भर्खरै :

सुङ चिङ–लिङको छोटो जीवनी

सुङ चिङ–लिङको छोटो जीवनी

सुङ चिङ – लिङ चिनियाँ जनताका महान् प्रजातन्त्रवादी सन यात–सेनकी जहान हुनुहुन्थ्यो । सन यात–सेन चिनियाँ गणतन्त्रको पहिलो राष्ट्रपति र तीन सिद्धान्तका प्रवर्तक हुनुहुन्थ्यो ।
तीन सिद्धान्त भन्नाले राष्ट्रियता, प्रजातन्त्र र जनताको जीविका हो । पछि यसलाई सन् १९२४ मा उहाँले नयाँ ढङ्गले व्याख्या गर्नुभयो–रुससित एकता, कम्युनिस्ट पार्टीसित सहयोग र किसान र ज्यामीहरूलाई सहयोग ।
सुङ चिङ–लिङको पुरानो पुस्ता चीनमा मङ्गोलहरूको हमलाको बेलामा हाइनान टापुमा भागेका थिए । तिनीहरू सुङ वंशका सिपाहीहरूमध्येका थिए र मङ्गोलहरूबाट हराइएका थिए । सुङ चिङ–लिङका बुबा हाइनानको हाइको भन्ने ठाउँका एक व्यापारी थिए । हाइनान चीनको दक्षिण भागको एउटा ठुलो टापु हो । हजुरबाका एक भाइ न्युयोर्क पुगेर चिनियाँ सामानहरूको व्यापार गर्नुभयो । उहाँका केटाकेटी थिएनन् । सुङ चिङ–लिङका बाबु सानोमै एक अमेरिकी जहाजबाट न्युयोर्क पुग्नुभएको थियो । उहाँको काकाले उहाँलाई धर्मपुत्री स्वीकार गरेर स्कूल पठाइदिनुभयो । उहाँको काकाको एक अमेरिकी साथीको मद्दतले उहाँ एक विश्वविद्यालयमा भर्ना हुन सफल हुनुभयो ।
उहाँले क्राइस्टेली धर्मका एक पुरोहित बन्ने इच्छा गर्नुभयो । त्यही इच्छाअनुसार उहाँ शांघाई गएर एक क्राइस्टेली परिवार बसाउनुभयो र बाइबल छाप्ने एक छापाखाना स्थापना गर्नुभयो । मञ्चु शासनको विरोधमा गुप्त साहित्यहरू छाप्नमा उहाँले सन यात सेनलाई मद्दत गर्नुभएको थियो र सन यात–सेनको तुङ–मङ–हुई क्रान्तिकारी पार्टीको एक गुप्त सदस्य पनि हुनुहुन्थ्यो । चिनियाँ भाषामा तुङ मङ हुईको अर्थ चिनियाँ क्रान्तिकारी सङ्घ हो । साथै उहाँ कोमिङताङ पार्टीको एक अग्रदूत पनि हुनुहुन्थ्यो ।
सुङ–चिङ–लिङकी आमा सु कङ–चिकै सन्तानकी हुनुहुन्थ्यो । सु कङ–चि मिङ राजवंशको एक ठुलो विद्वान हुनुहुन्थ्यो र उहाँले कृषिको विश्वकोष तयार पार्नुभएको थियो । त्यो विश्वकोष आज पनि मान्य छ । आज पनि शांघाईको एक उपनगर उहाँकै नाममा सुहानचि राखिएको छ । सुङ चिङ–लिङ सन् १८९५ तिर शांघाईमा जन्मनुभएको थियो । उहाँ माहिली छोरी हुनुहुन्छ र कान्छी सुङ मै–लिङ हुनुहुन्छ । सुङ चिङ–लिङको शिक्षा दीक्षा अमेरिकामा भएको थियो । उहाँ जर्जिया राज्यको बेस्लीन कलेजमा पढ्नुभयो र त्यहाँबाट स्नातक गर्नुभएको थियो ।
आफ्नो बाबुसँगको सम्बन्ध र राजनैतिक विचारले गर्दा सुङ चिङ–लिङको सम्बन्ध सन यात–सेनासँग भयो । त्यो सम्बन्ध घनिष्ठ हुँदै गयो । सन् १९१४ मा जापानमा उहाँले सन यात–सेनसँग विवाह गर्नुभयो । त्यसबेला सन यात–सेन ४९ वर्षको हुनुहुन्थ्यो । उहाँ भर्खरको १९–२० वर्षकी हुनुहुन्थ्यो । उहाँकी बहिनी सुङ मै–लिङले च्याङकाइ सेकसँग विवाह गरिन् ।
सन् यान–सेनको मृत्युपछि पनि उहाँले आफूलाई राजनीतिमा सक्रिय राख्नुभयो । उहाँले कम्युनिस्ट पार्टीलाई समर्थन गर्दै वामपन्थी कोमिङताङ पार्टीको कार्यकारिणी समितिको सदस्य भई काम गर्दै जानुभयो । उहाँले सन यात–सेनको तीन सिद्धान्तलाई वामपन्थी ढङ्गले व्याख्या गर्दै जानुभयो र च्याङकाइ–सेकको सरकारमा जान अस्वीकार गर्नुभयो । जनवादी गणतन्त्र चीनको स्थापनापछि उहाँले सङ्गठन, बालकल्याण र शिक्षाक्षेत्रको नेतृत्व सम्हाल्नुभयो । जनवादी गणतन्त्र चीनको स्थापनादेखि १९६८ सम्म नै उहाँ जनप्रतिनिधिसभाको उपाध्यक्ष हुनुहुन्थ्यो । सांस्कृतिक क्रान्तिपछि अर्थात् ल्यु शाओ–चिलाई झिकेपछि उहाँले कार्यवाहक राज्य प्रमुखको रूपमा पनि काम गर्नुभयो ।
सन् १९७१ मा उहाँ फेरि जनप्रतिनिधिसभाको उपाध्यक्ष हुनुभयो । भनिन्छ–कोमिङताङ र कम्युनिस्ट पार्टीको एकतामा उहाँको ठुलो योगदान छ । थाएवानको शान्तिपूर्ण एकीकरणको काममा उहाँले पुलको कार्य गर्नुभयो । उहाँ पुराना प्रजातान्त्रिक पार्टीहरूका एक प्रमुख नेतृ पनि हुनुहुन्छ ।

स्रोत : विश्वका क्रान्तिकारी महिलाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *