भर्खरै :

मेडिकल डाइरेक्टरको आनाकानीको कारण भक्तपुर क्यान्सर अस्पतालको कर्मचारी विनियमावली अन्योलमा

मेडिकल डाइरेक्टरको आनाकानीको कारण भक्तपुर क्यान्सर अस्पतालको कर्मचारी विनियमावली अन्योलमा

भक्तपुर, ६ असार । विगत लामो समयदेखि थाती रहेको भक्तपुर क्यान्सर अस्पतालको कर्मचारी विनियमावली पारित गराउन अस्पतालको निमित्त मेडिकल डाइरेक्टर डा. उज्ज्वल चालिसे नै अनिच्छुक रहेको बताइएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको गत जेठ १२ गतेको बैठकबाट पारित भइसकेको माइन्यूट र विनियमावलीमा सही गर्न डाइरेक्टर चालिसेले आनाकानी गरेको स्रोतले बताएको छ । यस सम्बन्धमा समितिका अध्यक्ष प्रा.डा. श्रीकृष्ण श्रेष्ठले पटक–पटक मौखिक तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयस्थित आफ्नै कायकक्षमा डाइरेक्टरलाई बोलाएर निर्देशनसमेत दिनुभएको चर्चा छ ।
मेडिकल डाइरेक्टर चालिसेको व्यक्तिगत स्वार्थका कारण माइन्यूट र विनियममा सही गर्न अनिच्छुक रहेको हुनसक्ने उनी निकट एक कर्मचारीले बताएका छन् । “उहाँ नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) मा आबद्ध हुनुहुन्छ र त्यसको नेतृत्वको निर्देशनबिना कर्मचारी विनियमावलीलाई पारित गर्न चाहनुहुन्न,” आफ्नो नाम नबताउने सर्तमा एक कर्मचारीले भने ।
एनसीआरएसले विगतमा लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा मनोमानी ढङ्गबाट डाक्टर तथा कर्मचारीहरूलाई शोषण गरेर भ्रष्टाचार गरेको चर्चा भएको थियो । भ्रष्टाचारविरुद्ध अस्पतालका कर्मचारी तथा स्थानीय जनताको निरन्तरको आन्दोलनपश्चात् भक्तपुर नगरपालिकाको अगुवाइमा नेपाल सरकारले उक्त अस्पतालाई २०७६ सालमा सरकारी स्वामित्वमा लगेको थियो । भक्तपुर क्यान्सर अस्पताल सञ्चालन तथा गठन आदेश जारी गरेसँगै अस्पतालको सम्पूर्ण सम्पत्ति तथा दायित्व सरकारले ग्रहण गरेको थियो । त्यससँगै अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरूलाई पनि सरकारीसरह सेवा सुविधा प्रदान गर्न कर्मचारी विनियमावली तयारी गरिएको थियो । स्वास्थ्य मन्त्रालयमार्फत लोकसेवा आयोग र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिबाट पारित गराएर उक्त विनियमावलीलाई स्वीकृतार्थ स्वास्थ्य मन्त्रालयमा पठाउन लिखित निर्देशनसमेत आइसकेको छ ।
यसैबिच डाइरेक्टर डा. चालिसेले आफ्ना निकट तथा सरकारी दलका आसेपासे ३० जनाभन्दा बढी कर्मचारीहरूलाई दैनिक ज्यालादारीमा नियुक्ति गरिएको खुल्न आएको छ । कर्मचारीहरूको सम्पूर्ण आर्थिक दायित्व अस्पतालको आन्तरिक स्रोतबाट नै व्यहोनुपर्ने अवस्थामा दैनिक ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीहरूको पारिश्रमिकबारे अस्पताल व्यवस्थापन समितिमा निर्णय गराइनुपर्ने हो तर अहिलेसम्म यसबारेमा समितिमा कुनै निर्णय नभएको समितिका एक सदस्यले बताए । उनले भने, “ती कर्मचारीहरू कुन कुन पदमा कहिलेबाट नियुक्त गरिएका हुन् ? तिनीहरूलाई के काम दिइएको छ ? र कति पारिश्रमिक प्रदान गरिएको छ ? भन्नेसमेत समितिलाई जानकारी छैन ।” यसबारेमा महालेखा परीक्षकको प्रतिवेदनमा समेत बेरुजु उल्लेख गरिएको छ तर समितिमा अवगत गराउन डाइरेक्टर चालिसेले आवश्यक ठान्नु भएन ।
डा. चालिसेले पूर्वमन्त्रीका नातेदार भनी प्रमोदराज ढकाललाई दैनिक ज्यालादारीमा परामर्शदाता नियुक्ति गरेको देखियो । तर, तिनको शैक्षिक योग्यता, कार्य अनुभव खुल्ने कुनै पनि कागजात अस्पतालमा प्राप्त नभएको बताइएको छ । दैनिक २ हजार रूपैयाँ पारवहन खर्च र अन्य सुविधा दिने सर्तमा उनलाई २०८२ वैशाख २ गतेबाट एक वर्षका लागि भनी करारमा नियुक्ति दिइएको देखिन्छ तर अवधि सकिएपछि करार सम्झौता नवीकरण गरिएको देखिँदैन ।
शनिबार र बिदाको दिनमा समेत हाजीर गर्ने तर काम के गर्ने कसैलाई पत्तो नहुने अर्का कर्मचारीले गुनासो गरे । “उनी केका लागि नियुक्त भएका हुन् र के काम गर्छन् ? कसैलाई थाहा छैन,” ती कर्मचारीले भने ।
तिनै ढकालले अस्पताको कर्मचारी विनियमावली पारित नगराउन चलखेल गरिरहेको र माइन्यूटमा सही नगर्न व्यवस्थापन समितिका केही पदाधिकारीहरूलाई फोनबाट धम्की दिएको पनि चर्चा छ ।
व्यक्तिगत स्वार्थपूर्तिमा लिप्त मेडिकल डाइरेक्टर चालिसेको गलत नियतको कारण अस्पतालका ३५० भन्दा बढी कर्मचारीहरूको भविष्यमाथि खेलवाड भइरहेकोमा कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन् । कर्मचारीहरूका प्रतिनिधिमण्डलले डाइरेक्टरसँग नियमावली पारित गर्ने विषयमा चासो व्यक्त गर्दा डा. चालिसेले प्रस्ट जवाफ नदिएको तिनीहरूको भनाइ छ । डाइरेक्टरले कर्मचारीहरूको हितमा नियमावली पारित नगराएमा आन्दोलनमा उत्रन बाध्य हुने उनीहरूले चेतावनी दिएको समेत बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *