भर्खरै :

चिसोका कारण रु एक करोडभन्दा बढीको माछा मरे

– रामहरी न्यौपाने 
नुवाकोट, १३ माघ (रासस) ः समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् ।
बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो ।
पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको तापक्रम कम भएर क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा कमलराज गैरे जानकारी दिनुभयो । उहाँका अनुसार बचुवा माछालाई कम्तीमा २० डिग्री तापक्रम चाहिने भएकाले असोजसम्ममा बिक्री गरिसक्नु पर्ने थियो, त्यो नहुँदा क्षति पुगेको हो ।
खोलाको पानी चिसो हुँदै आएपछि इनारको पानी तानेर आगो बाल्ने तथा विद्युतीय प्रविधिबाट तताएर पोखरीमा मिसाएर बचाउन गरेको प्रयास असफल भएको किसान पाण्डेले बताउनुभयो । जमिनमुनीको पानी २६ डिग्रीसम्म हुने गरेकोमा अत्यधिक चिसोले २० डिग्री मात्रै आयो ।” उहाँले भन्नुभयो “त्यो पानी पोखरीमा राख्दा १५ डिग्रीसम्म झर्ने भएकाले तताएर राख्दासमेत बचाउन सकिएन, सबै मरे ।”
उहाँले व्यक्तिगत रुपमा रु तीन करोड लगानी गरेर गएको वर्षदेखि सञ्चालनमा ल्याएको माछा फर्ममा बंगलादेशबाट दुई लाख १५ हजार भुरा किनेर ल्याई यो वर्षदेखि पालन शुरु गर्नुभएको थियो । “गएको फागुनमा राखिएका भुरा भदौदेखि बिक्रीका लागि तयार भएका थिए,” पाण्डेले भन्नुभयो “रु पचास हजार मूल्य बराबरको माछा बिक्री गरें, बाँकी सबै मरेर गए ।”
कृषि विकास कार्यालयले फर्ममा रहेका करिब एक लाख ५० हजार मूल्य बराबरका माछा समयमै बिक्री नहुँदा ५५ टन क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ । कृषि विकास कार्यालयका प्रमुख गैरेका अनुसार माछाको बजार मूल्य प्रतिकेजी रु २०० भएकाले मरेका माछाबाट पाण्डेलाई रु एक करोड १० लाख क्षति पुगेको भन्दै पीडित किसानलाई राहत उपलब्ध गराउन केन्द्रमा पठाइएको छ ।
भदौमा नै तयार भएका माछाको बजार अभावले समयमै बिक्री नहँुदा मंसिर अन्तिम सातादेखि माछा मर्न थालेको पाण्डेले बताउनुभयो । “माछाको भूरा ल्याउँदा मात्रै रु एक करोड २० लाख खर्च भएको थियो ।” पाण्डेले भन्नुभयो “हुर्काउन दानादेखि दूधसमेत खुवाएर दुई वटाले नै एक किलोग्राम हुने बनाएको थिए ।”
बजारको अनुसन्धान र मागअनुसार माछापालन गरेको भए पनि भारतबाट आएका माछासँग प्रतिस्पर्धा गर्न नसक्दा आफूले क्षति बेहोरेको उहाँको गुनासो छ । पाण्डेका अनुसार भारतबाट आएको यही जातका माछा रु १५० मा कारोबार हुने भएकाले स्थानीय उत्पादनका माछाले बजार नपाउँदा ठूलो नोक्सान खेप्नुपरेको हो ।
“बैंकबाट ऋण लिएर सञ्चालन शुरु गरेको फर्ममा माछासँगै कुखुरासमेत पालनको तयारी गरे पनि रु एक करोडभन्दा बढी क्षति भएकाले राहत नपाए आफू नै मर्नुको विकल्पमा नभएको” उहाँले दुखेसो पोखें ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *