सरकारले सबै सहकारीलाई कमाइ खाने धन्दा ठानेर नीति ल्याउन नहुने
- आश्विन १७, २०८३
भक्तपुर, १७ असोज । बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभा शुभकामना पार्टी प्यालेस, कालाँचा–४, भक्तपुरमा सदस्य नं. १५४९ का ज्येष्ठ वयोवृद्ध सदस्य कृष्णमाया खर्बुजाको आतिथ्यमा संस्थाका अध्यक्ष राधेश्याम सुवालको सभाध्यक्षतामा शनिबार सम्पन्न भयो ।
साधारणसभामा वित्तीय साक्षरताका लागि प्रोस्कुनका सञ्चालक तथा स्रोतव्यक्ति एवं सहकारीकर्मी कृष्णगोविन्द लाखाजुबाट ७६ प्रतिशतको हाराहारीमा उपस्थिति रहेका सदस्यहरूलाई सहकारीसम्बन्धी ऐन, नियम, जारी सहकारी मापदण्डबारे, वित्तीय व्यवस्थापन, बचतको महत्व, ऋणको सदुपयोग, ऋण भुक्तानीमा अनुशासन, आयअनुसार खर्च व्यवस्थापन तथा भविष्यका लागि वित्तीय योजना निर्माणको विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो ।
उहाँले सहकारीका सदस्यले आफ्नो वित्तीय अवस्था बुझेर बचत तथा ऋणको कारोबार गर्न सके व्यक्तिगत आर्थिक स्थायित्वसँगै संस्थाको वित्तीय स्वास्थ्य पनि मजबुत हुने धारणा व्यक्त गर्नुभयो ।
“सामुदायिक व्यवहारको विकास गरौँ जसले गर्दा समाज राम्रो र सहकारी राम्रो हुनेछ” भन्ने विषयलाई जोड दिँदै उहाँले स्रोतव्यक्तिले वित्तीय साक्षरता पैसा बचत गर्ने विषय मात्र नभई आम्दानी, खर्च, बचत, लगानी, ऋण तथा जोखिम व्यवस्थापनसँग सम्बन्धित समग्र ज्ञान र व्यवहार भएको उल्लेख गर्दै सदस्यहरूलाई नियमित रूपमा आफ्नो आर्थिक गतिविधिको समीक्षा गर्न आग्रह गर्नुभयो । उहाँले सहकारीबाट लिएको ऋणलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरी समयमै किस्ता तथा ब्याज भुक्तानी गर्ने बानीले सदस्य र संस्थाबिचको विश्वास अझ मजबुत हुने बताउनुभयो ।
सभामा तयारी समितिका संयोजक एवं संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले स्वागत गर्नुभएको सो कार्यक्रममा संस्थाका वयोवृद्ध सदस्य कृष्णमाया खर्बुजाले पानसमा दीप प्रज्वलित गरी संस्थाको बाँसुरी बाजाको धुनमा उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद सुवाल, कोषाध्यक्ष रत्नकेशरी सुखुुपायो र लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण नागाले आ–आफ्नो प्रतिवेदन पारितको लागि प्रस्ताव पेस गर्नुभएको थियो ।
सञ्चालक सदस्य पुनेन्द्रप्रसाद कुसीले उद्घोषण गरेको सभामा संस्थाका शेयर पुँजी वृद्धि सदस्य २ जना, संरक्षित पुँजी फिर्ता कोष वितरणमा ऋण र बचततर्फ बढी योगदान गर्ने २ जना, धिमे बाजा प्रशिक्षार्थी २८ जना, प्रशिक्षक २ जना, २०८२ मा एसईई तह पूरा गर्नुहुने ५७ जना विद्यार्थीलाई सम्मानपत्र तथा कदरपत्र वितरण गरिएको थियो ।
सभामा सभाध्यक्ष एवं अध्यक्ष राधेश्याम सुवालले सहकारी संस्था सदस्यहरूको साझा आर्थिक संस्था भएकोले प्रत्येक सदस्यहरूको सक्रिय सहभागिता र अटुट विश्वास, सञ्चालक समितिको दूरदर्शी नेतृत्व र कर्मचारीहरूको लगनशीलताकै कारण संस्था आज यो उचाइसम्म पुग्न सफल भएको बताउनुभयो ।
अध्यक्ष सुवालले भन्नुभयो, “सहकारीको वास्तविक पुँजी केवल संस्थामा रहेको रकम होइन, सदस्यहरूको विश्वास हो । सदस्यको विश्वासलाई कायम राख्दै पारदर्शिता, सुशासन, वित्तीय अनुशासन र जवाफदेहितालाई संस्थाको मूल आधार बनाएर अगाडि बढ्नुपर्छ ।”
Leave a Reply