भर्खरै :

आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न भक्तपुर महोत्सव

आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न भक्तपुर महोत्सव

भक्तपुर, २१ मङ्सिर । नाचगानको राजधानी, सांस्कृतिक नगर र जीवित सङ्ग्रहालयको रूपमा परिचित भक्तपुरमा यही मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुँदै छ । भक्तपुर नगरपालिकाको आयोजनामा हुने उक्त कार्यक्रमको समुद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुहुनेछ । उद्घाटन कार्यक्रम विश्व सम्पदामा सूचिकृत भक्तपुरको दरबार क्षेत्रमा हुने आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ ।
मूर्त र अमूर्त सम्पदाले भरिपूर्ण भक्तपुर आठौँ शताब्दीमा स्थापना भएको मानिन्छ । १२ औँदेखि १५ औँ शताब्दीसम्म नेपाल मण्डलको राजधानी सहर रहेको भक्तपुर १८ औँ शताब्दीसम्म एक स्वतन्त्र राज्य रहेको इतिहास छ ।
भक्तपुरमा लिच्छविकालीन र मल्लकालीन विभिन्न सम्पदाहरू अद्यापि जीवन्त देख्न पाइन्छ । दरबार क्षेत्रका ५५ झ्याले दरबार, स्वर्णद्वार, टौमढीस्थित देशकै अग्लो ३२० वर्षभन्दा पहिले निर्माण गरिएको ङातापोल्हँ (पाँचतले मन्दिर) र भैरवनाथको मन्दिर तथा दत्तात्रय मन्दिर काष्ठकला, धातुकला र प्रस्तरकलाका उत्कृष्ट नमुनाहरू हुन् । साथै, नगरका ठाउँ ठाउँमा मठ, मन्दिर पाटी, ढुङ्गेधारा पोखरीलगायत धेरै सम्पदाहरू छन् । भक्तपुर नगरका ती नै मूर्त र अमूर्त सम्पदाहरूको मूल्याङ्कन गरी सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो ।
यहाँका विभिन्न सम्पदाहरू संरक्षणको अभावमा केही लोप भइसके भने कैयौँ लोपोन्मुख अवस्थामा पुगे । भक्तपुर नगरपालिकाले लोप भइसकेका सम्पदाहरूको उत्खनन् गरी मौलिक स्वरूपमै पुनःनिर्माण गर्ने प्रयत्न गरिरहेको छ भने लोपोन्मुख सबैजसो सम्पदाहरूलाई संरक्षण गरिरहेको छ ।
भक्तपुरका ती नै मूर्त र अमूर्त सम्पदाहरूको अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटकहरू भक्तपुर आउने गर्छन् । संसारका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूमध्ये अहिले २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेका छन् । गत आ.व. मा नेपालमा १० लाख पर्यटकहरू भित्रिएकोमा भक्तपुरमा करिब २ लाख ५० हजारले भ्रमण गरेको रेकर्ड छ । भक्तपुरको भ्रमण गर्ने पर्यटकहरूबाट केही पर्यटन शुल्क सङ्कलन गर्ने गर्दै आएको र त्यसबाट भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ, पर्यटन तथा विकास निर्माणको क्षेत्रमा खर्च गर्दै आएको छ ।
विदेशी पर्यटकहरूसँगै आन्तरिक पर्यटकहरूको पनि प्रवद्र्धन गर्ने भक्तपुर महोत्सवको उद्देश्य रहेको नगरपालिकाले जनाएको छ । महोत्सवमा भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत विभिन्न गतिविधिहरू प्रदर्शन गरिनेछ । नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरूमा महङ्खवपूर्ण गतिविधि हुनेछन् भने त्यसबाहेक भक्तपुरका चोक र गल्लीहरूमा पनि स्थानीयवासीहरूले विभिन्न आकर्षक गतिविधिहरू गरिरहनेछन् । महोत्सवको पाँचै दिन भक्तपुर पूरै नगर महोत्सवमय देखिने र साँच्चिको भक्तपुर वास्तविक चित्र त्यतिबेला हेर्न र बुझ्न सकिने अपेक्षा गरिएको छ । अध्ययन अनुसन्धान गर्नेहरूको लागि पनि त्यो एक महङ्खवपूर्ण अवसर हुने आयोजक नगरपालिकाले जनाएको छ ।
राजनैतिक विभाजनअनुसार १० वटा वडामा विभाजित भक्तपुर नगरपालिका महोत्सवको बेला सबै वडाहरूमा कुनै न कुनै गतिविधि भइरहनेछ । अझ महोत्सवलाई थप आकर्षक बनाउन महोत्सवकै बेला मङ्सिर २९ गते खुला बाँसुरी बाजा प्रतियोगिताको पनि आयोजना गरिएको छ । बाँसुरी बाजा प्रतियोगिता वडा नं. १० क्वाठण्डौ टोलमा हुनेछ भने लाँम्हु गः चौरमा पुस्तक प्रदर्शनी तथा भनपा ७ गोल्मढीमा सहकारीका उत्पादन प्रदर्शनी हुनेछ ।
महोत्सव सफल पार्न भक्तपुरका टोल टोलमा विभिन्न भेला र छलफल कार्यक्रमहरू भइरहेका छन् र सम्पूर्ण नगरवासीहरूलाई सहयोगका लागि नगरपालिकाले आग्रह रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *