रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
झण्डै चार घण्टा गाडीमा तीन सय किलोमिटरको यात्रापछि हामी लानचोङ पुग्दा सिछुवानको त्यो प्राचीन सहरमा अझै पानी रोकिएको थिएन । च्यालिङच्याङ नदीमा ससाना पानीजहाज आफ्नै लयमा एकतमास तैरिरहेका देखिन्थे । सिछुवानमा मुस्किलले मात्र ताप्न पाइने पारिलो घाम केही दिनयता देखिएको थिएन । त्यसैले च्यालिङच्याङ नदी तर्दै गर्दा पारि लानचोङको प्राचीन नगर पनि जाडोले मलिन देखिन्थ्यो । प्रवेशद्वारमा लहरै उभिएका इन सिन सु (जिन्गो रुख) का गाढा पहेँला पातले भुइँभरि सुकुलसरि ओछ्याएर लानचोङ नगर हाम्रो स्वागत गरिरहेको थियो । वसन्त लागेसँगै गाढा हरियो कलेवर धारण गर्ने इन सिन रुख शरद् ऋतुमा भने पिताम्बर धारण गरेजस्तै पहेँला देखिन्छन् । शरद्मा पहेँलिएका यी रुखहरू ग्रीष्म ऋतु उक्लिएसँगै सबै पात झरेर नाङ्गै हुन्छन् । अनि वसन्त लागेसँगै हरिया पालुवा पलाउँछन् । फेरि पहेँलिनुअघि यिनले केही समयको लागि रातो रूप धारण गर्छन् । वर्षमा चार रूप धारण गर्ने इन सिन रुखको पहेँलो रूप भने मलाई विशेष आकर्षक लाग्छ । हरियो पृष्ठभूमिमा इन सिन रुखको पहेँलो कलेवरले शरद् ऋतुलाई निकै सुन्दर बनाएको अनुभव हुन्छ ।

गत वर्षको वसन्त पर्वमा पनि म लानचोङ नगर पुगेको थिएँ । उत्तिबेला वसन्त पर्वकै दिन आउँदा यो नगरमा पाइला टेक्नेसम्म ठाउँ थिएन । चिनियाँहरूको सबभन्दा ठुलो पर्व मानिने वसन्त पर्वको इतिहाससँग लानचोङ नगरको विशेष सम्बन्ध भएकोले पनि वसन्त पर्वको दिन यहाँ ठुलो मेला लाग्ने गर्छ । पश्चिम हान वंश (ईसापूर्व २०२.२२५) मा चिनियाँ नक्षत्र ज्ञानी लो स्याहोँगले बनाएको थाइ छु पात्रोमा वसन्त ऋतुलाई पहिलो महिना मान्न थालेपछि चिनियाँहरूले वसन्त पर्वलाई नयाँ वर्षको आरम्भका रूपमा मान्न थालेका थिए । लानचोङ यिनै नक्षत्र ज्ञानीको गृहनगर थियो । त्यही भएकाले लानचोङलाई हिजोआज वसन्त पर्वको जन्मथलो भन्ने गरिन्छ । चिनियाँ वसन्त पर्व आउन अब धेरै दिन बाँकी छैन । हामी लानचोङ पुग्दा त्यहाँ वसन्त पर्वको सुगन्ध फैलिसकेको थियो । नगरको खुला चोकमा केही किशोरहरू ताकु (सानो डम्फु आकारको बाजा) एक साथ बजाउने अभ्यास गरिरहेका थिए, जसरी काठमाडौँ उपत्यकाका युवायुवतीहरू धिमे बाजा बजाउँछन् । उनीहरू पक्कै वसन्त पर्वमा लाग्ने मेलाकै पूर्वाभ्यास गरिरहेको हुनुपर्छ ।
म आफू पनि प्राचीन तथा सांस्कृतिक नगरमा जन्मे हुर्केकोले हुनुपर्छ, मलाई यस्ता पुराना नगर आइपुग्दा त्यहाँका कुनै पनि विशेषतासँग आफ्नै ठाउँका विशेषतासँग तुलना गर्ने हतार भइहाल्छ । लानचोङको मध्तगमा उभिएको अग्लो मन्दिर उक्लिँदै गर्दा हाम्रा पथप्रदर्शकले भने, यो मन्दिरका सबै खम्बा र दलिन काठका चुकुलले एकअर्कासँग जोडिएका छन् । कतै पनि किला वा फलाम प्रयोग गरिएको छैन ।
उनका यी शब्द भुइँमा झर्न नपाउँदै मैले भनिहालेँ, हाम्रोतिरको भैल खः जस्तै ।
मन्दिरको उचाइबाट लानचोङ नगरको प्राचीन रूप सुन्दर देखिएको थियो । सबै घरहरू बढीमा साढे एक तला, नत्र एक तलाका मात्र थिए । हरेक घरका छाना झिङ्गटीले छाएका थिए । एकनासका घरहरूले त्यो नगरको दृश्य कुनै प्राचीनकालीन भित्तेचित्रजस्तै देखिएको थियो । घरहरूका बिच–बिचमा ससाना चोकहरू देखिन्थे । कुनै कुनै त्यस्ता चोकका बिचमा इन सिन र अन्य थरी रुखहरू उभिएका देखिन्थे । घरहरूका लहरसँगै ढुङ्गा छापिएका गल्लीहरू टल्किरहेका थिए । च्यालिङच्याङ नदीपारि पहाडका पत्रहरू पर गएर क्षितिजसँग मिलेका थिए ।
कम्तीमा २३ सय वर्ष लामो इतिहास बोकेको यो नगरको भौगोलिक विशेषता पनि गज्जबको छ । याङजी नदीको सहायक च्यालिङच्याङ नदी दक्षिण कान्सु प्रान्तको सिनलिङ पर्वतबाट झरेको हो र त्यहाँबाट यो नदी शान्सी प्रान्त घुम्दै सिछुवान झर्छ अनि छोङछिङ पुगेर याङजीसँग मिल्छ । च्यालिङच्याङ नदीले लानचोङ नगरलाई तीनतिरबाट फनक्क घेरेको छ । नगरको एकातिर मात्र पहाडहरू छन् । यस्तो भूगोललाई चिनियाँहरू सुरक्षा, मानव स्वास्थ्य, हावापानी आदि धेरै कारणले राम्रो ठान्छन् । यस्तै विशेष भूगोलको कारण यो नगर गर्मीयाममा उति गर्मी नहुने र जाडोयाममा पनि उति जाडो नहुने रहेछ । राम्रो ठाउँमा सबैको आँखा लाग्छ । त्यसकारण, इतिहासमा यो नगरले धेरै आरोहअवरोह झेलिसकेको त्यहाँका मिङ र छिङ वंशका युगौँ पुराना अवशेषहरूले बोलिरहेका थिए ।
परीक्षा लिएर उत्कृष्ट नतिजा ल्याउनेलाई मात्र सरकारी काममा लगाउने प्रणालीको सुरुवात चीनबाट भएको इतिहास धेरैलाई थाहा छ । चीनका पुराना नगरहरूमा अझै पनि सयौँ वर्षअघि यसरी परीक्षा लिने थलोको संरक्षण गरिएका छन् । लानचोङको पुरानो बस्तीमा पनि यस्तै एउटा परीक्षा केन्द्र संरक्षित छ । त्यहाँ पस्दा हामी आफैलाई पनि कुनै परीक्षा केन्द्रमा प्रवेश गरेजस्तो अनुभव भइरहेको थियो ।
एक जना मानिस बल्लबल्ल बस्न मात्र मिल्ने ससाना कोठातिर औँल्याउँदै हाम्रा पथप्रदर्शक भन्दै थिए, लौ हेर्नोस्, कुनै बेला चिनियाँ विद्यार्थीहरूले यस्ता ठाउँमा बसेर परीक्षा दिन्थे । परीक्षा उत्तीर्ण भएमात्र सरकारी जागिर पाउँथे ।
ती कोठामा विद्यार्थीहरूले नौ दिनमा तीन विषयका परीक्षा दिन्थे । नौ दिन परीक्षा दिएपछि परीक्षाफलको लागि एक महिना कुर्नुपथ्र्यो । परीक्षामा उत्तीर्ण भए सरकारी कामको लागि आवेदन भर्न पाइन्थ्यो । परीक्षार्थीले उत्तर पुस्तिकामा गल्ती भएर केरमेट गरे अङ्क काटिन्थ्यो । त्यसकारण, परीक्षार्थीले सतर्क भएर परीक्षा दिनुपथ्र्यो । सेनाको लागि परीक्षा दिनेले लिखित बाहेक धनुवाण चलाउने र घोडचढीको पनि परीक्षा दिनुपथ्र्यो । परीक्षा दिनलाई कुनै उमेरको बन्देज भने थिएन । त्यसैले कतिबेला एउटा कोठामा बुबा र अर्कोमा छोरा एकै पटक पनि परीक्षामा सामेल हुन्थे । ८० वर्ष उमेरकाले पनि परीक्षा दिएका अभिलेखहरू भेटिएका छन् ।
यति व्याख्या गरेपछि पथप्रदर्शकले मुसुक्क हाँस्दै भने, अब रमाइलो कुरा हेरौँ । तपाईँहरू परीक्षामा नक्कल गर्नु हुन्न होला है ? तर, प्राचीनकालमा मानिसहरू परीक्षामा नक्कल पनि गर्थे ।
त्यो कोठामा उतिबेलाको परीक्षामा के कसरी नक्कल गरिन्थ्यो भनी झल्काउने सामग्री प्रदर्शन गरिएको थियो । कसैले जिउभरि, कसैले भित्री गञ्जीभरि लेखेर नक्कल गर्ने प्रयत्न गर्थे । एउटा कोठामा नक्कलका लागि ल्याउने गरिएका सामग्री मात्र प्रदर्शित थिए । परीक्षा केन्द्रमा प्रश्नपत्र वितरण गरेपछि केही परीक्षार्थी आफूले तालिम दिएका परेवामार्फत प्रश्न पत्र बाहिर पठाउँथे । अनि त्यस्ता परेवा बाहिरबाट उत्तर लिएर फर्किन्थे । तर, परीक्षा अधिकारीहरू पनि कम चलाख थिएनन् । उनीहरूले पनि त्यस्ता परेवालाई हमला गर्ने अरु थरी चरा पालेका हुन्थे र त्यस्तो बेला तिनलाई खटाउँथे । पथप्रदर्शका कुरा सुनेर हलभरिका हामी सबै गललल हाँस्यौँ ।
नगरभित्रका अधिकांश पसलहरूमा त्यहाँका स्थानीय विशेषताका सामान बिक्रीको लागि राखिएका थिए । पानी परेकाले हो कि, हामी पुगेको दिन नगरका सडकमा उत्ति भिड थिएन । नगरका झण्डै सुनसान गल्लीमा केही ज्येष्ठ नागरिक एकअर्काका हात समातेर हिँड्दै थिए । जाडोले हामीलाई पनि कतिबेला होटल पुगौँ र केही तातो खाऔँ भइसकेको थियो । प्राचीन नगरभित्रै बस्ने होटलहरू भए तापनि हाम्रो बसाइँ भने च्यालिङच्याङ नदी किनाराको एउटा रिसोर्टमा मिलाइएको थियो । राति ढिलासम्म पनि च्यालिङच्याङ नदीमा जहाज चलेका दृश्य हामी बसेको रिसोर्टबाट देखिन्थ्यो ।
अर्को दिनको बिहान, हामी लानचोङको अझ बहिंगम दृश्यावलोकन गर्न नदीपारिको चिनफिङ पहाड उक्लियौँ । त्यो दिन पनि बिहानैदेखि पानी परिरहेको थियो । हामी उक्लिएको पहाडमा चीनका विख्यात कवि तु फुले इतिहासको कुनै कालखण्डमा पुगेर लानचोङ र चिनफिङ पहाडबारे कविताहरू लेखेका रहेछन् । उचाइ पुगेर लानचोङ नियाल्दा नगरको मनोरम दृश्य आँखामा कहिल्यै नमेटिने गरी समेट्न मिल्ने रहेछ । तीनतिर नदीले घेरेको यो नगरको आधाजति भाग प्राचीन नगरले ओगटेको छ भने आधा जति भागमा आधुनिक भवन उभिएको देखिन्थ्यो । झिङ्गटीले छाएका घरहरूले आधा भाग ओगटेको छ भने अर्को आधा भागमा अग्ला भवनहरू देखिन्थ्यो ।
पानीबाट जोगिँदै हामी हतारहतार लानचोङको अर्को विशेषता हेर्न ओर्लियौँ । हाम्रो अर्को गन्तव्य थियो, लानचोङको सिरका (भेनिगर) उत्पादनको सङ्ग्रहालय । कुनै पनि चिनियाँ परिकार पकाउन अपरिहार्य वस्तु हो सिरका । जसरी नेपालीलाई कुनै पनि तरकारी, मासु पकाउन तेलको खाँचो पर्छ, चिनियाँहरूलाई सिरकाको त्यतिकै महत्व हुन्छ जस्तो लाग्छ । सिरकामा मात्र चोपेर खाने परिकार पनि धेरै छन् चिनियाँहरूका । चीनले मानव समाजलाई दिएका धेरै आविस्कारमध्ये पर्छ, सिरका । चिनियाँहरूले सिरकाको प्रयोग भने इतिहासको निकै लामो समयअघिबाट गर्न थालेका हुन् । झण्डै मदिराकै जति लामो इतिहास सिरकाको पनि भएको सङ्ग्रहालयका पथप्रदर्शकले सम्झाउँदै थिए ।
चीनका विभिन्न ठाउँका (प्रमुखतः चार ठाउँका) सिरका विभिन्न कारणले प्रसिद्ध छन् । तीमध्ये चिनियाँ औषधिको प्रयोग भएको सिरका भनेर लानचोङको सिरका चीनभरि प्रसिद्ध छ । बाओ निन छु (चिनियाँ भाषामा सिरकालाई छु भनिन्छ) भनेर चिनिने लानचोङको सिरका चिनियाँहरू औषधिको रूपमा प्रयोग गर्छन् । प्राचीनकालमा सिपाहीहरू लडाइँ सकेर घर फर्किने बेला बाओ निन छु बोकेर परिवार भेट्न जान्थे, सङ्ग्रहालयका पथप्रदर्शक आफ्नो उत्पादनबारे व्याख्या गर्दै भन्दै थिए । सिरकाको इतिहास बौद्ध धर्मसँग पनि जोडिएको थियो । बहुमूल्य र बहुउपयोगी मानिने सिरकाको उत्पादन बौद्ध गुम्बाहरूमा गरिन्थ्यो । चिनियाँ दार्शनिकहरू लाओ त्सु र कम्फुसियसले पनि सिरकाको उपयोगिताबारे धेरै ठाउँमा व्याख्या गरेको सङ्ग्रहालयमा सङ्ग्रहित सामग्रीमा उल्लेख छन् ।
तर, इतिहासमा सिरका सर्वसाधारण जनताले उपयोग गर्न सक्दैनथे । राजा, राजपरिवार र दरबारियाले मात्र सिरका प्रयोग गर्न सक्थे । सिरकाको व्यापार पनि सीमित धनीमानीको हातमा हुन्थ्यो । सर्वसाधारणलाई सिरका बनाउने ज्ञान पनि सिकाइँदैनथ्यो । नयाँ चीन स्थापना पछि मात्र यसको उत्पादन सर्वसाधारण जनताको निम्ति खुला गरिएको थियो । आज त्यो हरेक चिनियाँ भान्छाको अपरिहार्य वस्तु बनेको छ । फर्किने क्रममा हामीलाई खान दिइएको सिरका खाँदा औषधि खाएजस्तो लागेको थियो । सधैँजसो खाइरहने सिरकाको पनि युगौँ पुरानो इतिहास सुनेर हामी सबै छक्क परेका थियौँ । चिनियाँहरूसँग भन्नलाई धेरै कथा छन्, सुनाउन धेरै इतिहास छन् र देखाउन धेरै कुरा छन् । लानचोङको प्राचीन बस्तीमा उभिँदा पनि यस्तै अनुभव भयो । रोचक कुरा, लानचोङजस्ता चिनियाँ प्राचीन नगरहरूले आफ्नो इतिहासका कथा सुनाउँदै आजको पुस्ताको सेवा गरिरहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकसँग प्रवेश शुल्क उठाएर इतिहासको जगेर्ना र तिनलाई जीवन दिने कार्य यस्ता नगरका बासिन्दाले गरिरहेका छन् । वसन्त पर्वमा फेरि पुग्ने हो भने लानचोङमा धेरै स्थानीय महिला र युवा समूहले आफ्नो ठाउँका परम्परागत नाचगान गरेर पर्यटकलाई आफ्ना पुर्खाका कथा कथिरहेका हुनेछन् ।
लानचोङको आकाशमा अझै कतै निलो आकाश देखिएको थिएन । कतिबेला दर्केर पानी पर्ने हो, टुङ्गो थिएन । अझै लामो बाटो फर्किनु थियो । त्यसकारण, च्यालिङच्याङलाई बिदाको हात हल्लाउँदै छङतुतिर फर्कियौँ ।
Leave a Reply