भर्खरै :

भक्तपुर महोत्सवमा स्वच्छ, सफा सहरको परिचय दिनुपर्ने

भक्तपुर महोत्सवमा स्वच्छ, सफा सहरको परिचय दिनुपर्ने

भक्तपुर, २४ मङ्सिर । भक्तपुर महोत्सवको प्रचारको क्रममा भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार छिकोङ खेल प्रदर्शनी भक्तपुर दरबार क्षेत्रमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले छिकोङ अभ्यासले शरिरको बाहिरी र भित्री अङ्गलाई बलियो बनाउने धारणा राख्दै शरिरलाई सन्तुलित आहारसँगै शारीरिक अभ्यास पनि जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “छिकोङ श्वासप्रश्वाससँग सम्बन्धित भएको हुँदा यसले शरिरको भित्री अङ्ग फोक्सो, मुटु, किड्नीको आयु लम्ब्याउँछ । छिकोङ अभ्यासले घाँटीको टन्सिलसमेत निको भएको भुक्तभोगीहरूको प्रतिक्रिया छ ।”
सन्तुलित आहारमा विषादी नभएको खाद्यान्न र तरकारी जरूरी रहेको उल्लेख गर्दै सांसद सुवालले विषादी नभएको खाद्यान्न र तकारीको लागि बस्ती वरिपरिको खेतीपातीको व्यवस्था भएको सन्तुलित विकास जरूरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् १९५० को सन्धिमा तत्कालीन सरकारका प्रधानमन्त्रीले भारतसँग गरेको सम्झौतामा नेपाललाई आवश्यक सामान भारतसँगै किन्नुपर्ने प्रावधान राखेका थिए । भारतीय एकाधिकार पुँजीले नेपाललाई रासायनिक मललगायत समयमा नदिने दाउ लिँदै छ । यसले नेपालको अर्थतन्त्र भारतको कब्जामा रहने पुष्टि गर्छ ।”
भक्तपुर महोत्सवमा यहाँको भेषभूषा, नाचगानको सँगसँगै सफा र स्वच्छ वातावरण र सन्तुलित र स्वस्थकर खाद्यान्नको व्यवस्था गर्नु अति आवश्यक भएको सांसद सुवालले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव सफल पार्न सबैमा अनुरोध गर्दै नगरको सरसफाइमा सबैले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुरको पहिचानलाई झल्काउने प्रदर्शनी गर्नुपर्ने र महोत्सव अविष्मरणीय बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न प्रमुख प्रजापतिले आग्रह गर्नुभयो ।
उपप्रमुख रजनी जोशी, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको उक्त कार्यक्रममा भक्तपुर महोत्सव सचिवालय संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर महोत्सवबारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *