भर्खरै :

जमानतको करार

जमानतको करार

कुनै एक व्यक्ति/कम्पनीले अर्को व्यक्ति वा कम्पनीसँग लिएको ऋण वा कबुल गरेको दायित्व चुक्ता गर्न नसकेमा वा पूरा नगरेमा तेस्रो पक्षले चुक्ता वा पूरा गरिदिने गरी भएको करारलाई जमानतको करार भनिन्छ । यसमा कम्तीमा ३ वटा पक्षको संलग्नता हुन्छ । पहिलो पक्ष कर्जा वा दायित्व स्वीकार गर्ने, दोस्रो पक्ष कर्जा वा दायित्व दिने र तेस्रो पक्ष हो, यी दुई पक्षबिच भएको कुनै करारमा दायित्व वा पालना गर्नुपर्ने विषय पक्षले पूरा नगरे म पूरा गरिदिन्छु भन्ने सुरक्षकलाई जमानतकर्ता भनिन्छ । यसरी जमानत बस्ने गरी भएको कार्यलाई जमानतसम्बन्धी करार भएको मानिन्छ । कुनै कार्य गर्ने वा नगर्ने गरी दुई पक्षबिच भएको कानुनी बन्धनलाई करार भनिन्छ । करारको कुनै पक्षलाई अर्काे पक्षबाट थप सुरक्षण वा सुनिश्चितता माग गर्दा दिइने दिन सक्ने गरी जमानतको करार गरिन्छ ।
विगतमा घर व्यवहारको लेनदेन गर्दा भद्रभलादमीको मौखिक जमानी लिनेदिने चलन थियो तर वर्तमान समयमा सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लेनदेन गर्दा सरकारी खरिदसम्बन्धी काम गर्दा सरकारलाई बैङ्क जमानत पेस गर्ने चलन कानुनीरूपमा प्रचलित छ । व्यक्तिगत वा संस्थागत कर्जाको लागि व्यक्तिगत वा संस्थागत जमानी बस्ने र लिने चलन छ । त्यस्तै बैङ्क जमानतको रूपमा बोलपत्र जमानत, कार्य सम्पादन जमानत, पेश्की जमानत, क्रेडिट सप्लायर्स जमानत, रिटेन्सन जमानत, काउन्टर जमानतको प्रकार प्रचलनमा रहेको छ । मूलतः कर्जा लेनदेन, वित्तीय कारोबारमा तथा सरकारी खरिद कार्य, निर्माण, ठेक्कापट्टामा जमानत तथा बैङ्क जमानतको अधिकतम प्रयोग हुन्छ ।
दुई पक्षबिच भएको करारमा तेस्रो पक्षले जमानत दिएकोमा ऋण तिर्नुपर्ने व्यक्तिले नतिरेमा वा पूरा गर्नुपर्ने दायित्व जमानत दिने व्यक्तिले पूरा गरिदिनुुपर्छ । जस्तैः– कुनै व्यक्तिले सहकारी तथा बैङ्कबाट कर्जा लिई नतिरेमा तेस्रो पक्ष जमानी बसेकोमा सो नतिरेमा आफूले जमानी बसेसम्मको ऋणको चुक्ता गर्नुपर्छ । नगरेमा कानुनबमोजिम सजायको भागीदार हुन्छ । जमानीको सर्त तथा सीमा करारमा प्रस्ट लेख्नुपर्छ । मौखिक जमानी कानुनीरूपमा ग्राह्य हुँदैन ।
जमानत दिने व्यक्तिको दायित्व
जमानतवालाको पहिलो र अन्तिम दायित्व आफूले जमानी बसेको ऋण तथा दायित्व ऋणी वा दायित्व पालना गर्ने पक्षले पूरा गर्न नसकेमा सो परिपालना गर्नु हो । यसको सृजना दायित्व पूरा गर्नुपर्ने व्यक्तिले सो पूरा गर्न नसकेको बखतबाट सुरू हुन्छ । निजले सो दायित्व पूरा नगरेसम्म जमानत दिने व्यक्ति जिम्मेवारीबाट मुक्त हुँदैन । यदि कानुनको परिचालनबाट ऋण तिर्नुपर्ने वा दायित्व पूरा गर्नुपर्ने व्यक्ति दायित्वबाट मुक्त हुँदैमा जमानत दिने व्यक्तिको दायित्व समाप्त हँुदैन । कुनै ऋणी कर्जा चुक्ता नगर्दै मृत्यु भएमा सोको जिम्मेवारी जमानत दिने व्यक्ति जमानतवालामा सर्छ नकि ऋणीको मृत्यु भएको कारणले उन्मुक्ति पाउँछ, त्यसैले दायित्व पूरा गर्नुपर्छ ।
पूरा गर्नुपर्ने दायित्वबापत कुनै सुरक्षण (जस्तै धितोमा घर जग्गा, निक्षेप) र जमानत दुवै राखिदिएकोमा त्यसरी दिएको सुरक्षणले नखामेको हदसम्म मात्र जमानतकर्ताको दायित्व हुन्छ । सो खामेको सुरक्षणबाटै असुल गर्नुपर्छ ।
विशेष कर्जा÷ऋण सम्बन्धमा जमानतको विशेष व्यवस्था गरेको देखिन्छ । साहु (ऋण दिने व्यक्ति) लाई तिर्नु वा पूरा गर्नुपर्ने दायित्व तिर्नु वा पूरा गर्नुपर्ने व्यक्तिबाट कर्जा सम्झौता उल्लङ्घन हुनासाथ अर्थात् कर्जा करारबमोजिम सामान्यतः जुन प्रयोजनको लागि ऋण लिएको सोमा प्रयोग नगरे, समय समयमा किस्ता नतिरे, कर्जा दुरुपयोग र भाखाभित्र कर्जा नतिरे जमानतसम्बन्धी करार प्रभावकारी हुनेछ । साहुले जमानत दिने व्यक्तिबाट त्यस्तो दायित्व पूरा गराउन सक्नेछ । यसअघि दायित्व पालना गर्नुपर्ने व्यक्ति गर्नुपर्ने व्यक्तिबाट दायित्व पूरा गराउन खोज्ने सो पूरा गर्न नसके मात्र जमानतकर्ताबाट चुक्ता गराउने कार्य नगरी सिधै ऋणीसँगै जमानतकर्ताबाट पनि कर्जा चुक्ता गराउन मिल्छ ।
यस व्यवस्थाले वर्तमान समयमा सहकारी, बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिई तिर्न नसक्ने खराब ऋणीहरूबाट सोको जमानत दिने जमानतकर्ताबाट सहज किसिमले छिटो प्रक्रियाबाट ऋण असुली प्रक्रियामा जान सक्ने बाटो खुलेको छ । यसबाट सार्वजनिक संस्थाको रूपमा रहेको बैङ्क तथा सहकारीमा पैसा जम्मा गर्ने बचतकर्ता निक्षेपकर्ताहरूको रकमको सुरक्षणमा जोड दिन खोजेको देखिन्छ । तर, जमानत करारबमोजिम जमानतवालाबाट पूरा नभएको रकम वा दायित्व पूरा गर्न दाबी गर्नुअघि प्राकृतिक न्यायको सिद्धान्तबमोजिम साहुले ऋणीलाई करारका सर्त तथा बन्देजअनुसार परिपालना गर्न प्रभावकारीरूपमा सम्पूर्ण व्यहोरा उल्लेख गरी सूचना दिनुपर्छ र सोबारे आप्mनो के कस्तो कुरा छ, राख्ने मौका दिनुपर्छ ।
जमानत दिने व्यक्ति दायित्वबाट मुक्त हुने अवस्था :
जमानतको करार दुई वा दुईभन्दा बढी पक्षबिचको लिखित सम्झौता भएकोले सम्झौतामा लेखिएबमोजिम जमानतवालाको सहमति बेगर जमानतवाला दायित्वबाट मुक्त हुन सक्छ । तर, करारमा लेखिएबाहेक सर्त र बन्देजमा हेरफेर हुने गरी कारोबार गरेकोमा त्यस्तोमा दायित्व बहन गर्नुपर्दैन । जमानत गरेको विषयबाट जमानतवालालाई मुक्त हुने गरी अर्काे सम्झौता गरे, जुन ऋण रकममा जमानी बसेको हो त्यस्तो ऋण रकम ऋणीले मिनाहा गरेमा, साहुले ऋणीसँग लिनुपर्ने रकमसम्बन्धी लेनदेन गरी मुद्दा नचलाउने सहमति गरेमा साहुले लिएको सुरक्षण हराएमा, बिगारेमा, ऋणीलाई फिर्ता गरे सो बराबरको रकम दायित्वसम्म तथा ऋणीले साहुलाई ऋण तिरेको हदसम्म जमानी दायित्वबाट मुक्त हुन्छ ।
तर साहुले जमानीकर्ताउपर समयमा कानुनी कारबाही नचलाएको असुल गर्नुपर्ने काम नगरेको कारणले मात्र जमानतकर्ता आफ्नो दायित्वबाट मुक्त हँुदैन । जमानतकर्ता एकभन्दा बढी रहेको अवस्थामा तथा जमानतकर्ताहरूको दायित्व हिस्सा छुट्याउन नसकिने अवस्थामा साहुले कुनै जमानतकर्तालाई दायित्वबाट छुट्कारा दिँदैमा अर्काे जमानतकर्ता आफ्नो हिस्साको दायित्वबाट मुक्त हुँदैन । साथै जमानत सृजना गर्ने करारउपर पक्षहरूबिच कुनै विवाद उत्पन्न भएको कारणले मात्र जमानतकर्ता दायित्वबाट मुक्त हुन पाउँदैन । आफ्नो दायित्व पूरा गर्नुपर्छ । दुईभन्दा बढी जमानतकर्ताले संयुक्तरूपमा जमानत दिएकोमा त्यस्तो ऋण तथा दायित्व ऋणीले पूरा नगरे सो बराबरीको हिसाब तथा खण्ड खण्डमा जमानत दिएको भए आ–आफ्नो खण्डको हदसम्मको दायित्व मात्र तिर्नुपर्छ तर लिखित करार गर्दा यस सम्बन्धमा के कस्तो व्यवस्था गरेको हो ? त्यसले प्राथमिकता पाउँछ ।
करारको प्रमुख आधार सहमति हो । तसर्थ, जमानीकर्ता तथा ऋणीले करारबाहेक कुनै काम कुरा गर्न सहमति लिनुपर्छ । जमानतकर्ताले ऋणीलाई जमानी दिँदा लिएको चल अचल सम्पत्ति ऋणीको मञ्जुरीबिना धितोबन्धक राख्न, बेचबिखन गर्न वा अन्य तरिकाले हक हस्तान्तरण गर्न पाउँदैन । त्यस्तै कुनै खास/विशेष प्रयोजनका लागि लिएको ऋण वा दायित्वबापत जमानत दिएको जमानतकर्ताको मञ्जुरी सहमतिबिना त्यस्तो ऋणको उद्देश्य, स्वरूप र सर्त हेरफेर गर्न पाउँदैन, गरे तापनि कानुनीरूपमा बन्धनकारी हुँदैन ।
जमानतसम्बन्धी करार बदर गराउन सक्ने अवस्था :
कुनै पनि करारको लिखत जालसाज, झुक्यान, अनुचित प्रभाव तथा करकापको जगमा बनेको छ भने त्यस्तो करारलाई मर्का पर्ने पक्षले बदर गराउन सक्छ । त्यस्तै कुनै व्यक्तिलाई गलत तथा भ्रामक सूचना वा जानकारी दिई कुनै कारोबार सम्बन्धमा जमानत प्राप्त गरेको अवस्थामा जमानतकर्ताले त्यस्तो जमानतको करार बदर गराउन सक्छ । त्यस्तै जमानतकर्ताले दिने जमानतको विषय, धनमाल वा तथ्य लुकाई तथा तेस्रो/अर्काे पक्षसमेत रहने गरी जमानतको करार भएकोमा सोमा सहमति नदिएमा व्यक्तिले जमानतसम्बन्धी करार बदर गराउन सक्छ । बदर भएको जमानत करार कागजको खोस्टो बराबर हुन्छ । कानुनी वैधता हुँदैन ।
जमानीसम्बन्धी नेपालको कानुनी क्षेत्रमा निरन्तर जमानतको नयाँअवधारणाले प्रवेश पाएको छ । विश्व व्यापारमा देखिएको जटिल प्रक्रियागत विषयलाई ध्यानमा राखी यस विषयलाई कानुनी रूप दिएको छ । वर्तमान विश्व व्यापारको बहुपक्षीय, चक्रीय तथा जटिल पक्षलाई ध्यानमा राखी कुनै शृङ्खलाबद्ध कारोबार विस्तार हुने गरी जमानत दिइएको भएमा त्यसलाई निरन्तर जमानत भनिन्छ । यसमा कारोबार जति पटक भए पनि जमानत करार बहाल रहेको अवधिभर जमानत दिएको रकमको हदसम्म भुक्तानी हुन नसकेको रकमबापत जमानत दिने व्यक्ति जिम्मेवार हुनेछ । स्वयम् जमानतकर्ताको मृत्यु भएमा त्यसपछिका कारोबारका लागि निरन्तर जमानत स्वतः अन्त्य हुन्छ ।
प्रतिस्थापन
जमानत करारको प्रमुख विशेषता वा फरकपना नै जमानत दिने व्यक्ति साहुको रूपमा प्रतिस्थापन हुनु हो । जमानतकर्ताले ऋणीको तर्फबाट करारबमोजिम तिर्नुपर्ने दायित्व वा ऋण साहुलाई चुक्ता गरेपश्चात् ऋण असुल गर्न कानुनी कारबाही चलाउन सक्छ सँगसँगै दायित्वमा लाग्ने ब्याज वा अन्य कुनै शुल्क वा रकम, कानुनी उपचार खर्च समेत ऋणीबाट तिराउन र भराउन सक्छ ।
हर्जाना (इन्डेम्निटी)
कुनै व्यक्तिले करारको कुनै पक्षको निर्देशनमा कुनै काम गर्दा त्यस्तो निर्देशन दिने पक्ष वा तेस्रो पक्षको काम कारबाहीबाट त्यस्तो निर्देशनबमोजिम काम गर्ने पक्षलाई वा त्यस्तो निर्देशन दिने पक्ष वा तेस्रो पक्षलाई निजको काम कारबाहीको परिणामबाट हुनसक्ने हानि नोक्सानी एकले अर्काेलाई व्यहोर्ने गरी करार हुनु हर्जाना (Indemnity) करार हो । यसरी करारको कुनै पक्षले कसैलाई निर्देशन दिई काम गराउँदा वा काम गर्ने पक्षले काम गर्दा सो काम कारबाहीबाट भएको क्षतिपूर्ति व्यहोर्ने गरी भएको करारलाई हर्जाना करार भएको मानिन्छ । यसरी करार भएकोमा सोबमोजिम कुनै आंशिक वा सबै रकम क्षतिपूर्तिबापत भराई लिन वा दिन सक्छ ।
करारबमोजिम उल्लिखित हर्जाना रकम मर्का पर्ने पक्षले दाबी गर्न सक्छ । तेस्रो पक्षलाई हानि, नोक्सानी परेको भए त्यसबापत तिर्नु व्यहोर्नुपर्ने रकम तथा करारका कुनै पक्षको निर्देशनमा काम गर्ने व्यक्तिले हर्जाना करारबारे दायर गरेको वा प्रतिरक्षा वा प्रतिवाद गरेको भए त्यस्तो मुद्दामा लागेको खर्चको रकम साथै माथि उल्लिखित रकम पाउनेलाई रकम नदिएको कारणबाट मुद्दा मामिला गर्नुपरेमा त्यस्तो मुद्दा मामिलामा लागेको खर्चको रकमसमेत उपचारात्मक रकम भराई लिन पाउने उत्तम व्यवस्था गरेको छ । तर, कुनै व्यक्तिले करारको पक्षको निर्देशनमा काम गर्दा कुनै कार्य गरेमा क्षति नोक्सानी हुन्छ भनी जानीजानी वा काम गर्दा अपनाउनुपर्ने सावधानी होसपूर्वक पालना नगरी लापरबाहीपूर्ण तरिकाले काम गरी त्यस्तो पक्ष वा तेस्रो पक्षलाई क्षति हुन गएमा नोक्सानीबापत त्यस्तो काम गर्ने व्यक्ति नै जिम्मेवार हुन्छ ।
प्रत्याशन
दफा ५७२ ले कुनै व्यक्ति, सङ्घ संस्था, कम्पनीको सम्पत्ति, निजले उपभोग गरेको सुविधा, कारोबार वा हकबाट हुने लाभउपर अर्काे तेस्रो पक्षबाट हुन सक्ने हानि नोक्सानी, क्षतिका विरुद्ध कुनै सम्झौता गरी सो तेस्रो पक्षबाट हुने क्षतिको पूर्ति गरिदिने गरी सम्झौता भएमा त्यसलाई प्रत्याशनसम्बन्धी जमानतको करार भएको मानिन्छ । करार गर्ने व्यक्तिले जो सुकैले गरेको क्षति नोक्सानी व्यहोरिदिनुपर्छ । तर, त्यस्तो हानि नोक्सानी अर्काे कुनै व्यक्तिबाट भराउने गरी अर्कै करार भएमा त्यस्तो व्यक्तिबाट भराउने गरी अर्कै करार भएमा त्यस्तो व्यक्तिले क्षति भराई दिनुपर्छ ।
त्यस्तो हानि नोक्सानीबापत करारमा निश्चित रकम वा क्षतिपूर्ति उपलब्ध गराउने कुरा करारमा उल्लेख भएकोमा सोहीबमोजिम तथा उल्लेख नभएमा मनासिब रकम वा क्षर्तिपूर्ति हानि नोक्सानी भएको कारणले प्रभावित व्यक्ति वा निजको मृत्यु भइसकेको भए निजको हकवालालाई तत्काल दिनुपर्छ ।
कुनै व्यक्तिलाई तेस्रो पक्षबाट नोक्सानी भएकोमा सो रकम, क्षतिपूर्ति दिने व्यक्तिलाई प्रथम पक्षलाई प्रत्याशन गरेको मानिन्छ र सोहीबमोजिम हानि नोक्सानी पु¥याउने तेस्रो व्यक्तिबाट त्यसरी प्रत्याशन गर्ने व्यक्तिले हानि नोक्सानीबापतको रकम वा क्षतिपूर्ति भराई लिन पाउँछ ।
त्यसरी प्रत्याशन गर्ने व्यक्तिको अधिकार र दायित्व करारबमोजिम नभएमा जुन व्यक्तिलाई हानि नोक्सानी पुगेको हो त्यस्तो व्यक्तिको करारबमोजिम सम्पूर्ण हक प्रत्याशन गर्ने व्यक्तिमा सर्छ । साथै आफूले बुझाएको रकम मनासिब क्षतिपूर्ति तथा कानुनी उपचारबाट असुल गर्नुपरेको खण्डमा सोसमेत नोक्सानी गर्ने पक्षबाट भराउन सक्छ ।
नजिर
१. शायराबानुविरुद्ध आधार टे«डर्स प्रो. शदरराम, नेकाप २०६४ नि.नं.७९०७
यसमा करारका सर्तहरू हेरफेर गरिएको अवस्था नभए तापनि जमानत दिने व्यक्तिको सहमतिबिना करारको पक्ष नै नरहेको जनाउ व्यक्तिलाई सुविधा प्रदान गर्ने र जमानत दिने व्यक्तिमाथि दायित्व थोपर्ने गरी करारमा तात्विक असर पर्ने गरी एउटा प्रयोजनका लागि करारको पक्षलाई दिएको धितोबन्धक अर्काे प्रयोजनका लागि र करारको पक्ष नै रहेको तेस्रो पक्षका लागि प्रयोग गर्न दिने गरी जारी भएको काउन्टर ग्यारेन्टीलाई वास्तविक करारअनुरूप मान्न सक्ने अवस्था नहुँदा त्यस्तो काउन्टर ग्यारेन्टीको दायित्व वादीले व्यहोर्नुपर्ने भनी अर्थ गर्न मिल्ने देखिँदैन ।
नेकाप २०७६, नि.नं.१०२२७ मुद्दा उत्प्रेषण/परमादेश, सतिशकुमार बोहराविरुद्ध वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत
बैङ्क जमानत जारी गरिसकेपछि बैङ्क जमानत जारी गर्न अनुरोध गर्नेको भनाइ तथा सहमति नखोजी तत्काल त्यसको सम्मानपूर्वक पूर्ण पालना गर्नुपर्छ । खरिदकर्ता/ बिक्रीकर्ता/ठेकेदारबिच कुनै विषयमा विवाद, असहमति वा असमझदारी भएको कारणले बैङ्क जमानतको भुक्तानीमा कुनै असर पर्न नसक्ने । यसले दफा ५६५ (५) ले कानुनी व्यवस्थालाई थप व्याख्या गरी प्रस्ट गरेको छ ।
नेकाप २०७६, नि.नं.१०३९८, मुद्दा : उत्प्रेषण, हिमालयन बैङ्क लि. विरुद्ध नेपाल बैङ्क लि., केन्द्रीय कार्यालय काठमाडौँसमेत
बैङ्क जमानतसम्बन्धी करारको स्रोत वा सन्दर्भको रूपमा मूल करार रहन सक्छ तर ग्यारेन्टी पत्र जारी गर्ने बैङ्कले हितग्राही पक्षको नाममा बैङ्क जमानत जारी गरिसकेपछि यसले स्वतन्त्र र भिन्न करारको रूप धारण गर्दछ । मूल करारका पक्षहरूको विवादसँग उक्त बैङ्क जमानतसम्बन्धी करारअन्तर्गत बैङ्क ग्यारेन्टीकर्ता बैङ्कले पूरा गर्नुपर्ने दायित्वमा कुनै असर नगर्ने । ग्यारेन्टी वा काउन्टर ग्यारेन्टीमा परस्पर उल्लेख गरेपछि बैङ्क अर्काको सर्तबाट स्वतन्त्र र स्वायत्त हुन्छ, आ–आफूले जारी गरेको जमानत पत्रका सर्तमा अधीनमा रहेर दायित्व पालनाबाट उन्मुक्त हुन नसक्ने भनी बैङ्क जमानत जारी वा जमानत दिएपश्चात् आफ्नो दायित्व पूर्ण पालना गर्नुपर्ने नजिर स्थापित गरेको छ ।
नेकाप २०८०, अङ्क ८, नि.नं.१११५६, मुद्दा : करारको रकम दिलाई पाऊँ, श्रीराम शर्मा देवकोटाविरुद्ध सुदीपकुमार शर्मा खनाल
करार गर्ने कुनै एक पक्षको मृत्यु भई निजको भौतिक अस्तित्व नै समाप्त भइसकेको स्थितिमा करारको अस्तित्व नै समाप्त भएको मान्न नमिल्ने । यदि करार गर्ने कुनै एक पक्षको मृत्युसँगै निजले गरेको करारबाट सिर्जित हक वा दायित्व पनि समाप्त भयो भनी मान्ने हो भने करारको कानुनी अस्तित्वमा नै प्रश्न आउने र करारबाट हुने व्यवहार नै अनिश्चित हुन जाने यसबाट करार गर्ने एक पक्षलाई प्रत्यक्ष असर पर्न जाने । यही तथ्यलाई मन गरेरै विधायिकाले करारको दायित्व सम्बन्धमा दफा ७६ मा व्यवस्था गरेको देखिने । कानुनमै हक वा दायित्व सर्ने सम्बन्धमा स्पष्टरूपमा उल्लेख भएको छ भने सो व्यवस्थालाई कुनै एक पक्षले आफ्नो फाइदाको लागि यो वा त्यो अर्थमा आफू अनुकूल व्याख्या गर्न नपाउने । ऐनमा दायित्व मात्र नभई हकको पनि व्यवस्था गर्न नपाउने । ऐनमा दायित्व मात्र नभई हकको पनि व्यवस्था भएको देखिएकोमा करारबाट सिर्जित हक सर्ने अवस्थामा दायित्व सर्दैन भनी भन्न नमिल्ने ।
यसरी मुलुकी देवानी संहिताले जमानतसम्बन्धी करारको सन्दर्भमा जमानत, हर्जाना वा क्षतिपूर्ति, प्रत्याशन, निरन्तर जमानतसम्बन्धी कानुनी व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *