भर्खरै :

चित्तपोलमा स्वास्थ्य शिविर सम्पन्न

चित्तपोलमा स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, १८ मङ्सिर । सूर्यविनायक नगरपालिका वडा नं. १० को चितपोल सामुदायिक सिकाइ केन्द्र र शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैँजूको आतिथ्यमा मङ्गलबार देउजागाउँ आधारभूत विद्यालयमा सम्पन्न भयो ।
कार्यक्रममा सांसद सृजना सैँजूले स्वास्थ्य र शिक्षा निःशुल्क हुनपर्छ भनी संसद्मा कुरा उठाएको प्रसङ्ग उल्लेख गर्दै नेपालका दुर्गम जिल्लाका जनताका स्वास्थ्योपचार गर्न नपाएर अकालमै ज्यान गुमाउनुपरेको बताउनुभयो ।
उहाँले प्यालेस्टिनमा डाक्टरहरूले आफ्नो ज्यान जोखिममा राखेर इजरायली आक्रमणबाट घाइते प्यालेस्टिनी जनताको इमानदारीपूर्वक सेवा गरिरहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ मेडिकल कलेजका व्यवस्थापन प्रमुख प्रेम सुवालले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्दै जनताको सेवा गर्दै आएको बताउनुभयो ।
बृहत् स्वास्थ्य शिविर कार्यक्रम संयोजक सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुभेच्छा बचत तथा ऋण सहकारीका अध्यक्ष विश्वराम लवजू, चितपोल सामुदायिक सिकाइ केन्द्रका विष्णुप्रसाद सुवाल, प्रेम जोशीले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । शिविरमा नाककान घाँटी, बालरोग, भिडियो एक्सरे, ल्यावटेस्ट, आँखा जाँच, जनरल मेडिकल, दन्तरोग सेवा, छाला रोग सेवा, स्त्रीरोग, हाडजोर्नी तथा नसारोगलगायत ३ सय जनाले परीक्षण गराए ।
कार्यक्रममा काठमाडौँ मेडिकल प्राविधिक टोलीलाई संस्थाको तर्फबाट धन्यवादसहित प्रशंसापत्र प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *