भर्खरै :

व्यक्तिगत स्वार्थमा तल्लीन नेताहरूबाट देशको भलो नहुने

व्यक्तिगत स्वार्थमा तल्लीन नेताहरूबाट देशको भलो नहुने

देश आर्थिक सङ्कटमा छ । जनता निरास छन् । सबैभन्दा ठुलो भ्रष्टाचार सिंहदरबारको वरिपरि नै केन्द्रित छ । सरकार खर्च कटौती र मितव्ययीको कुरा गर्छ । तर, नेता, मन्त्री र नातागोता सरकारी खर्चमा विदेश सयर गर्छन् र देशको सम्पत्ति स्वाहा पार्छन् । शासक दलको राजनीतिक नेतृत्व र प्रशासनयन्त्र प्रभावकारी नहुँदा या त्यसले बेवास्ता गर्दा यो समस्या देखिएको हो । कर्मचारी, जनप्रतिनिधि, सांसद, मन्त्री र शासक दलका नेताहरू देश र जनतालाई सर्वोपरि ठानी अघि नबढेसम्म तथा जिम्मेवार नभएसम्म सरकारले निकास दिनेछैन । सिंहदरबारको अधिकार गाउँमा भनेर नेताहरूले फुके पनि पुगेको छैन । गाउँ–गाउँमा अधिकार होइन भ्रष्टाचार पो पुग्यो भन्ने विश्लेषण गरिएको छ । गाउँपालिका, नगरपालिका र अन्यत्र भ्रष्टाचार र अनियमितता भयो भन्ने खबर प्रकाशित हुन्छ । तर, त्यसको गहिरिएर छानबिन हुँदैन । भ्रष्टाचार र अनियमितताको कुरा छानबिन हुन नपाउँदै त्यो हल्ला त्यसै बिलाउँछ । यतातर्फ शासकहरूको ध्यान जाँदैन ।
शासक दलका नेता, मन्त्री र सांसदहरू पनि पञ्चायत कालमा जस्तो निर्वाचनमा पैसा बाँड्छन् र मत लिन्छन् । निर्वाचनमा मतदातालाई पैसा किन बाँड्छन् भन्ने प्रश्नको जवाफमा शासक दलमा सांसदले एक समयमा भनेका थिए, ‘पैसा आखिर निर्वाचनमा खर्च गर्ने हो, खर्च गर्न पाउँछ ।’ पैसा बाँडेर जनताको मत लिने दलमा शासक र ठुला दलहरू नै अघि छन् । तर, सिद्धान्त र विचारको आधारमा इमानदारीपूर्वक राजनीति गर्ने दलका कार्यकर्ताहरू निर्वाचनमा पैसा बाँड्दैनन्, पैसा बाँडेर मत बटुल्दैनन् । पैसा बाँड्नु भनेको जनताको मन बिगार्ने, बानी बिगार्ने काम हो ।
कम्युनिस्ट भनिने शासक दलमा नेपालको कम्युनिस्ट आन्दोलनमा पनि परिमार्जन नभएसम्म या क्रान्तिकारी बाटो नअपनाएसम्म, कम्युनिस्ट आन्दोलन अघि नबढेसम्म देशका सामन्त, पुँजापति, जमिनदार, जालिफटाहा, भ्रष्टाचारी, कालाबजारी र कमिसनखोरहरू कमजोर हुने छैनन् । उनीहरू आफूलाई कम्युनिस्ट पार्टीको ठुलो र शक्तिशाली दाबी गर्छन् । तर, कम्युनिस्टको नेतृत्वमा बनेको सरकारले न काम ग¥यो न त सरकारमा नरहँदा नै काम ग¥यो । शासक दलका नेताहरू आफूलाई जनताका सेवक ठान्छन् । तर, सेवक भएर बहुमत जनताको हितमा कुनै सेवा गर्दैनन् । गैरकानुनी कार्यलाई कानुन बनाउने, सिद्धान्तहीन, स्वार्थी नेता र कार्यकर्ता, तस्कर व्यापारीहरूको वरिपरि रहेर काम गर्ने शैली गणतान्त्रिक शासकहरूलाई सुहाँउदैन । शासक दलहरूको क्रियाकलापले नै जनतामा गणतन्त्रप्रति अनास्था बढेको हो । जालीफटाहा, घुस्याहा, कालाबजारी, घर जग्गाका दलाल, ठेकेदारहरू घुसेको यो पुँजीवादी गणतन्त्रमा जनताको अपनत्व कसरी हुन्छ ?
शासक दलहरू साधारण जनतालाई राजनीतिकरूपले सचेत पार्न चाहँदैनन् । उनीहरू जनतामा साम्प्रदायिक भावना फैलाउँछन्† अनेकानेक लोभ देखाउँछन्† विदेशी कम्पनीसँग मिलेर निर्वाचनमा पैसा खर्च गर्छन् । यसरी नै अपराधीहरूको सहयोग र साथमा उनीहरू सत्तामा पुग्छन् । देश र जनताको सेवालाई उनीहरूले कर्तव्यको रूपमा लिएनन् । एकातिर शासक दलका नेताहरू नै देशप्रति जिम्मेवार रहेनन्† देशको सुरक्षा गर्नुपर्छ भन्नेतर्फ लागेनन् भने अर्कोतर्फ नेपालको स्वतन्त्रता र सार्वभौम मुलुकमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको खतरा छ । एकातिर भारतले पेलिरहेको छ भने अर्कोतिर अमेरिकाले नेपाल सरकारलाई फसाइरहेको छ ।
नेपाली जनताले बलिदान गरेर गणतन्त्र ल्याए । तर, गणतान्त्रिक सरकारले गणतन्त्रलाई संस्थागत गर्नेभन्दा देशलाई पराधीन बनाउने, परनिर्भर बनाउने र विदेशी सहयोग, विदेशी बजेटको भरमा देश चलाउने कुबुद्धिले गर्दा देशको स्थिति कमजोर बन्दै गएको हो । अहिले देशको स्थिति कुनै पनि क्षेत्र सन्तोषजनक देखिँदैन । देशको शिक्षा र स्वास्थ्य सेवा पनि चित्तबुझ्दो छैन । विकास चिप्लेकीराको गतिमा पनि हिँडेको देखिँदैन । भ्रष्टाचारीहरू कारबाहीमा परेका छैनन् । देशमा रोजगारीको व्यवस्था नहुँदा विद्यार्थी युवाहरू बिदेसिएका छन् । महिला बेचबिखनको समस्या यथावत् छ । मानव तस्करीमा मन्त्रीहरूसमेत फसेका छन् । मन्त्री र सचिवहरू नै भिड लिएर विदेश पसिरहेका छन् । यो देशको लागि मात्र होइन अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पदको विषय बनेको छ । यसरी देशका शासकहरू गिर्दै छन् । यो राम्रो सङ्केत होइन । देश र जनताको स्थिति जस्तो भए पनि दलगत र व्यक्तिगत स्वार्थमा तल्लीन दलका नेताहरूले के देश र जनताको भलो गर्लान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *