भर्खरै :

संस्थामा सदस्यहरूको हितमा लगानी गर्नु उपयुक्त हुने

भक्तपुर, १५ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको आतिथ्यमा लसकुस बचत तथा ऋण सहकारी संस्थाका संस्थापक, सञ्चालक र समितिका सदस्यहरूको भेला शनिबार सम्पन्न भयो ।
भेलामा सांसद सुवालले भन्नुभयो, “कतिपय सहकारी संस्थाले बढी ब्याज दिने लोभ देखाई बचतकर्ताहरूलाई रकम जम्मा गर्न लगाई अर्बौँ अर्ब रूपैयाँ ठगी गरी भागेको सार्वजनिक भइरहेको छ । नेपालको अर्थतन्त्रमा मन्दी सुरू भएको २–४ वर्ष भयो । धेरैको लगानी घर, जग्गा र सेयरमा भयो, उत्पादनमूलक क्षेत्रमा भएन । सरकारहरूले देशैभरि जग्गा प्लटिङ गराई सहकारी संस्था, बैङ्क र वित्तीय संस्थाहरूमा लगानी गराएको नै मन्दीको कारण हो ।”
समुदायमा आधारित सहकारी संस्थाहरूले सदस्यहरूको हितमा लगानी गर्नु उपयुक्त हुने धारणा राख्दै उहाँले भन्नुभयो, “ब्याज बढी उठाउने र लाभांश बढी वितरण गर्ने दाउमा सहकारी संस्थामा लाग्नु उपयुक्त हुनेछैन । सदस्यका नयाँ पुस्तालाई शिक्षा, सङ्गीत, खेलकुदलगायत क्षेत्रमा पनि सहकारी संस्थाहरूको ध्यान जानु जरूरी छ ।”
सांसद सुवालले भन्नुभयो, “सरकारहरूले कृषिमा ध्यान नदिँदा दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट किन्नुपर्ने अवस्था भयो । कृषि वैज्ञानिकहरूलाई पनि नेपालमा रोजगारी नदिई वैदेशिक रोजगारीमा पठाउनु सरकारको देशघाती काम हो ।”
सहकारी संस्थाका सदस्यहरूले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको पुस्तक ‘चिनियाँ जनकम्युन’ अध्ययन गर्नु जरूरी भएको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नयाँ पुस्तालाई जाँड–रक्सी, जुवा–तास, लागूपदार्थबाट टाढा राख्ने कार्यक्रम बनाउनु जरूरी छ । डाक्टर अरूणा उप्रेतीले चाउचाउ, चिसो पेय पदार्थलगायत पत्रु खानेकुराबाट स्वास्थ्यलाई हानि हुने बारम्बार उठाउनुभएको छ । यसलाई सहकारीका सदस्यहरूले आत्मसात गर्नु आवश्यक छ ।”
कार्यक्रममा संस्थाका अध्यक्ष रोशनमैया सुवाल, भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, कोषाध्यक्ष सरोज लवजू र सदस्य पुण्यराम सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *