जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
भक्तपुर, ११ मङ्सिर । “हामी कसैको भरमा पर्नु हुँदैन, आफ्नै मेहनतले आवश्यकताअनुसार विकास गर्नुपर्छ ।” उक्त विचार भक्तपुर महोत्सवको तयारीको सिलसिलामा भक्तपुर नगरपालिकाका प्रमुख एवं भक्तपुर महोत्सव मूल समितिका संयोजक सुनिल प्रजापतिले मङ्गलबार उद्यमी, व्यवसायी तथा सङ्घ–संस्थाका प्रतिनिधिहरूको भेलामा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले नेपाल भनेबित्तिकै भक्तपुरको सम्झना आउने गरी भक्तपुर महोत्सवले त्यसको जगको रूपमा विकास गराउन सकिने भएकोले महोत्सवलाई भव्यरूपमा सम्पन्न गर्न नगरवासीहरूमा उत्साहित भएर सहभागी हुन आग्रह गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले विभिन्न तालिमहरू सञ्चालन गर्दा नगरवासीको अप्रत्यक्षरूपमा आर्थिक वृद्धि भइरहेको उल्लेख गर्दै महोत्सवले थप आर्थिक विकास गर्न सहयोग मिल्ने बताउनुभयो ।
उहाँले उच्च शिक्षा अध्ययनका लागि चीनमा गइरहेका विद्यार्थीहरूले भक्तपुरका मौलिक सीप, संस्कृति र हस्तकलाको बारेमा चिनियाँ बजारमा प्रचारप्रसार गरिरहेको बताउँदै सरकारमा गएका शासक दलहरूले मौलिक उत्पादनलाई प्रोत्साहन र प्रचारप्रसार गर्न नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो ।
उहाँले काठमाडौँ उपत्यकामध्ये भक्तपुर जिल्लामा बढी पर्यटक आउने गरेको तथ्याङ्क रहेको बताउँदै भक्तपुर नगरपालिकाले कला, संस्कृति, सम्पदा संरक्षणमा गरिरहेको गतिविधिका कारण बाहिरी पर्यटक आकर्षित भएको बताउनुभयो ।
उहाँले साना उद्योग र व्यवसायीहरूलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरेको बताउँदै हस्तकलाको महत्वलाई उजागर गर्न सम्पूर्ण उद्योगीहरूलाई थप सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर महोत्सव भक्तपुरका जनता र उद्योगीहरूका आर्थिक विकासका लागि आयोजना गरेको हुनाले उद्योगीहरू निरुत्साहित हुन नपर्ने बताउनुभयो । उहाँले भक्तपुर महोत्सवले जनताको आर्थिक र सांस्कृतिकस्तर उकास्न मद्दत गर्ने भएकोले भक्तपुरका उद्योगीहरू सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले महोत्सवले मौलिक उत्पादनलाई व्यवसायीकरण गराउन उत्साहित गर्ने बताउनुभयो । महोत्सवमा अवलोकन गर्न आउनुहुने अवलोकनकर्ताहरूलाई आत्मीय सम्बन्ध कायम राख्न सके अविस्मरणीय हुने उहाँले बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले महोत्सवमा नेवार समुदायको जीवनशैली प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटक थप आकर्षित हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवको तयारीको जानकारी दिनुभयो भने सचिवालय सदस्य विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply