भर्खरै :

असदको पतन रूसको लागि ‘पराजय’ होइन – राष्ट्रपति पुटिन

असदको पतन रूसको लागि ‘पराजय’ होइन – राष्ट्रपति पुटिन

मस्को, ४ पुस (एएफपी) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्वनेता बशर अल–असदको पतन रूसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य हासिल गरेको दाबी गर्नुभएको छ ।
असद परिवारको आधा शताब्दी लामो शासनको अन्त्य गर्दै एचटीएस समूहलगायत विद्रोहीहरूले आकस्मिक अग्रगति गरेपछि असद यस महिनाको सुरूमा देश छोडिनुभएको थियो ।
रूस असद शासनको प्रमुख समर्थक थियो र २०१५ मा उहाँको मद्दतमा आएर द्वन्द्वको दिशा नै परिवर्तन गरिदिएको थियो ।
पुटिनले वर्षको अन्त्यमा आफ्नो वार्षिक पत्रकार सम्मेलनमा एक अमेरिकी पत्रकारको प्रश्नको जवाफमा भन्नुभयो, “सिरियामा जे भइरहेको छ त्यसलाई तपाईँ रूसको पराजयको रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ । म तपाईंलाई आश्वस्त पार्छु यो त्यस्तो होइन, हामी १० वर्षअघि सिरियामा आएका थियौँ ताकि त्यहाँ अफगानिस्तानजस्तै आतङ्कवादी गढ बन्न नपाओस् । समग्रमा, हामीले आफ्नो लक्ष्य हासिल गरेका छौँ ।”
उहाँले मस्कोमा असदसँग भेट्न बाँकी रहेको तर चाँडै भेट्ने योजना बनाएको बताउनुभयो । “मस्को आइपुगेपछि मैले राष्ट्रपति असदलाई देखेको छैन तर म निश्चित रूपमा उहाँसँग कुरा गर्नेछु”, उहाँले भन्नुभयो ।
असदको पतनपछि पुटिनले पहिलोपटक सार्वजनिकरूपमा सिरियाको स्थितिबारे बोल्नुभएको हो ।
मस्को सिरियामा दुईवटा सैन्य आधारको भविष्य सुरक्षित गर्न उत्सुक छ । टार्टस नेभल बेस र हेमिमिम एयर बेस पूर्व सोभियत सङ्घ बाहिर रूसको एक मात्र सैन्य चौकीहरू हुन् र ती अफ्रिका र मध्यपूर्वमा क्रेमलिनका गतिविधिहरूका लागि महत्वपूर्ण रहेका छन् ।
पुटिनले ती अड्डाहरू रूसको नियन्त्रणमा राख्न समर्थन रहेको बताउनुभयो । “हामी त्यहाँ स्थिति नियन्त्रण गर्ने सबैसँग, क्षेत्रका सबै देशहरूसँग सम्पर्कमा छौँ । तिनीहरूको ठुलो बहुमत हाम्रा सैन्य अड्डाहरू त्यहाँ रहिरहनुमा चासो राख्छन् ।”, उहाँले भन्नुभयो ।
उहाँले तेहरानको अनुरोधमा रूसले चार हजार इरानी सैनिकलाई त्यस देशबाट निकालेको पनि बताउनुभयो ।

मुद्रास्फीति “चिन्ताजनक” भए पनि रूसी अर्थतन्त्र “स्थिर” – पुटिन
रूसी राष्ट्रपति पुटिनले बिहीबार उच्च मुद्रास्फीतिको चिन्ता व्यक्त गरे पनि बाह्य खतराहरूको सामना गर्न अर्थतन्त्र ‘स्थिर’ रहेको बताउनुभयो ।
रूसको केन्द्रीय बैङ्कले युक्रेनमा सैन्य आक्रमणकाबिच मूल्यवृद्धिको गतिलाई सम्बोधन गर्ने आफ्नो पछिल्लो प्रयासमा शुक्रबार ब्याज दर बढाउने तयारी गरेको छ ।
“समग्र अर्थतन्त्रको कुरा गर्दा बाह्य खतराहरू हुँदाहुँदै पनि रूसको स्थिति स्थिर छ, मुद्रास्फीति चिन्ताजनक सङ्केत हो”, टेलिभिजनमा प्रसारित वर्षको अन्त्यको पत्रकार सम्मेलनमा पुटिनले भन्नुभयो, “अप्रिय र नराम्रो कुरा भनेको मूल्यवृद्धि हो । तर मलाई आशा छ कि यदि समष्टि आर्थिक सूचकहरू कायम राखियो भने हामी यसलाई सामना गर्न सक्षम हुनेछौँ ।”
रूसले आधिकारिकरूपमा चार प्रतिशतको मुद्रास्फीतिलाई लक्षित गरेको छ । यद्यपि, सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएयता मूल्य उल्लेखनीयरूपमा तीव्रगतिमा बढेको छ ।
मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा केन्द्रीय बैङ्कले ब्याजदर दुई दशककै उच्च २१ प्रतिशतसम्म बढाएको छ । बैङ्कले शुक्रबार वर्षको अन्तिम बैठकमा फेरि ब्याजदर बढाउने तयारी गरेको छ ।
रूसले सैन्य आक्रमणमा व्यापकरूपमा खर्च बढाएको छ । लाखौँ मानिस सेनामा भर्ती भएका छन् र हतियार उत्पादनको काममा लगाएका छन् ।
पछिल्लो दुई वर्षमा रूसले युरो क्षेत्रभन्दा तीव्रगतिमा विकास गरेको पुटिनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *