अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
थाइरोइडको क्यान्सर एक महत्वपूर्ण तथा निको हुने क्यान्सर हो । जुनसुकै उमेरमा यो क्यान्सर भए पनि पुरुषको तुलनामा महिलामा बढी देखिन्छ ।
थाइरोइड ग्रन्थी घाँटी अगाडिको भागमा लगभग २० ग्रामको दुई वटा भाग भएको ग्रन्थी अवस्थित हुन्छ । दुई वटा भागलाई इस्थमसले जोडेको हुन्छ । थाइरोइड ग्रन्थी विभिन्न कोषले बनेको हुन्छ । कोषहरू अनियन्त्रित तरिकाले बढ्दै गयो भने क्यान्सर हुनसक्छ ।
अन्य क्यान्सरको तुलनामा थाइरोइडको क्यान्सर पूर्ण निको हुने क्यान्सरमा पर्छ । यो क्यान्सर जुनसुकै उमेरमा हुने भए पनि हामीकहाँ २० देखि ५० वर्षमा बढी देखिन्छ ।
लक्षणहरू
सुरुको अवस्थामा यस क्यान्सरको कुनै पनि लक्षण देखापर्दैन । जब क्यान्सर बढी हुँदै जान्छ तब लक्षण देखिन्छ ।
– घाँटीमा असहज हुनु वा दुख्नु,
– गलगाँड हुनु अथवा एकातिर मात्रै गाँठो हुनु,
– निल्न गा¥हो हुनु,
– आवाजमा परिवर्तन हुनु,
– खोकी लाग्नु, श्वास फेर्न कठिन हुनु ।
कारणहरू
– आयोडिन कमी एउटा प्रमुख कारण मानिन्छ । खासगरी धेरै गलगाँड हुने ठाउँमा क्यान्सर बढी हुन्छ ।
– विकिरणको कारणले गर्दा पनि थाइरोइडको क्यान्सर हुनसक्छ ।
– केही क्यान्सर वंशाणुगत पनि हुनसक्छ ।
निदान
१. रगतको परीक्षण :
क्यान्सरले गर्दा थाइरोइड ग्रन्थीबाट निस्कने टीथ्री, टीफो, टीएसएच सामान्य, कम अथवा बढी छ भन्ने पत्ता लगाइन्छ ।
२. घाँटीको भिडियो एक्सरे :
यो परीक्षणबाट खासगरी गाँठो ठोस अथवा पानीको फोका के हो भनेर पत्ता लगाइन्छ । घाँटीमा लिम्फ ग्रन्थी सुन्निएको छ भने पनि थाहा हुन्छ । प्रायः शङ्कास्पद तन्तुबाट भिडियो एक्स–रेमा हेर्दै जाँचको लागि कोष तथा तन्तु झिकिन्छ ।
३. रेडियोआइसोटोप स्क्यान :
हर्मोनको मात्रा बढी भएको खण्डमा रेडियोएक्टिभ तत्व जस्तैः– आयोडिन नशाबाट दिएर कति थाइरोइड ग्रन्थीमा गयो भनेर नापिन्छ । यसैको आधारमा थाइरोइडको गाँठोलाई वर्गीकरण गरिन्छ । कोल्ड नोल्डयुलमा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
४. अन्य :
क्यान्सर कहाँसम्म फैलिएको छ भनेर विशेष एक्सरेहरू सीटी, एमआरआई तथा पेट स्क्यान पनि गर्नुपर्ने हुनसक्छ । क्यान्सरको उपचारपछि रगतको परीक्षण नियमित गरिन्छ ।
थाइरोइड क्यान्सरका किसिम
थाइरोइड ग्रन्थीको कुन कोषहरूबाट क्यान्सर सुरु भएको हो भनेर क्यान्सरको किसिम छुट्याइन्छ ।
क) पैपिलरी क्यान्सर लगभग ८० प्रतिशत क्यान्सर हुन्छ । हुन त यो क्यान्सर लिम्फ ग्रन्थीमा सर्ने भए पनि उपचार गरे निको हुने क्यान्सरमा पर्छ ।
ख) फोलिकुलर क्यान्सर लगभग १५ प्रतिशतमा हुन्छ । सुरुको अवस्थामा पत्ता लगाउन सके निको पार्न सकिन्छ । यस्तो क्यान्सर रगतको माध्यमबाट सर्ने भएकोले अन्य अङ्गमा सरिसकेपछि निको पार्न कठिन हुन्छ ।
ग) पैपिलरी, फोलिकुलर र हरथल सेल क्यान्सरलाई क्यान्स कोषहरू छुट्टिनेमा पर्छ । यी क्यान्सरहरू निको हुने सम्भावना धेरै रहन्छ ।
घ) एनाप्लास्टिक क्यान्सर लगभग दुई प्रतिशतमा देखिए पनि निको हुने सम्भावना एकदमै कम हुन्छ । कोषहरू नछुट्टिने भएको हुनाले यस क्यान्सरलाई एनाप्लास्टिक अथवा अनडिफरेन्सिएटेड क्यान्सर भनिन्छ ।
क्यान्सरका अवस्थाहरू
क्यान्सरका उपचारपछि निको हुने सम्भावना रोगको अवस्थामा भर पर्छ । अन्य क्यान्सरमा जस्तै थाइरोइडको क्यान्सरको अवस्था ट्युमरको नाप, ग्रन्थीमा सरेको तथा अन्य अङ्गमा सरेको अवस्थामा भर पर्छ । हुन त क्यान्सरको किसिम तथा बिरामीको उमेर पनि यसका लागि महत्वपूर्ण मानिन्छ ।
पहिलो स्टेज : ट्युमर दुई सेन्टीभन्दा सानो र लिम्फ ग्रन्थीमा नसरेको ।
दोस्रो स्टेज : ट्युमर ४ सेन्टीको तर लिम्फ ग्रन्थीमा नसरेको ।
तेस्रो स्टेज : टयुमर ठुलो र लिम्फ ग्रन्थीमा सरेको ।
चौथो स्टेज : क्यान्सर अन्य अङ्गमा सरेको ।
उपचार
थाइरोइड क्यान्सरको उपचार विधि क्यान्सरको किसिम, अवस्था र बिरामीको उमेरमा भर पर्छ । यस क्यान्सरको लागि निम्न उपचार विधिहरू प्रचलनमा छ :
शल्यक्रिया :
यस क्यान्सरमा शल्यक्रियालाई प्रमुख उपचार विधिका रूपमा लिइन्छ । यस क्रममा क्यान्सर भएको भागलाई आवश्यकता अनुसार निकाल्ने गरिन्छ । जसमा सम्पूर्ण निकाल्ने र लिम्फ ग्रन्थीमा सरेको छ भने घाँटीका ग्रन्थीहरू निकाल्ने गरिन्छ । धेरै बिरामीहरूलाई शल्यक्रियाबिना नै निको हुन्छ । यद्यपि, हर्मोन उत्पादन नगर्ने ग्रन्थी नहुने भएकोले हर्मोन भने दिइराख्नुपर्ने हुन्छ ।
रेडियोथेरापी वा रेडियोएक्टिभ थेरापी :
उपचार यस विधिले बाँकी रहेका क्यान्सर कोषहरूलाई नष्ट गरिदिन्छ ।
केमोथेरापी :
प्रायः एनाप्लास्टिक क्यान्सरमा टयुमर निकाल्न नसके पनि बिरामीका समस्याहरू कम गर्न रेडियोथेरापी र केमोथेरापी दिने गरिन्छ ।
रोकथाम :
अन्य क्यान्सरहरूलाई जस्तै थाइरोइड क्यान्सरलाई पनि रोकथाम गर्न सकिन्छ । यसको प्रमुख कारक तत्वहरू जस्तैः विकिरण प्रदूषणबाट बच्ने तथा एकदमै न्यून गर्नुपर्छ । आयोडिनको कमी हुन दिनु हुँदैन ।
थाइरोइड क्यान्सर हुने जोखिम समूहका मानिसहरूले नियमितरूपमा परीक्षण गराएर सुरुमा नै यसको उपचार गर्नु रोकथाम हो ।
(डा. सिंह क्यान्सर रोग विशेषज्ञ हुन् ।)
Leave a Reply