भर्खरै :

भक्तपुर महोत्सव – जनताको साझा महोत्सव (मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म)

भक्तपुर महोत्सव – जनताको साझा महोत्सव (मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म)

आठौँ शताब्दीमा स्थापित भक्तपुर नगर मठमन्दिर, कला कृतिले भरिपूर्ण नमुनाको सहर हो । यहाँका चाडपर्व पनि प्रकृति र मौसमसँग जोडिएको छ । यहाँका नगरवासीहरूको कला, संस्कृति र संस्कारको छुट्टै पहिचान छ । काठैकाठले बनाइने मन्दिर शैलीमा निर्माण गरिने भैरवको रथ त्यतिबेलाको काष्ठकलाको अनुपम नमुना हो । यहाँको संस्कार, संस्कृति, अतिथि सत्कार, सहयोगी भावना, निःस्वार्थरूपमा अरुको सेवा गर्ने भावना अनुकरणीय छ । राणा र पञ्चायतको बेला शिक्षा र स्वास्थ्यको स्थिति दयनीय थियो । मठमन्दिर जीर्ण अवस्थामा थियो । समाजलाई अगाडि लानेभन्दा शासकहरू जनतालाई दास बनाएर सधैँ शासन गरिरहने काममा लागे । समाज उत्थानमा केही गरिएन । यहाँका युवाहरू रोजगार र शिक्षाको निम्ति देश छोडेर लाखौँलाख बिदेसिरहेका छन् । देशभक्ति भावनाबाट ओतप्रोत हुनुपर्ने युवाहरूमा दास मानसिकताले जरा गाडेको छ । पैसाको निम्ति विदेशी भूमिको सेवा गरेर नेपाललाई परनिर्भर बनाउँदै छ । सरकारले आफ्नै देशमा रोजगारी र शिक्षाको उचित बन्दोबस्त नगर्दा यो समस्या देखिएको हो ।
शासकहरूको अझै देश उकास्ने, जनताको निःस्वार्थरूपमा सेवा गरी आर्थिक र सामाजिक स्तर उकास्ने, रोजगारीको बन्दोबस्त र कलासंस्कृतिको संरक्षण र जगेर्ना गर्नेतर्फ ध्यान गएको छैन । देशको परिचय बोकेको भक्तपुरलाई अझ अगाडि बढाउन भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सवको आयोजना गरेको छ । डाइमन्ड शमशेर राणाले भक्तपुरलाई नाचगानको सहर भनेर चिनाए । चिनियाँ विदेशमन्त्रीले चिनियाँहरूको तीर्थस्थल भने । ई. पावेलले भक्तपुर नघुमे आधा संसार नघुमेको सरह हुने बताए । यस्तो सहरलाई भक्तपुर नगरपालिका र भक्तपुरका जनताले अझ राम्रो बनाउन मेहनत गरिरहेका छन् ।
विश्व सम्पदा सूचीमा सूचिकृत नगरमा जुजु धौ, भादगाउँले टोपी र हाकुपटासी प्रख्यात छन् । सफा सहर, सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल बनाउन भक्तपुर नगरपालिका लागिपरेको छ । क्षेत्रफलको आधारमा यो देशको सानो नगरपालिका हो ।
भक्तपुर नगरको मुख्य पोखरीहरूमा सिद्ध पोखरी, भाजु पोखरी, कमलविनायक पोखरी, गुह्य पोखरी छन् । दत्तात्रय मन्दिर, भैरव मन्दिर, पाँचतले मन्दिर, ५५ झ्याल दरबार, सुनढोका, दरबार क्षेत्र आदि यहाँका महत्वपूर्ण सम्पदा स्थलहरू हुन् ।
भक्तपुरको जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत गतिविधि प्रदर्शन गर्ने उद्देश्य महोत्सवको रहेको छ । भक्तपुरको सीप र उत्पादन विश्वसामु प्रदर्शन गर्ने महोत्सवको मुख्य उद्देश्य हो । असल, चरित्रवान नागरिक तयार गरी सुसंस्कृत जीवनयापन गर्नु समयको माग हो । देशभक्ति भावना र समाजवादी सोचको विकास गरी सांस्कृतिक क्रान्तिबाट अन्धविश्वास चिर्नु आवश्यक छ । आन्तरिक तथा बाह्य पर्यटक भित्याई रोजगारी सिर्जना गर्ने सोच, शान्त, सुन्दर, सुरक्षित भक्तपुर बनाउने भनपाको उद्देश्य रहेको छ ।
नेपाल कृषिप्रधान देश हो । कृषिमा आधारित देशमा मल र उन्नत बीउबिजनको अभाव छ । देशको सन्तुलित विकास नहुँदा काठमाडौँ उपत्यका धुवाँधुलो भएको छ । खानेपानी अभाव भएको छ । कृषि उत्पादन घटेसँगै खानपानको वस्तु विदेशबाट आयात गर्नुपर्दा आर्थिक भार थप्ने नै भयो । खेती जमिन घटेपछि काममा कमी आई बेरोजगारहरूको सङ्ख्या बढ्यो । ठुलठुला उद्योगहरू विकास गर्ने सम्भावना छैन । शासक दलका नेताहरू इमानदार नहुँदा उद्योगधन्दा विकास भएन । उद्योगधन्दा पनि कौडीको मोलमा विदेशीलाई बेच्दा नेपालीहरू बेरोजगारी बन्न बाध्य भए । यस्तो अवस्थामा महोत्सवले थोरै भए पनि टेवा पु¥याउनेछ ।
अतिथि देव भवः भन्ने भनाइलाई साक्षात्कार गर्ने अभियानको रूपमा महोत्सवलाई सफल बनाउनु सबैको साझा दायित्व हो । लोपोन्मुख संस्कार र संस्कृति संरक्षण गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेछ । महोत्सव अवधिभर नगरको आर्थिक गतिविधि वृद्धिका साथै सार्वजनिक सम्पत्ति संरक्षणमा टेवा पुग्नेछ ।
२०५४ साल कार्तिकमा आयोजित भक्तपुर महोत्सव, २०६९ पुस १६ गते आयोजित भक्तपुर सडक महोत्सव, २०७६ पुस १६ गते आयोजित सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, २०७९ चैत १८ र १९ गते आयोजित सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला, २०८० साउन २० गते भक्तपुरका पोखरीहरूको पदयात्रा मेला, २०८० पुस १४ गते बहाबही पदयात्राका साथ योमारी उत्सव भक्तपुर नगरपालिकाले सम्पन्न गरिसकेको छ । त्यसको अनुभव सँगाल्दै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन महोत्सवले टेवा पु¥याउनेछ ।
भक्तपुर महोत्सव भक्तपुरवासी र व्यवसायीहरूको आर्थिक र व्यवसायिक प्रवद्र्धनको निम्ति होे । भक्तपुरका परिश्रमी जनताको अथक मेहनत र परिश्रमले भक्तपुरको विकास अगाडि बढेको हो । भक्तपुर महोत्सवलाई जनताको महोत्सव र साझा महोत्सव बनाउनुपर्छ । भक्तपुर महोत्सव भक्तपुरका कला, संस्कृति, सांस्कृतिक सम्पदा, चाडपर्व रहनसहन, खाना, परम्परागत खेल आदिलाई देश विदेशमा चिनाउने र देखाउने सुनौलो अवसर हुनेछ । महोत्सव अध्ययन गर्ने थलोको रूपमा विकास हुने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *