथा, फूलमायाको कथा, जरोल्डको कथा अनि जेडीको कथा यसका उपकथाहरू हुन् । उपन्यासको घटनाक्रम सामान्य छ तर घटनाहरू तबसम्म सामान्य लाग्छन् जबसम्म भ्रमको किस्सा खुल्दैनन् । आलोकले जब लुक्ला एरवेजको दुर्घटनामा मरेका मृतकहरूको सूचीको कुरा ल्याउँछ अनि सुरु हुन्छ उपन्यासका सारा सरल रेखाहरूमा भुइँचालोको क्रम । घनचक्करसरि घुम्न थाल्छन् पछिल्ला पन्नाहरू । हरेक अघिल्ला घटना र कहानीहरूमा भ्रम र शङ्काका पर्दाहरू लाग्दै जान्छन् । लाग्छ यसै घटनापछि मात्र उपन्यासको वास्तविक सर्को पाठकले सर्काउन पाउँछन् र म पात्र आलोकले कोरेका भ्रमका किस्साहरूमा प्रश्न चिह्नहरू उठ्न थाल्छन् । एउटा गजेडीको गाँजाको नसामा बेकार डुवेजस्तो नि लाग्न थाल्छ तर हेलोसिनेसनको सन्दर्भ जोडिन आएपछि भने असामान्य लाग्न थाल्छ उपन्यास ।
प्रश्नै प्रश्न तर निरुत्तर कहानीमा टुङ्गिन्छ उपन्यास । अन्तिम घटनामा आएकी राधा कसरी नारायण चालिसेकी छोरी हुन्छे ? अनि राधासितको दुई वर्षअघिको फेन्डरिक्वेसको सन्दर्भले पाठकलाई मज्जाले बहुलाउन लगाउँछ र पाठक आफैँलाई पनि हेलोसिनेसनमा परेको भान गराउँछ ।
हरेक कृति वा रचनाले कुनै न कुनै उद्देश्य बोकेकै हुन्छ तर यस कृतिको उद्देश्य पहिल्याउन सजिलो छैन । हुन त नयाँ नयाँ प्रयोगहरू जहीँतहीँ व्याप्त रहँदा यसलाई लेखनमा देखिएको नयाँ प्रयोग मान्न त सजिलो छ तर उपन्यासको घनाकारमा पाठक मन अवाक बन्छ त्यस माथि जुन जुन घटनाहरू घटे ती सबै भ्रममा टुङ्गिएपछि पाठक मौन चित्कार गर्दै उभिन बाध्य हुन्छ । दुव्र्यसनीको परिणाममा उभिन खोज्दा हेलोसिनेसनले कोत्याउन थाल्छ । ‘द ब्युटिफूल माइन्ड’ नामको एउटा चलचित्र रहेछ हेलोसिनेसनको कथा पाइने । हुन त उपन्यासमा आलोकले आफूलाई त्यस चलचित्रको म्याथम्याटिसिएनसँग जोड्न खोजेको पनि छ तर के हेलोसिनेसनको उदाहरण नै मात्र हो त ‘एक सर्को माया’ !
कृतिमा डायस्फोरा खोज्ने कि देश र समाज खोज्ने, जातीय उल्झनमा उनेको क्रान्तिलाई हेर्ने या नारी चेतना ? उपन्यासको टुङ्ग्याउनीले पाठकको मगज नराम्ररी भुट्न सकेको छ ।
हेलोसिनेसनकै उपज माने पनि माल्दिभसका नारीहरूलाई कुन रूपमा चिन्ने नेपाली पाठकहरूले ? माज्दा, राउधा प्रतिनिधि पात्र बनेका छन् उपन्यासमा, उनीहरूको जीवनचर्या, आलोक र चालिसेजस्ता विदेशी युवकहरूसँगको प्रेम सम्बन्ध, आदि कुराले ती प्रतिनिधि पात्रहरूको ओजन कति देखाउँछ ? कुनै एउटा लेखक महिलामाथि किन यसरी खेल्न सक्छ ?!
मेरो हातमा कृतिको चौथो संस्करण छ । चौथो संस्करणसम्म कृति पुनः छापिनु भनेको यसले धेरै पाठकहरूको दिमाग भुटिसकेको प्रमाण हो । घटनाक्रम जेसुकै होस्, लेखकको उद्देश्य र चाहना आफ्नै ठाउँमा रहोस् । भरिसकेको घैँटो एकाएक घोप्टिँदा पोखिएको पानीसरि कथावस्तु घोप्टिएको देख्दा यसले अरू कुनै सन्दर्भ नभई हेलोसिनेसनमै केन्द्रित गर्न नि खोज्यो । लागुपदार्थमा डुबेको चेतनाले भेटाएको मायाको सर्कोलाई उपन्यासकारले धुवाँ उडाएसरि उडाएका छन् । तर, अन्तमा चालिसेकी छोरी राधालाई उभ्याएर भ्रमले जेलिएको धागो पाठक मनमा फ्याँकेर उपन्यासकार भागेका छन् । साँच्चै भन्दा यस्तो अवस्थामा उपन्यासकारलाई अपराधीभन्दा पाप लाग्दैन ।
पुस्तकको भाषाशैली सरल छ । एकोहोरो रटानै सही पाठकलाई तानीतानी आफ्नो बसमा राख्न सफल छ उपन्यास । पुस्तकको भूमिकामा कृष्ण धराबासीले लेखे जस्तै, “…….यो निकै अनौठो र मानसिक दबाब दिन सफल मानेको छु । सबैभन्दा मुख्य कुरा त यस उपन्यासले खडा गरेको भ्रमको जुन संसार छ त्यो नै कहालीलाग्दो छ । प्रश्नै प्रश्न उब्जिन्छन् । के साँच्चै मानिस त्यस्तो अवस्थामा पनि पुग्न सक्छ ? के मानिस सचेत हुँदाहुँदै पनि यस्तो डर लाग्दो भ्रममा पर्न सक्छ, के हामी पनि थाहै नपाई कैयौँ यस्ता भ्रमहरूमा त छैनौँ ?”
आम पाठकहरूले सामान्यतया पढ्दै र भोग्दै आएका सरल कथावस्तुलाई फरक कोणबाट पस्कनु यसको विशेषता हो । उत्तर अघिअघि प्रश्न पछिपछि लागेको कथाले प्रश्नै प्रश्नमा आफ्नो तरङ्ग टुङ्ग्याएको छ । बस, ‘एक सर्को माया’ ले पाठकमा धैर्यता खोजेको छ । उपन्यासकार जीएस पौडेललाई पाठक मनमा गाँजिएर रहेको भ्रम र प्रश्नै प्रश्नको माला उपहार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *