इरान–अमेरिका तनाव फेरि चर्कियो अमेरिकी सेनाद्वारा हर्मुज जलडमरु कब्जा गर्ने असफल प्रयास
- बैशाख २५, २०८३
तेहरान, १० मे (एएफपी) । इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ ।
यसै महिनाको सुरुवातमा अमेरिकी सरकारले इरानको हित र चासोका विषयमा नयाँ प्रतिबन्ध लगाएको थियो । अमेरिकाले जहाजलाई तेहरानका अधिकारीहरूलाई उक्त जलमार्गबाट जान पैसा नदिन आग्रह गरेको थियो ।
एएफपीले प्राप्त गरेको सूचनाअनुसार संयुक्त राज्य अमेरिका र बहराइनले इरानलाई जलमार्गबाट ढुवानीमा प्रतिबन्ध रोक्न आग्रह गरिएको संयुक्त राष्ट्रसङ्घमा पेस गर्न तयार पारिएको प्रस्तावको मस्यौदा तयार गरेका छन् । प्रस्तावमा फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि एक प्रमुख तनावको केन्द्र बनेको ‘स्ट्रेट अफ हर्मुज’ को जलमार्गबाट ढुवानीमा प्रतिबन्ध रोक्न आग्रह गरिएको छ ।
इरानको आधिकारिक समाचार संस्था इर्नाले इरानी सैनिक अधिकारी मोहम्मद अक्रामनियाले आइतबार उद्धृत गर्दै लेखेको छ, “इस्लामिक गणतन्त्र इरानमाथि प्रतिबन्ध लगाएर अमेरिकाको आदेश पालना गर्ने देशहरूलाई निश्चित रूपमा यो जलमार्ग पार गर्न कठिनाइ हुनेछ ।”
उहाँले भन्नुभयो, “हामीले स्ट्रेट अफ हर्मुजमा नयाँ कानुनी र सुरक्षा प्रणाली स्थापना गरेका छौँ । अबदेखि कुनै पनि जहाजले यसबाट जान चाहेमा हामीसँग समन्वय गर्नुपर्छ ।”
उहाँले यो प्रणाली अहिले लागू भएको र यसले आर्थिक, सुरक्षा र राजनीतिक लाभ ल्याउने बताउनुभयो ।
शनिबार इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले एक्समा एक पोस्ट गर्दै नयाँ विधेयक प्रस्ताव गरिएको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, “हामी बहराइनजस्ता साना राष्ट्र र सरकारलाई जानकारी गराउँछौँ कि अमेरिकी प्रस्तावको पक्ष लिँदा उनीहरूले गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ । ‘स्ट्रेट अफ हर्मुज’ विश्वभर इन्धन ढुवानीका लागि एक महत्वपूर्ण जलमार्ग हो । यो मार्ग भएर विश्वको आवश्यकताको कम्तीमा २० प्रतिशत इन्धन ढुवानी हुन्छ ।
“यसलाई सधैँभरि आफैँमा बन्द गर्ने जोखिम नलिनुहोस्,” उहाँले थप्नुभयो ।
इरानले जलमार्गबाट केवल एकाध जहाजलाई जान अनुमति दिएको छ, जुन मार्गले शान्तिकालमा विश्वको तेल र ग्याँस प्रवाहको पाँच भागको एक भागका साथै अन्य महत्वपूर्ण वस्तुहरूको लागि सेवा प्रवाह गर्छ ।
गत महिना संसद्का उपसभामुख हमिद्रेजा हाजिबाबेईले तेहरानले मार्गमा लगाएको शुल्कबाट पहिलोपटक राजस्व प्राप्त गरेको बताउनुभएको थियो ।
संयुक्त राज्य अमेरिका र बहराइनले प्रस्ताव गरेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावलाई भिटो शक्ति प्रयोग गरी रोक्न आफू तयार रहेको बताएको छ ।
हर्मुज क्षेत्रमा तनावबिच कूटनीतिक प्रयास जारी
यसैबिच इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले यदि इरानी ट्याङ्कर तथा व्यापारी जहाजहरूलाई आक्रमण गरिएमा क्षेत्रीय रूपमा रहेका अमेरिकी लक्ष्यहरूमा कडा प्रतिक्रिया दिन सकिने चेतावनी दिएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार गाड्र्सले इरानी जहाज वा व्यापारिक ढुवानीमा कुनै प्रकारको आक्रमण भएमा त्यसको गम्भीर जवाफ दिइने स्पष्ट पारेका छन् । यो अभिव्यक्ति हालै ओमानको खाडीमा देखिएको तनावपछि आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति प्रस्तावको पछिल्लो पहलमा छिट्टै प्रतिक्रिया दिने अपेक्षा व्यक्त गरेका छन् । यद्यपि, इरानले अहिलेसम्म आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । इरानका विदेशमन्त्री अब्बास अराघचीले पछिल्ला घटनाक्रमले कूटनीतिक प्रक्रियामा केही चुनौती थपिएको बताउँदै सबै पक्षले संयमता र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
यसैबिच, हर्मुज जलडमरू र खाडी क्षेत्रमा पछिल्ला दिनहरूमा तनावपूर्ण अवस्था देखिएको छ । समुद्री मार्ग र ऊर्जा ढुवानी सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।
खार्ग टापु नजिक तेल चुहावटको सङ्केत देखिएको विषयमा पनि सम्बन्धित निकायहरूले निगरानी बढाएका छन्, यद्यपि यसको कारणबारे स्पष्ट जानकारी आइसकेको छैन ।
क्षेत्रीय शान्ति र स्थायित्वका लागि कूटनीतिक प्रयास जारी रहने अपेक्षा गरिएको छ ।
Leave a Reply