भर्खरै :

‘सी.टी.एल. मजदुर आन्दोलन’ पुस्तक सार्वजनिक

‘सी.टी.एल. मजदुर आन्दोलन’ पुस्तक सार्वजनिक

भक्तपुर, १८ मङ्सिर । नेपाल क्रान्तिकारी औद्योगिक मजदुर सङ्घ सी.टी.एल. एकाइको प्रकाशन ‘सी. टी. एल. मजदुर आन्दोलन’ पुस्तक प्रकाशन र परिचर्चा कार्यक्रम सम्पन्न भयो ।
२०६९/०७० सालमा उक्त उद्योगमा कार्यरत चार जना मजदुरहरूलाई गैरकानुनी रूपमा निष्कासन गर्न खोज्दा मजदुर आन्दोलन भएको थियो । १०४ दिनसम्म चलेको आन्दोलन अन्तिममा वार्ताद्वारा टुङ्गिएको थियो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका कोषाध्यक्ष विष्णुराम दुमरूले मजदुर एकताले जस्तोसुकै शक्तिलाई परास्त गर्न सकिने उदाहरण सीटीएल मजदुर आन्दोलन हो भन्नुभयो । उहाँले साम्राज्यवादी अमेरिकाको कारण विश्वमा अशान्ति भइरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य राजकृष्ण गोराले १०४ दिनसम्म चलेको मजदुर आन्दोलनका घटना परिघटनाबारे चर्चा गर्दै पुस्तक प्रकाशनले इतिहासलाई जीवित पारेकोमा खुसी प्रकट गर्नुभयो ।
उद्योगमा मजदुर आन्दोलन शिथिल पार्न पैसाको बिट्टो दिने, युनियन पदाधिकारीलाई लोभमा फसाउने, डरत्रास देखाउने अनेक घटनाबारे चर्चा गर्दै उहाँले बौद्धिक मजदुर र शारीरिक मजदुरबिच भेदभाव गर्न नहुने प्रस्ट पार्नुभयो ।
अधिवक्ता एवं मेलमिलापकर्ता विकल प्रजापतिले ढिलै भए पनि पुस्तक प्रकाशनले सङ्गठनको योगदानको कदर र महत्व उजागर भएको बताउनुभयो । पुस्तकमा भएका कमीकमजोरी औँल्याउनुपर्ने बताउँदै उहाँले सीटीएल मजदुर आन्दोलन नेपाल क्रान्तिकारी मजदुर सङ्घको इतिहासको एक उपलब्धि भएको बताउनुभयो ।
एकाइ समितिका अध्यक्ष कृष्णहरि आगन्जाको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका पूर्व जिल्ला सचिव दिनेश ग्वाछा, सल्लाहकार एवं पूर्वअध्यक्ष रूकेश कवां, राजकुमार लिवी, दीपा श्रेष्ठलगायतले पुस्तक र आन्दोलनका विभिन्न पक्षहरूबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *