भर्खरै :

स्थानीय जनतालाई सदस्य बनाउनु र कृषि तथा साना उद्योगलाई सहयोग गर्नु सहकारीको उद्देश्य

स्थानीय जनतालाई सदस्य बनाउनु र कृषि तथा साना उद्योगलाई सहयोग गर्नु सहकारीको उद्देश्य

भक्तपुर, २२ मङ्सिर । “सहकारीको सिद्धान्त स्थानीय जनता सदस्य हुने र कृषि तथा साना उद्योगलाई सहयोग गर्ने हो । सदस्यहरूलाई शैक्षिक कर्जा उपलब्ध गराउनु पनि उत्तम हो । समुदायमा आधारित सहकारी संस्थाले शुभलाभलाई जोड दिनुहुँदैन । ब्याजको लोभ देखाएर कतिपय सहकारीले जनताको खर्बाैँ रूपैयाँ ठगी गरेको सार्वजनिक भइरहेको छ । तर, जनताको बचत फिर्ता भएको छैन ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले शनिबार आयोजित चाँगुनारायण बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभामा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “निजी बैङ्कले पनि जनताको बचत विदेशी बैङ्कमा जम्मा गरेको सार्वजनिक भइरहेको छ । सरकार मूकदर्शक भएर बसेको परिणाम देशको अर्थतन्त्र कमजोर भइरहेको छ; राजस्वले कर्मचारीको तलब नपुग्ने अवस्था भयो ।”
“सरकारमा गएकाहरू सडक, पुल, विद्युत्, टेलिफोन, भवन बनाएको दाबी गर्छन् तर, २६ खर्ब रूपैयाँ ऋण ल्याएको बोल्दैनन् । देशलाई ऋणमा डुबाएर विकासको नाममा बालुवाको घर बनाउनु महान्ता होइन”, सांसद सुवालले स्पष्ट पार्नुभयो ।
करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाउने र दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट महँगोमा खरिद गर्ने सरकारहरू देशघाती नै भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपालको नदीनाला भारतलाई दिने र भारतसँग महँगोमा बिजुली किन्ने सरकारहरू पनि देशघाती हुन् ।”
“भारतले नेपालसँग जल र सीमा विवाद सुल्झाएको छैन । यसकारण, भारतले नेपालविरूद्ध नाकाबन्दी गर्ने खतरा छ । सहकारी संस्थाहरूले खाद्यान्न उत्पादनमा जोड दिनु जरूरी छ भने सरकारले कृषिलाई आवश्यक मल, बीउबिजन पनि समयमा उपलब्ध गराउनु अत्यावश्यक छ । तर, १५–२० वर्ष भयो किसानहरू समयमा मल नपाएर तड्पिरहेका छन्; सरकारहरू मूकदर्शक बनिरहेका छन् ।” उहाँले भन्नुभयो ।
चाँगुनारायण मन्दिर वरिपरि बालुवा र माटो निकाल्न नहुने आवाज सुरूदेखि उठे पनि सरक।रहरूले नरोकेको उल्लेख गर्दैै सांसद सुवालले भन्नुभयो, “प्रजग कोरियामा प्राकृतिक सम्पदा पहाड रक्षा गर्न सुन खानीसमेत उत्खनन् नगरिएको सार्वजनिक भयो ।”
“नेपालका सरकारहरूले चाँगुनारायणजस्तो विश्व सम्पदाको वरिपरि बालुवा र माटोसमेत बाँकी राखेनन् । सुन फेला परे सम्पदा नै भत्काउने नगर्ला भन्न सकिँदैन”, उहाँले भन्नुभयो ।
भारतको संसद्मा ६६ प्रतिशत फौजदारी मुद्दा लागेका र अर्बपति भएको सार्वजनिक भएजस्तै नेपालमा पनि गरिबको मत लिएर शोषकहरू संसद् र मन्त्री बन्दै छन्, यसतर्फ नेपाली जनता सचेत हुनु आवश्यक भएको उहाँले बताउनुभयो ।
सहकारी संस्थाले सदस्यका छोराछोरी र नयाँ पुस्तालाई सुसंस्कृत बनाउन आवश्यक कार्यक्रमहरू बनाउनु जरूरी रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेमकिपाका जनप्रतिनिधिहरू निर्वाचित भक्तपुर नगरपालिकाले ख्वप शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरिका सर्वसाधारण जनताका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गराउँदै छन् । ख्वप विश्वविद्यालय विधेयक पारित र भक्तपुर सल्लाघारी तीनकुनेस्थित हाल नेपाल ट्रस्टको नाममा रहेको भक्तपुरकै जनताको १०८ रोपनी जग्गा उपलब्ध भए भक्तपुर नगरपालिकाले १५ लाखमै एमबीबीएसको शिक्षा दिने तयारी गरेको छ ।”
कार्यक्रममा संस्थाका अध्यक्ष श्रीभक्त भडेल, सचिव रमेशबहादुर श्रेष्ठ, वडाध्यक्ष रोजिबहादुर तामाङ, प्राचार्य शिवबहादुर खुलिमुलि, शारदा थापामगर, दिवाकर शर्मा, चक्रधरानन्द राजोपाध्याय, ध्रुवनारायण भडेललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *