भर्खरै :

देशको विकासको लागि सेवा सुविधा स्थानान्तरण आवश्यक

  • मंसिर ८, २०८१
  • सत्यराम कासिछ्वा
  • विचार
देशको विकासको लागि सेवा सुविधा स्थानान्तरण आवश्यक

मल्लकालमै सभ्यताको विकास भएको ऐतिहासिक र विश्व प्रसिद्ध काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुर जोडेर जम्मा ८९९ वर्ग किमिमा फैलिएको छ । ८० लाखभन्दा बढी जनसङ्ख्या काठमाडौंमै बसोबास रहेको छ । काठमाडौं उपत्यकामा अझ जनसङ्ख्या थप्न नयाँ अत्याधुनिक सहरको रूपमा बाहिरी चक्रपथ जोडेर चार वटा सहर निर्माणका लागि सरकार जोडतोडका अगाडि बढेको पनि एक दसक हुन लागेको छ ।
आज सडक विस्तार र सडक मापदण्डका हजारौँ रैथाने नेवारहरू घरवारविहीन भई विस्थापित भएका छन् ।
२०४६ को प्रजातन्त्र पुनःस्थापना भएपछि बढेको राजनीतिक उतारचढावले नेपालमा काम गर्ने वातावरण नभएपछि नेपाली युवा विदेसिन बाध्य हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने नाममा काठमाडौँकेन्द्रित म्यानपावर कम्पनी, ट्राभल एन्ड टुर एजेन्सी, होटल रेस्टुराँ, क्याविन दोहोरी आदि व्यवसायर्को विकास पनि भयो ।
वि.स. २०५२ मा भएको हिंसात्मक राजनीतिक आन्दोलनले सुरक्षित हुन गाउँको रोपनीका रोपनी जग्गा बेच्दै काठमाडौँमा आना जोडेर घर बनाएर बस्न बाध्य पा¥यो । २०६२/६३ पछि काठमाडौँकेन्द्रित सत्ताको विरुद्ध लडेका र रोल्पा रुकुमलाई वैकल्पिक शक्ति केन्द्र बनाउन खोजेका तत्कालीन माओवादीले पनि काठमाडौँलाई निर्विकल्पको रूपमा राजधानी स्वीकारेर काठमाडौंँमै शक्ति सञ्चयको अभ्यासले राजनीतिक र सामाजिक व्यवस्थाको कारण काठमाडौँमा जनसङ्ख्या वृद्धि भयो ।
सङ्घीयताअनुसार विकेन्द्रित हुनुपर्ने सेना, प्रहरी तथा निजामती कर्मचारी आदिको ठुलो र अनावश्यक सङ्ख्या काठमाडौँ केन्द्रित छ । गुणस्तरीय शिक्षा र त्यसबाट पाउने रोजगारी, फलफूल तथा तरकारी व्यापार व्यवसाय, कवाडी सामान सङ्कलनदेखि निर्माण क्षेत्रमा मजदुरी र सिलाइ कटाइसम्म संलग्नको नाउँमा राजधानीका नदी किनारा र सार्वजनिक जग्गामा सुकुमबासी भई छाप्रो हालेर बस्ने जमात पनि ५ लाखको हाराहारीमा पुगिसकेको छ । यसरी भित्रिएकाहरूको छठ, देउडा, घाटु, गौरा, उघौली, उभौलीजस्ता चाडपर्वको रौनक सम्बन्धित क्षेत्रमा भन्दा काठमाडौंको विभिन्न क्षेत्रमा बढ्न थालेपछि फर्किने कुरै भएन र राजधानीमै स्थायी बासिन्दा बने । जहाँ थुप्रै नेता र कार्यकर्ताहरू पनि सुकुमबासी बनेर काठमाडौँकै स्थायी बासिन्दा भएका छन् ।
स्थानीय सरकारलाई बलियो बनाउनुभन्दा काठमाडौँमै बसेर अरबौँ रकम पछिल्लो चुनावमा जित्नका लागि कार्यकर्तालाई बाँड्ने तर जनतालाई छलेर प्रभावित पार्ने नाउँमा सिंहदरबार धाउने नेता कार्यकर्ताको सङ्ख्या बढ्दो छ ।
सडक खाल्डाखुल्डी, हिलोधुलोको जगजगी, थेग्न नसक्नु सवारी चाप, सास फेर्न मुस्किल प्रदूषित हावा, खानेपानीको चरम अभाव, खाद्यान्नमा निरन्तर महँगी नै देशको राजधानी काठमाडौंको विशेषता हुन पुगेको छ । देशकै मलिलो र खँडिलो माटो मासेर कङ्क्रिटको जङ्गलले झाङ्गिँदा काठमाडौं भूकम्पको जोखिमसँगै संसारकै कुरूप सहर बनेको छ । काठमाडौँको ट्राफिकजामलाई न्यून गर्ने नाउँमा बाहिरी चक्रपथ तथा आकासे सडक वा ओभर फ्लो रोडको अवधारणा ल्याएर आफूलाई लाभ हुनेगरी राज्यको पुनःसंरचना गरेको छ । तर, राजनीतिक नेतृत्वले सङ्घीयताको मर्मविपरीत शक्ति, सेवासुविधा केन्द्रित गरी कार्यकर्ता काठमाडौँमै व्यवस्थापन गर्न र थुपार्न सरकार अर्को चार नयाँ आधुनिक सहर (स्मार्ट सिटी) निर्माणमा जुटेकोे छ । जहाँ भविष्यमा भूकम्प बाढी जस्ता विपत्तिबाट निम्तिने भयावहको खतरा अवस्थालाई ध्यान दिन सकेको छैन ।
काठमाडौँ उपत्यकाको जनसङ्ख्या विस्फोटले हुने खतराबाट मुक्ति पाउन र देशको सन्तुलित विकास गर्नुपर्छ । प्रदेश स्तरमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई विस्तार गरी सामान्य जनताको पहुँचमा सेवा सुविधा विस्तार हुने र आर्थिक गतिविधि बढाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *