भर्खरै :

वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको प्रयास जरुरी

वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको प्रयास जरुरी

भक्तपुर, ४ पुस । फोहरमैला व्यवस्थापन कुनै एउटा पालिका वा काठमाडौँ उपत्यकाको मात्रै समस्या नभई देशभरकै पालिकाहरूको साझा समस्या हो । साझा समस्याको समाधान सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासले मात्रै सम्भव हुन्छ ।
उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले आ.व. २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ‘वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी स्थानीय तहको असल अभ्यासको अवलोकन गर्ने सिलसिलामा भक्तपुर नगरपालिकाको वातावरण संरक्षण र संवद्र्धनसँग सम्बन्धित कार्यहरूबारे जानकारी लिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
भक्तपुर नपाको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा उहाँले फोहर व्यवस्थापनबारे विभिन्न देशहरूको अनुभवबाट भक्तपुरले सिक्दै यहाँको अनुकूलतामा लागु गर्न खोजिरहेको बताउनुभयो ।
उहाँले फोहरलाई आम्दानीको राम्रो स्रोत बनाउन सकिने भन्दै भक्तपुर नगरपालिकाले कुहिने फोहरको कम्पोस्ट मल बनाएर किसानहरूलाई बिक्री वितरण गर्दै आएको जानकारी गराउनुभयो ।
फोहरलाई स्रोतबाटै कम गर्ने उद्देश्यले भक्तपुर नपाले प्रत्येक घरबाट कुहिने र नकुहिने अलग अलग फोहर सङ्कलन गर्दै आइरहेको बताउँदै प्रमुख प्रजापतिले इँटा भट्टा, खोला र औद्योगिक क्षेत्रबाट हुने प्रदूषण वातावरण संरक्षणको चुनौतीको रूपमा रहेको बताउनुभयो ।
भक्तपुर नपा स्यानिटेसन शाखाका प्रमुख दिलिपकुमार सुवालले भक्तपुर नपाले गर्दै आएको फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दिनुभएको थियो ।
वातावरण विभागका सविन देशारले वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनसम्बन्धी असल अभ्यासको स्थलगत निरीक्षणको लागि वन तथा वातावरण मन्त्रालयले भक्तपुर नगरपालिका र धुलिखेल नगरपालिका छनोट गरेको अवगत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *