भर्खरै :

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा महिला भेला

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा महिला भेला

भक्तपुर, २५ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा महिला भेला कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिला र पुरुषबिचको विभेद सदियौँदेखि चलिआएको बताउँदै समाजमा व्याप्त अन्धविश्वासले पनि लैङ्गिक हिंसालाई बढावा दिने बताउनुभयो ।
लैङ्गिक हिंसाविरुद्धको अभियानमा सबै एकाकार भएर लाग्नुपर्ने बताउँदै महिलाहरूले आफूलाई आत्मनिर्भर भएर बाँच्न प्रेरित गर्नुभयो ।
लैङ्गिक हिंसा पनि पुँजीवादी व्यवस्थाको विकृत रूप हो भन्दै उहाँले समाजवादी व्यवस्थामा मात्र महिलाहरूले समानतापूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता हुने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले लिङ्गको आधारमा गरिने शारीरिक, मानसिक र यौनजन्य हिंसा नै लैङ्गिक हिंसा भएको बताउनुभयो ।
उहाँले महिला भएकै कारण हिंसाबाट पीडित हुनुपर्ने बाध्यताको अन्त्य हुन जरुरी रहेको बताउँदै सभ्य र सुसंस्कृत समाज निर्माणमा महिला र पुरुषको भूमिका बराबर रहेको बताउनुभयो ।
भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले लैङ्गिक हिंसाको अन्त्य आफ्नो घर परिवारबाटै हुनुपर्नेमा जोड दिँदै नेपालको संविधानले महिला हकको व्यवस्था गरे पनि शिक्षाको अभावका कारण महिलाहरू आफ्नो हक अधिकारबाट वञ्चित रहनुपरेको यथार्थबारे प्रस्ट पार्नुभयो ।
महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक एवम् भक्तपुर नगरपालिका कार्यपालिका सदस्य रोशनमैंया सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका सदस्य हेरा ख्याजु र सुमित्रा बोहजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *